
सप्तरीका सद्दाम मियाँ (नाम परिवर्तन) वैदेशिक रोजगारीबाट शनिवार नेपाल फर्किए । कतार एयरलाइन्समार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी बाहिर निस्किनेबित्तिकै ठगिए ।
कतारमा २ वर्ष काम गरेपछि ३५ दिनका लागि बिदामा स्वदेश फर्किएका उनलाई विमानस्थलबाट तिलगंगा आँखा अस्पतालसम्म ल्याउन हरियो प्लेटको ट्याक्सीले ५ सय रुपैयाँ भाडा लियो ।
नजिकै पनि किन यति महंगो भनेर प्रतिवाद गर्दा उल्टै गाली खानुपरेको उनले सुनाए ।
होटल लगिदिन्छु भनेका ट्याक्सी चालकले सिधै तराईको रुटमा चल्ने गाडीको टिकट काउन्टरमा पुर्याइदिएका रहेछन् ।
एकदिन थकान बिसाएर मात्र घर फर्किने मनस्थितिमा रहेका उनलाई काउन्टरमा गाडीवालाहरूले तानातान गर्न थाले । गाडी हिँड्नै लाग्यो भनेर जबरजस्ती गर्न थाले ।
परिवारका सदस्यलाई लत्ताकपडा र केही सामान किनेर घर जाने उनको योजना नै अलपत्र पर्यो । यहाँसम्म कि उनले आफूलाई लिन भनेर आएको भाइलाई समेत भेट्न पाएका रहेनछन् ।
‘सर मैले भाइलाई समेत भेट्न पाएको छैन । यिनीहरूले यसरी यहाँ ल्याए कि के गर्ने, के नगर्ने अत्तोपत्तो पाइनँ । १ किलोमिटरभित्रै ट्याक्सीले ५ सय रुपैयाँ भाडा लियो,’ गौशालास्थित तिलगंगा संयुक्त बुकिङ काउन्टरअगाडि फेला परेका सद्दामले लोकान्तरसँग भने, ‘मलाई लिन आएको भाइलाई पनि भेट्न पाएको छैन ।’

काउन्टरमा आइपुगिहालियो, भोलिका लागि टिकट काट्छु भनेर उनले भाडा सोधे । अघि तानातान गर्ने व्यक्तिहरू पनि काउन्टरमै थिए ।
उनले राजविराजका लागि २ वटा टिकटको शुल्क सोधेका थिए । काउन्टरमा रहेका व्यक्तिहरूले एक जनाको १७ सय र लगेजको छुट्टै ३ सय रुपैयाँ लाग्ने बताए ।
यतिबेलासम्म उनको भाइ पनि आइपुगिसकेका थिए । भाइले प्रतिवाद गरे, ‘हिजो मात्र म १२ सय रुपैयाँमा आएको, अहिले कसरी १७ सय भयो ?’
काउन्टरमा बसेका व्यक्तिले थर्काए, ‘धो.. बढ्ता बोल्छस्, कुटिदिऊँ !’
उनीहरूको केही लागेन, लफडा गर्नुभन्दा चुपचाप पैसा तिरेर हिँड्नु बेस भन्ने ठानेर २ वटा टिकटको ३४ सय रुपैयाँ र लगेजको ३ सय गरी ३७ सय रुपैयाँ तिरेर बाहिर निस्किए ।
टिकटमा भाडादर नबुझिने गरी लेखिएको थियो ।

आफूले भाडा बुझिएन नि भन्ने प्रश्न गर्दा ‘तैँले बुझ्नुपर्छ र, गाडीवालाले बुझिहाल्छ नि,’ भन्ने जवाफ फर्काएको सद्दामका भाइले बताए ।
काठमाडौंबाट रुपनी हुँदै राजविराजसम्मको सरकारी भाडादर १ हजार २९० रुपैयाँ छ । तर, विदेशबाट फर्किने यात्रुहरूलाई ट्र्यापमा पारेर दिनदहाडै ठगी हुने गरेको पाइएको छ ।
त्यसपछि हामी आफैं सिनामंगलको सजिलो यातायात प्रालिको काउन्टरमा पुगेर बुझ्दा सरकारी रेटअनुसारकै भाडा र सामानको ३ सय रुपैयाँ अतिरिक्त लाग्ने जवाफ आयो ।

मान्छे जाँदा एउटा लगेजको पनि पैसा लाग्छ र ? भन्ने प्रश्न गर्दा ‘हामीले लिने होइन, गाडीवालाले लिन्छन्’ भन्ने जवाफ आयो ।
संयुक्त यातायात लेखिएको काउन्टरमा गएर बुझ्दा टिकटको १७ सय रुपैयाँ नै पर्ने बताइयो । साथै सामानको अतिरिक्त पैसा पर्ने जवाफ आयो ।
काठमाडौं महानगरपालिले पछिल्लो समयमा यस्ता काउन्टरबाट ठगी भएको भन्दै काठमाडौंबाट बाहिर जाने सवारीका सबै टिकट काउन्टरलाई नयाँ बसपार्क क्षेत्रभित्र सार्न निर्देशन दिएको थियो । तर पनि तिलगंगा र सिनामंगल क्षेत्रमा चलेका काउन्टरहरू यथावत छन्, र यात्रुहरूलाई ठगिरहेको गुनासो व्यापक छ ।