
किंग्स कलेजले ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वदेशमा प्रविधिको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजले जनाएको छ ।
अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा सञ्चालन हुने यस चार वर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई आत्मसाथ गरी सोबाट लाभ लिन पछिल्लो पुस्तालाई सबल बनाउने कलेजको उद्देश्य छ ।
कलेजका अनुसार यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभई नवप्रवर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मेसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हासिल गर्ने औजारसमेत हुनेछ ।
यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर वास्तविक विश्व परिस्थितिमा सूचना प्रविधिको क्षेत्रमा देखा परेका समस्या समाधान गर्न सक्षम बनाउने कलेजले विश्वास लिएको छ ।
कलेजले पछिल्लो समय सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिँदै आएको ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्सको कार्यक्रम प्रमुख मनोज पाण्डेले जानकारी दिए ।
उनका अनुसार व्यक्ति तथा संस्थाहरूको विशिष्टकृत आवश्यकता परिपूर्ति गर्नको लागि ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स कार्यक्रमको डिजाइन गरिएको हो ।
साथै यसै क्षेत्रमा काम तथा अध्ययन अनुसन्धान गरिरहेका व्यक्तिहरूले यस विषयको अध्यापन गराउने कलेजले जनाएको छ ।