०२ साउन २०८३, शनिबार

अन्नपूर्ण गाउँपालिकामा अपाङ्गमैत्री अस्पताल निर्माण

असार २७, २०८०
म्याग्दी
अन्नपूर्ण गाउँपालिकामा अपाङ्गमैत्री अस्पताल निर्माण
प्रतिकात्मक तस्वीर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ५ शय्याको अपाङ्गमैत्री अस्पताल निर्माण भएको छ ।

संघीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार भवन निर्माण गरिएको हो । 

म्याग्दीको मङ्गला र धवलागिरिमा निर्माणाधीन अवस्थामै रहेको र रघुगंगा गाउँपालिकामा जग्गा सहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको अवस्थामा दोवागाउँ नजिकै भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

‘भवन चाँडै हस्तान्तरण गरिने छ,’ प्रमुख सुवेदीले भने । 

अपाङ्गमैत्री भवन सडक सञ्जाल नजिकै रहेकाले समेत सञ्चालनमा आएपछि बिरामीलाई सहज हुनेछ । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ कोठा रहेका छन् । भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवासका रूपमा प्रयोग गरिने छ ।

भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग ५ करोड १२ लाख ६० हजार ६५२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अस्पतालको भवन तयार भए पनि सडकबाट अस्पतालसम्म पुग्ने सडकमा ढलानसहित मोडमा स्तरोन्नति, मेडिकल उपकरण, फर्निचर, तारबार सहितको कम्पाउन्डिङ र नजिकै भत्किएको स्थानमा पक्की संरचना आवश्यक देखिएको छ ।

दोवाका स्थानीय युवा अमृत गर्बुजाका अनुसार अस्पताल निर्माण गर्न अमरबहादुर गर्बुजाले ५ रोपनी ४ आना, कर्णबहादुर पुर्जाले २ रोपनी २ आना, नौप्रसाद पुर्जाले १ रोपनी ३ पैसा, गमबहादुर गर्बुजाले १ रोपनी १० आना, यादवबहादुर गर्बुजाले १ रोपनी ८ आना, घमती पुर्जाले १३ आना र टीकाबहादुर पुर्जाले साढे २ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्