२५ असार २०८३, बिहीबार
टिकट विवरणलाई लिएर कांग्रेसमा किचलो

उम्मेदवार छान्न देउवाले गरेको चलाखीः निकटलाई टिकट दिन गठबन्धनमै सेटिङ !

पुस २३, २०८०
काठमाडौं
उम्मेदवार छान्न देउवाले गरेको चलाखीः निकटलाई टिकट दिन गठबन्धनमै सेटिङ !

नेपाली कांग्रेसले चलाखीपूर्ण तरिकाले अनुकूल नेतालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । आम निर्वाचनमा पराजित र प्रभावशाली नेताहरूले नै राष्ट्रिय सभामा जान आकांक्षा राखेपछि कांग्रेस संस्थापनले चलाखी गर्दै उम्मेदवार छनोट गरेको हो । कांग्रेस संस्थापनले उम्मेदवार छनोटमा क्लस्टरतर्फ चलाखी गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको पुस १५ गते बसेको बैठकले हारेका र पटकपटक अवसर नपाएकालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउने निर्णय गरेको थियो । ‘भौगोलिक तथा जातीय–क्षेत्रीय सन्तुलनलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने, पार्टीप्रति प्रतिवद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ कांग्रेसको निर्णय थियो । तर, उम्मेदवार छनोटमा भने केन्द्रीय समितिको निर्णयविपरीत आफू अनुकूलनका नेतालाई नै ल्याउन कांग्रेस संस्थापनले चलाखी गरेको छ । उम्मेदवार छनोट गर्दा भने हारेका र पटकपटक अवसर पाएकाहरू दोहोरिएका छन् । कांग्रेसका १० उम्मेदवारमध्ये कम्तिमा आधा अवसर पाएकै देखिन्छन् ।

केही प्रदेशमा आफूले भनेका नेता अगाडि सार्न कांग्रेसले क्लस्टर रोजेको देखिन्छ । सत्ता गठबन्धनको भागबन्डामा १० सिट पाएको कांग्रेसले सबैभन्दा धेरै बन्यमा ६, महिला र अपांगता/अल्पसंख्यक क्लस्टरबाट दुई/दुई लिएको थियो । गठबन्धनका अन्य दलले उम्मेदवार मिलाउन प्रदेश अदलबदलको प्रस्ताव गरेका थिए । तर, कांग्रेसले पहिले आफूले उम्मेदवार अनुकूल रोजेर बाँकी माओवादी र नेकपा एकीकृत समाजवादीलाई दिएको नेताहरूको दाबी छ ।

उम्मेदवार चयनमा कांग्रेस सभापति शेरबहादुर देउवाको चलाखीपछि संस्थापनइतर समूहले विरोध गरेर मिलाउन खोजे पनि सफल भएन । मापदण्ड, क्लस्टर र व्यक्तिका विषयमा इतर पक्षले असन्तुष्टि राख्दा आइतबार मध्यरातसम्म उम्मेदवार छनोटको विषय टुंगिएको थिएन । तर, देउवाले शेखर समूहकालाई गण्डकीका दुई र लुम्बिनीका एक सिट मात्रै दिएर सोमबार बिहान उम्मेदवार टुंग्याए । 

आफू अनुकूलका उम्मेदवार बनाउन देउवाले आफ्नो तर्फका नाम नदेखाएरै इतर पक्षसँग तीन जनाको नाम दिन निरन्तर आग्रह गरेका थिए । कहिले शेखर कोइराला त कहिले गगन थापासँग देउवाले ‘तपाईंहरू नाम दिनुस् न’ भनेर मागेको नेताहरू बताउँछन् । 

‘सभापतिले आफ्नो टिमको नाम नदेखाउने तर, कहिले शेखर र त कहिले गगनसँग तपाईंहरू तिरको नाम दिनुस् भनेर पटकपटक भन्नुभयो’, इतर पक्षका एक केन्द्रीय सदस्यले भने, ‘तर शेखर र गगन दुवैले क्लस्टर मिलेको छैन । संख्या मिलेको छैन भनेर अडान लिएपछि आइतबार रातिसम्म बैठक लम्बिएको हो ।’

रातिसम्म पनि सहमति नभएपछि डा. शेखर कोइराला केन्द्रीय कार्यालयस्थित बैठक स्थलबाट उठेर हिँडेका थिए । तर, उनलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र नेता रमेश लेखकले फोन गरेर बीचबाटै फिर्ता बोलाएर छलफल गरेको नेताहरू बताउँछन् । 

रातभरिको प्रयासपछि सोमबार बिहान उम्मेदवार टुंगिएको घोषणा गरिए पनि विवादरहित हुन सकेन । जिम्मेवार नेताले पदाधिकारीमात्रै बसेर टुंग्याएको भन्दै असहमति राखेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लिखित असहमति नै राखेका छन् । पार्टीले घोषणा गरेको मापदण्डविपरीत भएको भन्दै थापाले दुई बुँदे लिखित असहमति राखे । 

'यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखि निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछु,' थापाको असहमतिमा उल्लेख छ । 

अर्का महामन्त्री विश्वप्रकाशले पनि ६ बुँदे असहमति राखेका छन् । ‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने रु फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने रु’ शर्माले प्रश्न गरेका छन्, ‘राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।’ यी मात्रै होइन नामै तोकेर बलबहादुर केसी र अर्जुननरसिंह केसीले आनन्दप्रसाद ढुंगानाको नाममा असहमित राखेका छन् । 

सिटौला सर्वसम्मत 
कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि पटकपटक अवसर पाएका नेता हुन् । उनी २०७९ को प्रत्यक्ष निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । यसपटक थुप्रैपटक सांसद, मन्त्री हुने अवसर उनले पाए । उनी कांग्रेसका पूर्वमहामन्त्रीसमेत हुन् । तर, पार्टीले एक हप्ता अघिको निर्णयविपरीत सिटौलालाई उम्मेदवार बनाए पनि उनको नाममा पार्टीभित्र विवाद छैन । 

अरु उम्मेदारबारे सकस भए पनि कांग्रेसले सिटौलालाई पार्टीभित्र र बाहिरबाट सर्वसम्मत बनाउन देउवा सफल भएका हुन् । ‘अरु प्रदेशका लागि केही सकस भएको हो तर, मेरो नाममा आइतबार दिउँसै सर्वसम्मति जुटेर उम्मेदवार बन्ने टुंगो लागेको हो’, सिटौलाले लोकान्तरसँग भने । 

आइतबार दिउँसै सिटौलालाई कोशीबाट अन्य क्लस्टरतर्फ कांग्रेसले सर्वसम्मत उम्मेदवार बनाउँदै टिकट थमाएको थियो । संविधानसभाबाट संविधान बनाउँदा मस्यौदा समिति सभापति भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका, शान्ति प्रक्रियामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग नजिक भएर काम गरेका सिटौलालाई प्रधानमन्त्री प्रचण्डले पनि ल्याउन जोडबल गरेका हुन् । 

सिटौलाको नाममा असहमति नहोस् भनेरै प्रचण्डले कांग्रेस नेता शेखर कोइरालालाई पनि बोलाएर विरोध नगरिदिन आग्रह गरेको नेताहरू बताउँछन् । यिनी अनुभवी सिटौलालाई अब राष्ट्रिय सभाको अध्यक्ष बनाउन पनि दलहरू तयारजस्तै देखिएका छन् । अन्य क्लस्टरमा राख्दा सिटौलालाई उम्मेदवार बनाउन अप्ठ्यारो हुने भएपछि भागबन्डामा कांग्रेसले अन्य क्लस्टर रोजेर सिटौलालाई कोशीबाट राष्ट्रिय सभामा उम्मेदवार बनाएको हो ।

अरु प्रदेशमा पनि उस्तै स्वार्थ
लुम्बिनीमा कांग्रेसले महिला रोज्नुमा हारेकी पुष्पा भुसाललाई ल्याउने स्वार्थ बाझिएको थियो । संस्थापनले यसअघि पटकपटक अवसर पाएकी नेत्री हुन् । उपसभामुखसमेत भएकी भुसाल गत निर्वाचनमा पराजित भएकी हुन् । गत निर्वाचन हारेकी भुसाललाई उम्मेदवार बनाउने लगभग तय गरेको थियो । तर, संस्थापन इतरले निरन्तर अडान लिएर गुल्मीकी विष्णुकुमारी सापकोटालाई कांग्रेसले उम्मेदवार बनाएको छ । सापकोटा लुम्बिनी प्रदेश कार्यसम्पादन समिति सदस्य हुन् । 

हारेका, पटकपटक अवसर पाएका सिटौलादेखि आनन्द ढुंगाना पनि उम्मेदवार बनाउने र भुसाललाई पनि बनाउने भएपछि शेखर र गगन पक्षले रातभर असन्तुष्टि जनाएको नेताहरू बताउँछन् । यसैले पार्टी केन्द्रमा अवसर नपाएकी सापकोटा अन्ततः उम्मेदवार बनाइएकी हुन् । गुल्मीमा उनले सचिव र महिला संघको नेतृत्वमा रहेर काम गरिसकेकी छिन् । देउवा सिटौला र आनन्दको नाममा सफल भए पनि पुष्पालाई उम्मेदवार बनाउन भने असफल रहे । 

सुदूरपश्चिममा कांग्रेसले खुला र अपांग क्लस्टरतर्फ भागबन्डा लिनुमा पनि स्वार्थ रहेको नेताहरू बताउँछन् । कांग्रेस संस्थापनले सुदूरमा अपांगता क्लस्टर रोजेर नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको हो । भट्ट कांग्रेस कैलालीका सभापति हुन् । सुदूरपश्चिमबाट बलदेव बोहोरा पनि संस्थापनको अन्यबाट उम्मेदवार बने । उनी कञ्चपुर कांग्रेसका पूर्वसभापति भइसकेका नेता हुन् । यी दुईबाहेक अर्कोलाई अवसर नदिन संस्थापनले अपागंता अल्पसंख्यक क्लस्टर रोजेको नेताहरू बताउँछन् ।

कोशीमा सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना र बागमतीमा जीतजंग बस्नेतलाई उम्मेदवार बनाउन संस्थापनले यी प्रदेशमा अन्यको उम्मेदवार रोजेको हो । बस्नेत पनि इतर पक्षबाट नरुचाइएको नाम हो । तर, आफ्नो कोटामा परेपछि संस्थापनले उनलाई अवसर दिइछाडेको नेताहरू बताउँछन् । बागमतीबाट गगन थापा, प्रकाशमान सिंह निकटका सबुज बानियाँ पनि दाबेदार थिए । तर, देउवा निकटका बस्नेतले बाजी मारे । बागमतीबाट महिलाबाट विष्णुदेवी पुडासैनी उम्मेदवार बनेकी छिन् ।

धनुषाले ढुंगानालाई उम्मेदवार सिफारिस गरेको थिएन । तर, क्षेत्र र प्रदेश कार्यसमितिले उनको नाम केन्द्रमा सिफारिस गरिदियो । जसको कारण विमलेन्द्र निधिले चाहेका होइन देउवाले चाहेका ढुंगाना उम्मेदवार बने । मधेश प्रदेशमा समुदायको प्रतिनिधित्व नगरी निरन्तर अवसर पाएका उनै पुराना नेता आनन्दलाई देउवाले रोजेका हुन् । 
कर्णालीमा संस्थापन इतरले युवा नेता भुपेन्द्रजंग शाहीलाई उम्मेदवार बनाउन निक्कै कसरत गरे पनि सफल भएन । संस्थापनसँग ४ सिट लिने र शाहीलाई उम्मेदवार बनाउन खोजे पनि कृष्णबहादुर रोकाया उम्मेदवार बनाइए ।     रोकाया कर्णाली प्रदेश कार्यसमितिमा महामन्त्री छन् । 

गण्डकीबाट अन्य एक, अल्पसंख्यक र अपांगता कोटामा एक जना गोपालमान श्रेष्ठलाई ल्याउने संस्थापनको तयारी थियो । अन्यबाट किरणबाबु श्रेष्ठ उम्मेदवार बनाइए । श्रेष्ठ गण्डकी प्रदेशका महामन्त्री हुन् । यही प्रदेशबाट सहमहामन्त्री जीवन परियारले दलित समुदायबाट कोही पनि नपारिएको भन्दै अडान लिएपछि पदमबहादुर परिवार उम्मेदवार बनाइएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्