३० असार २०८३, मंगलबार
सरकारी उदासीनताले अलपत्र विमानस्थल

४० अर्ब खर्चेको भैरहवा विमानस्थल अलपत्र– बिजुली र पानीको खर्च उठ्न समेत मुस्किल

जेठ १०, २०८१
बुटवल
४० अर्ब खर्चेको भैरहवा विमानस्थल अलपत्र– बिजुली र पानीको खर्च उठ्न समेत मुस्किल

रूपन्देहीको भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) सञ्चालनमा आएको २ वर्ष पूरा भएको छ । 

२ जेठ २०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । तर, एयरपोर्ट सञ्चालनमा आएको २ वर्ष पुग्दा समेत अन्तर्राष्ट्रिय उडानबिहीन रहेपछि सन्नाटा छाएजस्तो भएको छ । 

दुई वर्षअगाडि उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरवेजले सातामा ३ दिन उडान गर्दै आइरहेको थियो । तर, एक वर्षयता जजिराको उडान पनि रोकिएको छ ।

अहिले साताको एकदिन मंगलबार मात्र नेपाल एयरलाइन्सले मलेसियाको क्वालम्पुर–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ । १५० यात्रु क्षमताको जहाजले ३०/४० जना मात्र यात्रु लिएर आउँछ । जजिराले तालिका मिलाएर उडान सुचारू गर्ने आश्वासन दिए पनि भैरहवा उडान गर्ने संकेत देखाएको छैन ।

जजिराले यात्रु अभाव भएको कारण देखाउँदै उडान हटाएको बताएको छ । केही समय हिमालय एयरलाइन्सले पनि भैरहवा–मलेसिया उडान भर्‍यो । तर, जाडो महिनामा ‘भिजिविलिटी’ को समस्या देखाएर गएपछि फर्केर आएन । 

null

जग्गासहित झण्डै ४० अर्ब रूपैयाँको लागतमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अहिले आन्तरिक उडान मात्रै भइरहेका छन् ।

राज्यको ठूलो पूर्वाधार हेरेर निजी क्षेत्रले गरेको लगानी अप्ठ्यायारोमा छ । लुम्बिनी–भैरहवा क्षेत्रको पर्यटनमा एक दशकदेखि देखिएको उत्साह २ वर्षमै निरासामा परिणत भएको छ ।

वि.सं.२०७१ मा तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाले विमानस्थल निर्माणको शिलान्यास गर्दा लुम्बिनीबासीमा निकै ठूलो सपनाको उत्साह छाएको थियो । 

बढ्दो हवाई चापले साँघुरो बन्दै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भरपर्दो विकल्प बन्ने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को अपेक्षा थियो । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनीमा पर्यटकको धुइरो लाग्ने अपेक्षामा व्यवसायीहरूले ‘स्टार’ होटलमा अर्बौं रूपैयाँ लगानी गरे । तर, दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अहिले यस क्षेत्रका पर्यटन व्यवसायी र निजी क्षेत्रमा सन्नाटा छाएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्य नेपाल एयरलाइन्सको साताको एउटा उडानबाहेक विमानस्थल ठप्प जस्तै रहेको बताउँछन् ।

‘धेरै विदेशी एयरलाइन्स कम्पनीहरूले चासो देखाउँछन्, तर उडान भर्ने पर्मिसन लिन चाहँदैनन्,’ बज्राचार्य भन्छन्, ‘केही चार्टर्ड उडानबाहेक विमानस्थल चल्न सकेको छैन । अब सबैले यो विमानस्थललाई चलायमान बनाउने गरी योजना ल्याउनुपर्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षालगायत शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ ।

त्यस्तैगरी नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा छुट दिइएको छ । 

गौतमबुद्ध विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारीले विमानस्थलमा यात्रुको आकर्षण बढाउन आवश्यक देखिएको बताए ।

‘काठमाडौंमा ‘एराइभल’ हुनुभन्दा यात्रु भैरहवा आउने बानी बसाल्न आवश्यक छ,’ तिवारी भन्छन्, ‘त्यसका लागि मन्त्रालय र क्यानले ‘वर्कआउट’ गरिरहेको छ । सबैतर्फबाट मिलाउने प्रक्रियामा हामी लागिरहेका छौं ।’

जीएम तिवारीले थपे, ‘हामीलाई विमानस्थल सञ्चालन खर्च धान्न पनि दैनिक २/३ वटा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने आवश्यकता छ । भारतले रूट ‘परमिट’ पनि दिए अन्य इन्टरनेसनल एयरलाइन्सको समेत आकर्षण बढ्न सक्थ्यो ।’ 

अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडान बाराको सिमरा हुँदै प्रवेश गर्छन् । अन्तर्राष्ट्रिय उडान नहुँदा होटलमा गरेको लगानी डुब्ने अवस्था सिर्जना भएको छ ।

null

अहिले विमानस्थललक्षित स्टार होटलको ‘अकुपेन्सी’ २० प्रतिशत पनि छैन ।

वि.सं. २०७४ पुस मसान्तभित्र सञ्चालनमा आइसक्नुपर्ने विमानस्थल महाभूकम्प, नाकाबन्दी, मधेश आन्दोलन, कोरोना महामारीलगायत अनेक संकट खेप्दै वि.सं. २०७९ जेठमा सञ्चालनमा आएको थियो । 

चार वर्ष ढिला सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान नहुनु चिन्ताजनक रहेको होटल एसोसिएसनका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सीपी) बताउँछन् ।

‘भैरहवा–दिल्ली चलाए पनि यस क्षेत्रबाट दैनिक उडान हुनसक्छ,’ श्रेष्ठ भन्छन्, ‘काठमाडौंका ट्राभल एजेन्सीहरूले विमानलाई यहाँ आउन दिँदैनन् । त्यो कुरा राज्यले बुझ्दैन । बुद्ध एयरले भैरहवा दिल्ली उडाउँछु भन्दा पनि त्यो पाउँदैन । अनेक बहानाले विमानस्थल यो हालतमा पुग्यो ।’

निजी क्षेत्रको ठूलो अपेक्षा निरासामा परिणत भएको श्रेष्ठको भनाइ छ । 

अन्तर्राष्ट्रिय उडानबाट २ वर्षमा विमानस्थलले जम्मा झण्डै ३५ करोड रूपैयाँ आम्दानी छ । यो रकमले विमानस्थलको बिजुली, पानी तथा मर्मत–सम्भारका लागि मात्र पुग्ने गरेको बज्राचार्य बताउँछन् ।

अहिले आन्तरिक उडानहरूको आम्दानीबाट सामान्य खर्च चलिरहेको छ । विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी) ले ऋण र अनुदान गरी ४ अर्ब १९ करोड रूपैयाँ दिएको छ ।

भैरहवा र पोखरामा बनेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसक्दा सरकारलाई ठूलो आर्थिक चुनौती थपिएको छ ।

सरकारले भैरहवा विमानस्थल सार्वजनिक–निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरेको छ । पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक–निजी साझेदारीमा चलाउनका लागि अध्ययन समिति बनाइएको हो । 

त्यसैगरी, पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने शर्तसहित पीपीपी मोडेलमा काम गर्ने गरी अध्ययन समिति बनाइएको सरकारको भनाइ छ । 

विमानस्थलबाट नियमित उडानको माग गर्दै यस क्षेत्रका व्यवसायीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । दबाब मूलक सिद्धार्थ सञ्जाल गठन गरी कहिले धर्ना, कहिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम समेत गरेका छन् ।

हालै आएको सरकारको नीति तथा कार्यक्रममा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिने उल्लेख छ । तर, कस्तो प्याकेज आउँछ प्रस्ट भइसकेको छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता दैनिक १२ हजार यात्रुबराबर रहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्