२८ जेठ २०८३, बिहीबार

'करबाकेली इको ट्रेक'मा लाहुरेसँग पाँच दिन

माघ ८, २०८०
काठमाडौं
'करबाकेली इको ट्रेक'मा लाहुरेसँग पाँच दिन

विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (विदेश)बाट फर्किएका पुन कहिले काठमाडौं, पोखरा त कहिले म्याग्दी घुमिरहेका हुन्छन् । 

१५ वर्ष बेलायती सेना र त्यसपछि केही वर्ष ब्रुनाईका सुल्तानको सेवामा काम गरेका चामबहादुरकै पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडामा पुन समुदायका कुल देवता करबाकेली बाबा थान(मन्दिर) बनेको छ ।अहिले उनी त्यसकै संरक्षण र प्रचारप्रसारमा जुटेका छन् ।

null

उनै पुनसँग गत कात्तिकमा करबाकेली बाबा थान पुग्ने अवसर जुर्‍यो । दशै र तिहारको बिचमा रमाइलो यात्रा गरियो । म्याग्दीको बेनीबाट पुनहिल जोड्ने यो रुटलाई करबाकेली इको ट्रेकका रूपमा ब्रान्डिङ गरिएको रहेछ ।

कात्तिक १९ गते बिहान काठमाडौंको नयाँ बसपार्कबाट मँसहित अभय श्रेष्ठ, प्रगति राई, प्रभा बराल, कुमारी लामा, हेमन्त विवश, रञ्जन राजभण्डारी, दिनेश नारायण श्रेष्ठ, भवानी शिलाकार, सुरेन्द्र राना, चाम बहादुर पुन, अनुपम रोशीलगायत साथीहरू बेनीको बस चढियो । दमौलीबाट सागर उदास, पोखराबाट तारानाथ पहारी, घनश्याम पौडेल पनि जोडिए । त्यो दिन बेनीमै बास बसियो ।

null

२० गते बिहान बेनीबजारबाट हामी करबाकेली पदयात्रा सुरु गर्‍यौं । बेनी बजारमा हामीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र व्यवसायी राजेश शाक्यलगायत व्यक्तिहरूले स्वागत गर्नुभयो ।

बेनीबाट पर्वतको मल्लाज फाँट उक्लँदा सबै साथीहरू पसिनाले निथ्रुक्क भैसकेका थिए । मल्लाजबाट धौलागिरी, निलगिरी हिमाल तथा म्याग्दीका पहाडहरू हेर्दै बाँसखर्कस्थित होम स्टेमा खाना खायौं । बाँसखर्क सुन्तलामा पनि प्रख्यात रहेछ । हामीलाई बाँसखर्कका साथीहरूले सुन्तला उपहार दिएर स्वागत गरे ।

null

बाँसखर्कमा खाना खाएर हामी महभिरतर्फ लाग्यौं । पर्वतबाट म्याग्दी तर्फको महभिर देखाउँदै चाम बहादुरले हामीलाई आफ्नो पुर्खाबारे सुनाए । बा, हजुरबालगायत अघिल्ला पुस्ताले कसरी भिरबाट मह संकलन गर्थे भनेर पुर्खाको गौरवगाथा सुन्दै यात्रा अघि बढिरह्यो ।

समय ढल्किँदै थियो । महभिरमा खाजा खाएर उकालो लाग्यौं । काफलडाँडास्थित करबाकेली पाउना घरमा बास बसियो ।

कात्तिक २१ गते बिहान काफलडाँडास्थित करबाकेली बाबा मन्दिरको दर्शनसँगै पुन समुदायको संग्राहलय अवलोकन गर्‍यौं । करबाकेली मन्दिरको काखबाटै हिमालको दृष्यावलोकन गरियो । धौलागिरी, निलगिरी, अन्नपूर्णलगायत हिमालहरू मन्दिरबाटै देख्न पाइन्छ ।

त्यसपछि अन्तर्क्रिया कार्यक्रम राखियो । अन्तरक्रियामा लेखक, पत्रकार तथा पदयात्रीहरूले आ-आफ्ना यात्रा अनुभूति तथा कविता सुनाए । कार्यक्रममा चामबहादुरले करबाकेली बाबाको मन्दिर निमार्ण, पुन समुदायको संग्रहालय निर्माण तथा त्यहाँ बसोवास गर्ने पुन समुदायको पुर्ख्यौली पेसा तथा मह संकलन गर्न भीरमा जाँदाको अनुभूति सुनाए।  गाउँ र समुदायको सेवामा लाग्न करबाकेली बाबाबाट प्रेरणा मिलेको उनले बताए ।

पुन समुदायको पुर्ख्यौली नाचगानले मनोरन्जन प्रदान गरियो । पुन समुदायमा कुल देवताको पूजा वा मुख्य पूजाको झाँकीमा पुरुषहरू नै महिलाको भेषमा सजिएर नृत्य गरिने चलन रहेछ ।

null

कार्यक्रम सकेर करिब चार घण्टा हिँडेपछि हामी त्यही दिन पुनहिल बेसक्याम फूलबारीमा बास बस्यौं । फूलबारीमा गुरासँका बोटहरू मात्र थिए । चैत, बैशाख र जेठमा झपक्कै लालिगुरासँ फुल्छन् । हामी जाँदा फुलेको थिएन ।

पुनहिलबाट माच्छापुच्छ्रे धौलागिरी, अन्नपूर्ण नर्थ र साउथलगायत हिमाल हेर्दै घोडेपानी ओर्लिएर खाजा खायौं । घोडेपानीबाट चार घण्टा ओरालो लागेर उल्लेरीमा खाना खायौं । गाडी चढेर कास्की नयाँ पुल हुँदै हामी बेलुकी पोखरा बास बस्न आइपुग्यौं । कात्तिक २३ गते हामी काठमाडौं फर्कियौं ।

 null

यात्रा साच्चै रमाइलो रह्यो । करबाकेली इको ट्रेकको विकासमा चामबहादुर पुनलगायत उनको समुदायको भूमिकालाई सम्मान गर्नेपर्छ । उकालो, ओरालो र तेस्रा बाटोको हिँडाइले निकै आनन्दित बनायो ।

अर्गानिक खाना र खाजा, समिपमा देखिने हिमालले जोकसैलाई लोभ्याउँछ ।

null

रुटमा विभिन्न चरा, जनावर, भेडीगोठलगायत प्रकृतिको अनुमप अनुभव गर्न पाइन्छ । ट्रेकिङ प्रेमीहरूका लागि याे नयाँ रूट अत्यन्तै राम्राे छ। जुनसुकै सिजनमा पनि याे रूटकाे पदयात्रा गर्न सकिन्छ । साथै पुन समुदायको बारेमा बुझ्न सकिन्छ।

null

हरेक गाउँ ठाउका मानिसहरू सहर केन्द्रित भएर बसेको अहिलेको अवस्थामा एउटा सम्पन्न जीवनशैली भएका पूर्व लाहुरे आफ्नो समुदाय, गाउँठाउँ तथा आफ्नाे पुर्ख्यौली संरक्षण विकास तथा प्रचार प्रचारमा लागेको देखेर हामीहरूलाई प्रेरणा मिलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्