![बाह्रखरी कथा प्रतियोगिताः विजेताले पाए १ लाख [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/12khari_5_gpxscwD7Z1.png)
बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको ’पाँचौं बाह्रखरी कथा प्रतियोगिता– २०८०’का विजेता मनोजबाबु पन्तले १ लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।
आइतवार काठमाडौंमा भएको एक कार्यक्रमका बीच विजेता पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा विजेता घोषणासँगै ’उत्कृष्ट कथा– २०८०’को पनि लोकार्पण गरिएको थियो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकार्पण गरेका हुन् ।
उक्त कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८४३ मध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको जानकारी काय्रक्रममा दिइयो ।
प्रतियोगितामा प्रथम हुने मनोजबाबु पन्त, द्वितीय हुनेमा प्रमोद प्याकुरेल तथा तृतीय हुनेमा विजय हितानले क्रमशः १ लाख, ६० हजार तथा ४० हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र तथा ट्रफी पाए ।
पन्तको ’बूढो लाकुरीको रुख’ पहिलो, प्रमोद प्याकुरेलको कथा ’काँचुली’ दोस्रो र विजय हितानको कथा ’चेपाङ, चमेरा र चिउरी’ तेस्रो भएको हो ।
यस कथासंग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएको जानकारी कार्यक्रममा दिइएको हो ।

‘बाह्रखरी कथा लेखन प्रतियोगिता– २०८० मा उत्कृष्ट २५ कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन् ।
कार्यक्रममा बाह्रखरी डट्कमका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी गर्नुको उद्देश्यबारे प्रष्ट्याएका थिए । ’साहित्य र पत्रकारिता समाज परिवर्तन गर्ने एउटा मध्यम हुन् । हामी पत्रकारले तथ्य र प्रमाणका आधारमा दिमाग प्रयोग गरेर समाज परिवर्तन गर्न लेख्छौं भने साहित्यमा जहिले पनि मनबाट कल्पना गरी समाज परिवर्तन गर्न नै लेखिन्छ,’ उनले भने, ‘त्यसैले यी दुईवटै विधाको उद्देश्य समाज परिवर्तन गर्नु नै भएकोले बाह्रखरीले यो कार्यक्रम आयोजना गर्ने गर्दछ ।’

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले समाजको प्रगति नगरेको तर्फ राखेका थिए ।
‘साहित्यकारलाई गरिब बनाएर, अनि जर्जर भएको राजनीतिलाई बलियो बनाएर हामी उत्सव मनाउँछौं,’ उनले भने, ‘राजनीतिले समाधान दिइरहेको छैन भन्ने मलाई लाग्छ, राजनीति उत्पादनहीन छ ।’
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
हेरौं भिडियोः
तस्वीर र भिडियोः विश्वास खनाल/लोकान्तर ।