
या देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः
या देवी सर्वभूतेषु शान्ति रुपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः
हामी नेपालीहरूको महान् चाड वडा दशैं चलिरहेको छ । सबै नेपालीहरू आ-आफ्नो गच्छेअनुसार यस पर्वलाई मनाउँदै छौं । शक्तिको आराधना एवं शान्तिको कामना गरेर माता दुर्गा भवानीसँग आशीर्वाद माग्दै छौं। यो हाम्रो सनातन र वैदिक परम्परा हो।
हामी नेपालीहरू सबैका छुट्टाछुट्टै मौलिक परम्परा र रितिरिवाज पनि छन्। सबैले आ-आफ्नैं रित अनुसार मनाउँछौं। एकअर्काको रितिथितीलाई सम्मान पनि गर्छौं । दशैं भने हामी सबैको साझा चाड भएको छ। यसका बारेमा ठूलो मतभेद छैन। कहिलेकाहीँ मतभेद देखिए पनि यस पर्वलाई हामी साझा रूपमा नैं मनाउँछौं।
शक्ति एवं ऊर्जा प्राप्तिको कामना गर्दछौं। हाम्रा चाडपर्व नेपाल र नेपालीका मौलिक परम्परा एवं संस्कृति हुन्। यसलाई धान्ने, मान्ने र अघि बढाउने दायित्व हामी नेपालीहरूकै हो। यसलाई विवादित पार्ने वा यसप्रति अनास्था जगाउने काम कहीं कतैबाट हुनुहुँदैन । नेपालका सबै चाडपर्वप्रति हाम्रो समान आदर रहनु सर्वोत्तम संस्कार हो।
नेपाली समाजका बहुआयामिक पक्षबारे धेरै बहस भैसकेका छन्। यसको पछौटेपन, गरीबी, जातीय भेदभाव, राजनीतिक द्वन्द्व र चरम आर्थिक बिश्रृङखलतालगायत विषय बहसको केन्द्रमा छन्। यस्तो बहस वर्षौंदेखि हुँदै आएको छ। थाहा छैन अझै कति दिनसम्म यो बहस चलिरहन्छ। हाम्रा शास्त्रहरूले देवभूमिको रूपमा चित्रण गरेको अपूर्व प्राकृतिक वैभवले भरिपूर्ण नेपालको वर्तमान दुर्दशाका लागि को जिम्मेवार त ? यसको बस्तुनिष्ठ उत्तरको खोजी बेलाबेलामा हुँदै आएको छ। राजनीतिको मुख्य विषय पनि यही हो। तर पवित्र तथा महान् चाड दशैंको अवसरमा आजको चर्चाको केन्द्रीय विषय यो होइन। यस विषयमा समयक्रममा विस्तृत चर्चा गरौंला।
केही वर्षअगाडि एकपटक तराईको चुनावी कार्यक्रमपश्चात् कांग्रेसका समाजवादी चिन्तक एवं विचारक दिवंगत नेता प्रदिप गिरिले एउटा राजनीतिक प्रसंगमा गम्भीर कुरा भनेका थिए, ’हेर्नुस् सबैभन्दा बढी निष्ठावान व्यक्तिले नैं जिन्दगीमा सबैभन्दा बढी निष्ठाको परीक्षा दिनुपर्छ। यसको प्रथम उदाहरण स्वयं बीपी कोइराला हो। सच्चा प्रजातन्त्रवादी भएवापत राजाले बारम्बार दुःख दिए। साथै सच्चा राष्ट्रवादी भएकाले छिमेकीले दुःख दियो। यो आम मान्छेको जीवनमा पनि लागू हुन्छ। र कहिलेकाहीँ सबैभन्दा बढी देशभक्त व्यक्तिले नैं आफ्नो जीवनको मूल्य चुकाउनु पर्छ र कहिलेकाहीँ त बलि चढ्नु पर्छ। यसको उदाहरण काजी भिम मल्ल हुन्।‘
हामी साँझको खाना खाने तरखरमा एक स्थानीय नेताको घरमा भेला भएका थियौं। गिरिका विचार र तर्क सधैं असामान्य र अकाट्य त हुन्थे नैं, यो त झन् अद्भुत नैं थियो। हुन त विशविख्यात लेखक खलिल जिब्रानले पनि यस्तै यस्तै कुरा भनेका छन्। ‘सच्चा, इमानदार र महान मानिसको शरीरमा चोटै चोटको निशानी हुन्छ।‘ ती चोटहरू बारम्बारको परीक्षाका प्रमाण हुन्। मण्डेला, गान्धीलगायत विश्व राजनेताको शरीर बारम्बारको चोटले थिलथिलो थियो। उनीहरूसँग जीवनका हरेक मोडमा नियति र समयले बारबार कठोर परीक्षा लिएको थियो। संस्था र दलले आफ्नैं सदस्यको, देशले आफ्नैं नागरिकको, प्रणालीले समर्थकको, बाबुले छोरा या छोराले बाबुको र हुँदाहुँदा श्रीमान श्रीमतीले एकअर्काको लिए झैं। जबकि परीक्षा लिने र दिने दुवै एक अर्काका परिपूरक हुन्।
सामान्यतया यस्तो कसैले पनि सोच्दैन र गर्दैन पनि। तर अपवादबाहेक मान्छे पनि पशुजन्य चरित्रले ओतप्रोत हुन्छ। उसले आफ्नो स्वार्थभन्दा पर सोच्दै सोच्दैन। धन, शक्ति, मदिरा र महिला या पुरुषप्रतिको उसको राग असामान्य र गहिरो हुन्छ। मानवीय जीवनमा रागहरूको ठूलो स्थान हुन्छ। जसमा राग, वैराग र वीतराग पर्दछन्। वैराग र राग दुवै अतिवाद हुन्। थोरै मानिस मात्र वीतरागी हुन्छन्। रागीले पनि म रागी हुँ भन्दैन तर उसको राग जतासुकै छचल्किन्छ। हाम्रो समाजका चलनचल्तीका वैरागीले ओढ्ने रामनामी वा भ्रमको पर्दा निकै च्याङ्लो हुन्छ, जहाँबाट उसले बलपूर्वक दबाएको राग छर्लङ्ग देखिन्छ। वीतरागीहरू प्रशस्त हुँदैनन् । कुनै पनि विषय बासनाप्रति उनीहरू न त चरम आशक्त हुन्छन् न त निरपेक्ष। उनीहरूलाई अतिवादले कहिल्यै छुँदैन। तर सम्पूर्ण अनाकर्षण पनि हुँदैन। यदि कसैले यस्तो कुरा गर्छ भने त्यो ढोंग हो। यस विषयमा ओशोले राम्रो विवेचना गरेका छन्। समाज वीतरागी व्यक्तिलाई रुचाउँदैन। अतिवादका झुन्ड ठूलठूला हुन्छन्। आजसम्म मानिसहरूले विभिन्न अतिवादमध्ये एउटालाई छनौट गर्ने गरेका छन्। र त्यसैबाट आफ्नो स्वार्थ पूरा गर्ने गरेका छन्। तथाकथित दर्शन, विचार वा सिद्धान्तका कतिपय अतिवादीहरूले समाजलाई क्षतविक्षत् बनाएका छन्, जसको क्षतिपूर्ति असम्भव छ। विडम्बना समाज भने यस्तै अतिवादको शिकार हुँदै आएको छ। र संस्था, देश, प्रणाली या परिवारप्रति सर्वाधिक निष्ठावान व्यक्ति सदैव प्रताडित हुँदै आएका छन्।
अब चलनचल्तीको राजनीतिबारे थोरै चर्चा गरौं। दशैं महान चाड हो। यस सन्दर्भमा एक परिच्छेदको शुभकामना दिनुबाहेक नागरिकले चाडलाई कसरी मनाउँदै छ र उसको अवस्था केछ भन्ने बारे राज्य सोच्दै सोच्दैन। उसको अभाव र आवश्यकताबारे सरकारलाई चासो एवं दायित्वबोध दुवै छैन। यस बेलामा बजारभाउदेखि यातायातको भाडासमेत अनियन्त्रित छ। यातायात व्यवसायीहरूले काठमाडौंदेखि झापासम्मको चारहजार रुपैयाँसम्म गाडी भाडा असुलेको सूचना छ। यो अवस्था देशव्यापी छ र यसमा सरकार बेखबर छ। उसलाई मतलब छैन, किनकि उसका नीम्ति राजनीति कहिल्यै घाटा नहुने व्यापार भएको छ। दैनिक उपभोगका सामान किनिसाध्य छैन, तर सरकार बिलकुल संवेदनशील छैन। राज्यको जिम्मेवारीमा रहेका व्यक्तिका नीम्ति वर्षैभरि दशैं नैं दशैं छ, अझ खास दशैं त अकल्पनीय रूपमा भव्य छ। यस अवसरमा राज्यको चरम दोहन गरिन्छ, यो जगजाहेर नैं छ। के हामीले यस्तै राज्यको परिकल्पना गरेको हो ? राज्यको जिम्मेवारीमा रहेका व्यक्तिहरू जनताको जीवनलाई निमेषभर पनि झाँकेर हेर्दैनन्। समाचार माध्यममा फलाक्नुबाहेक उनीहरूले जानेको र गरेको केही छैन। योभन्दा विडम्बना के हुन सक्छ ? यसको निरन्तरता कहिलेसम्म ?
दबिन्छ गुणीको दोष गुणकै ह्रासमा परि।
रश्मिले चन्द्रको दाग मेटाएकै छ बेसरी ।।
- कविशिरोमणी लेखनाथ पौडेल
उल्लेखित कविताका पंक्ति किन उद्धृत गरिएको हो भने मानिस वा संस्था सधैंभरि दोषमुक्त हुँदैन, सानातिना कमजोरी हुन्छन्। परिकल्पना गरिएका आदर्शलाई अक्षरसः लागू गर्न सकिँदैन । तर संस्था वा व्यक्तिका कमजोरीहरू असल कामका डंगुरमा त्यसै हराउँछन्। हाम्रा असल काम कति र खराब कति ? बस्तुनिष्ठ विवेचना गर्दा यहाँ त असल कामहरू खराबीको डंगुरले छोपिइसके। अनि इतिहासको चर्चा गरेर के हुन्छ ? वर्तमानको कार्य र भूमिका गतिलो हुनुपर्दैन र? एसियाको ‘नम्बर वान’ गरीब कसले बनायोभन्दा हाम्रो जवाफ के? नेपालीको ईज्जत् कहाँ पुग्यो ? आत्मसम्मान र स्वाभिमान कहाँ पुग्यो ? यसको हेक्का छ कि छैन ?
यतिबेला नेपाली समाज राज्य सञ्चालकहरूको बदमासी र बेइमानीले घायल छ। यति धेरै चोटको पीडामा छ कि राम्रोसँग उभिन पनि नसक्ने अवस्था छ। यसबाट मुक्ति आजको आवश्यकता हो र यसैका लागि दुर्गा भवानीसँग यसपालि आशिर्वाद माग्नुपर्छ। अनि मुख्य कुरा त के छ भने हाम्रो भविष्य बिगार्ने र देशको प्रतिष्ठा गिराउनेहरूको पञ्जाबाट देशलाई मुक्त गर्न सामर्थ्य, साहस र सद्वुद्धि माग्ने हो। आफ्ना नागरिकको पसिना चुसेर उनीहरूको भविष्यमाथि खेलवाड गर्नेहरूको अन्त्यका लागि शक्ति माग्ने हो। अब समाजसँग धेरै समय छैन र पर्खने धैर्यता पनि छैन। त्यसो गर्नु दूरदर्शिता र बुद्धिमत्ता हुँदैन। हामीले यही दशैंलाई रचनात्मक यात्राको प्रस्थान बिन्दु बनाउनुपर्छ।
अब थोरै चर्चा गरौं दलभित्रका प्रवृत्तिहरूको। नेपालका राजनीतिक दलभित्र देश, समाज र दलको अन्तिम विकल्प मैं मात्र हुँ भन्ने अतिवादीहरूको बोलावाला छ, यसलाई अङ्ग्रेजीमा ‘मेगालोथेमिया’ भनिन्छ। मैं जान्ने, मैं बुझ्ने। जबकि हामी सबैलाई थाहा छ, प्रजातन्त्र सर्वाधिक विकल्प भएको राजनीतिक बाटो हो। अझ सच्चा प्रजातान्त्रिक पार्टीमा त एकसे एक विकल्पको भण्डार हुन्छ। विकल्परहित चिन्तन निरंकुशताको द्योतक हो। सैनिक, कम्युनिस्ट वा राजतन्त्रात्मक तानाशाहीमा विकल्प सोचिँदैन। तर प्रजातान्त्रिक शासन प्रणाली सदैव सर्वोत्तम विकल्पको पक्षपाती र सदैव त्यसैको खोजीमा रहन्छ। यसले नेतृत्व, कार्यबिधि, कार्यशैली, कार्यसम्पादन र परिणामलाई ईङ्गित गर्छ। यसका लागि पात्र मात्र सर्वोपरि हुँदैन। उसको कार्यशैली, प्रवृत्ति, चिन्तन र व्यवहार उस्तै हुने हो भने त्यसलाई विकल्प मान्न सकिँदैन। फगत भौतिक फेरबदलले गुणात्मक फेरबदल हुँदैन। पात्रता र गुणवत्ता प्रमुख कुरा हो। यसकै आधारमा विकल्प तयार हुन्छ। र यो प्रशस्तै हुन्छ।
नेपाली समाजको यथास्थितिबाट मुक्ति आजको मुख्य आवश्यकता हो। अहिले दलहरूभित्र पनि यसैको लडाइँ छ। र अब यस लडाइँलाई निर्णायक बनाउनुपर्छ। समाजमा र दलभित्र आफ्नो प्राधिकार कायम राख्ने या स्थापना मात्र गर्न खोज्ने दुवै प्रवृत्ति यथास्थितिवादी हो। कम्तिमा सुधारको बाटोसमेत हिँड्न नखोज्ने वा नचाहने प्रवृत्तिले समयको आवश्यकता थाहा पाउन सक्तैन र नेपाली समाजलाई वर्तमान दुर्दशाबाट उन्मुक्ति दिन सक्तैन। राज्यबाट आहत भएर विरक्तिएको र देश छाड्न बाध्य भएको यूवा पुस्ताको भावना बुझ्न सक्तैन। यस प्रवृत्तिको ध्याउन्न जसरी हुन्छ, आफूले शक्ति हासिल गर्नु हो। वर्तमानको विस्थापन र स्वयंको प्राप्ति उसको एकसुत्रीय मुद्दा हो। उसँग अगाडिको कार्ययोजना र मार्गचित्र छैन। यसले समाजको थप समयलाई अनुत्पादक रुपमा खर्च गर्छ र रहलपहल यूवाहरू समेतलाई परदेशी बनाउँछ। वर्तमान त गयो, भविष्य पनि यस्तै प्रवृत्तिको हात परेको खण्डमा नेपालको के हालत होला? त्यसैले अबको कदम सुझबुझपूर्ण, रचनात्मक र दुरदृष्टियुक्त हुनुपर्छ।
इतिहासमा निर्णायक स्थान राख्न नसक्ने परिवर्तनको कुनैं अर्थ हुँदैन। हरेक परिवर्तनले तात्पर्य बोक्नुपर्छ। र परिवर्तनसँग कार्यसूची हुनुपर्छ। अर्थ, तात्पर्य र कार्यसूची बेगरका परिवर्तनहरू पानीका फोका साबित हुन्छन्। यस बिषयमा गम्भीर विमर्श आजको आवश्यकता हो। यो दायित्व पुराना परिवर्तनमा सम्पूर्ण जीवन दिएको र वर्तमानमा कृयाशील नयाँ पुस्ताको काँधमा छ। यस पुस्ताले पनि क्षणिक लाभ र वैयक्तिक स्वार्थ वा निजी महात्वाकांक्षाले वशीभूत भएर बाटो बिरायो भने नेपाल त्यस्तो अँध्यारो सुरुङमा प्रवेश गर्नेछ कि यसको अस्तित्व विलुप्त हुनेछ।
तसर्थ यस वर्षको दशैं त्यस्तो राजनीतिक प्रस्थान बिन्दु बनोस् कि आमनागरिकमा नयाँ उत्साह, आशा र विश्वासको सञ्चार होस्। यस महान् चाडले अब नेपालमा केही हुन्छ, त्यसका निम्ति हामीसँग भरोसायोग्य नेतृत्व र सुस्पष्ट मार्गचित्र छ र हामीले चाहेको गर्नसक्छौं भन्ने आत्मविश्वास पैदा गरोस्। यही नैं रूपान्तरणको नयाँ संस्करण हो। आपसी रिसराग छाडौं, एकापसमा हातेमालो गरौं। सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई वडादशैंको मंगलमय शुभकामना !!