१० साउन २०८३, आइतबार
राष्ट्रियसभा निर्वाचन प्रकरण

कोशी घटनापछि अब के गर्छन् कांग्रेस र माओवादी ?

माघ १३, २०८०
काठमाडौं
कोशी घटनापछि अब के गर्छन् कांग्रेस र माओवादी ?

मुखैमा आएको मुख्यमन्त्रीदेखि अहिले राष्ट्रियसभामा जित्ने सदस्य पनि गुमाउनुपरेपछि सत्ता गठबन्धनमा नेपाली कांग्रेसप्रति नेकपा (माओवादी केन्द्र)मा विरोधको स्वर सुनिन थालेको छ । यसअघि माओवादी केन्द्रका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गठबन्धनले गरेको थियो । तर नेकपा (एमाले)को सहयोगमा कांग्रेसका विद्रोही नेता केदार कार्की मुख्यमन्त्री बने । तर पनि माओवादी केन्द्रले त्यसलाई ठूलो ‘इस्यू’ बनाएको थिएन । 

तर फेरि कोशीबाट राष्ट्रियसभा सदस्य जित्ने पक्का भएकी आफ्नी उम्मेदवार चम्पादेवी कार्कीले अप्रत्याशित पराजय ब्यहोरेपछि माओवादी केन्द्रले यसपटक खुलेरै असन्तुष्टि व्यक्त गरेको छ । बिहीवार भएको निर्वाचनमा सत्ता गठबन्धनकी कार्कीले सजिलै जित्नुपर्ने अंकगणित थियो । तर कांग्रेसका प्रदेश, सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाटै भोट क्रस भएपछि एमालेकी रुक्मिणि कोइरालाले अप्रत्याशित जीत दर्ता गरिन् ।

त्यसैले यसपटक भने माओवादी केन्द्रले गठबन्धनमा कांग्रेसबाट पटकपटक पाएको धोकालाई गम्भीर बहसको विषय बनाउने देखिएको छ । कांग्रेसबाट पटकपटक पाएको धोका अब गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको माओवादी केन्द्रका उपहासचिव वर्षमान पुनले बताएका छन् । ‘राष्ट्रियसभामा कोशीको परिणामपछि राजनीतिमा नयाँ मोड आएको छ । यसैले हामी कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं,’ पुनले शनिवार रोल्पा पुगेर भने, ‘हामीले कांग्रेससँग गरेको सत्ता गठबन्धनले हामीलाई कति राजनीतिक घाटा वा नाफा भयो ? यो समीक्षा गर्ने बेला भयो । हामी सधैं कांग्रेसलाई मत दिएर जिताउने तर हाम्रा उम्मेदवारलाई उसले सधैँ हराउने सिलसिला कहिलेसम्म चल्छ ?’ उनले मात्रै होइन कोशीको माओवादी केन्द्र नेतृत्वले त प्रदेश सरकारबारे नै एउटा निर्णय लिनुपर्ने चेतावनी दिएको छ ।

जिम्मेवार नेताले यस्तो प्रतिक्रिया दिएपछि प्रधानमन्त्रीनिकट स्रोतसँग लोकान्तरले कुराकानी गर्दा गठबन्धनबीच तत्काल कुनै तनाव नआउने दाबी गर्यो । 

‘कोशीमा पहिले पनि माओवादी केन्द्रका नेतालाई मुख्यमन्त्री बनाउने सहमति कांग्रेसबाट पालना भएन । प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) कांग्रेस सभापति (शेरबहादुर देउवा) र डा शेखर कोइराला बसेर सेटल गर्नुभएको थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘यसपटक कोशीमा हाम्रा नेता हार्नु अहिले नै शुरू भएको भन्दा पनि त्यहाँ पहिले नै रोपिएको विवादको बिउ कारण हो भन्ने बुझाइ प्रधानमन्त्रीको छ । यो घटनाले गम्भीर ध्यानाकर्षण भएको छ । तर यसैलाई लिएर गठबन्धनमा तलामाथि हुने गरी तनाव आउँदैन ।’ 

गठबन्धनको भावनाप्रति कांग्रेसको मूल नेतृत्व प्रष्ट हुँदासम्म यस्ता घटना हुँदा पनि तलमाथि नहुने बालुवाटार स्रोत बताउँछ । 

‘सातमध्ये ६ प्रदेशमा गठबन्धन दलको भावनाअनुसार राष्ट्रियसभामा सदस्य चुनिए  कही पनि तनावको स्थिति आएन । यसैले कोशीमा पहिलेदेखिको तनावको रुप प्रकट भएको भन्ने बुझाइ छ,’ उक्त स्रोतले भन्यो, ‘कांग्रेसको एउटा पक्षले खेल्न खोजे पनि त्यसको मूल नेतृत्व गठबन्धनप्रति प्रतिवद्ध हुँदासम्म समस्या आउँदैन ।’

तर पटकपटक धोका हुने गरी कांग्रेसबाट असहयोग भएपछि भने पार्टी तहमा कुराकानी गर्ने र गठबन्धन दलबीच पुनः छलफल गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । मूलतः कांग्रेसको संस्थापनइतर पक्षबाट धोका भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । 

कोशीमा आफ्ना नेता पराजित भएकै विषयलाई ‘इस्यू’ बनाउँदा धेरैथोक बिग्रने बुझाइ प्रधानमन्त्रीको रहेको छ । आपसी विश्वास कायम नभए गठबन्धनमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने विषय अलपत्र पर्न सक्नेजस्ता व्यावहारिक पक्षप्रति पनि प्रधानमन्त्री सचेत देखिन्छन् । 

अरु प्रदेशमा नभए पनि कोशीमा यस्तो खालको विद्रोह हुन सक्ने आकलन कांग्रेस नेतृत्वदेखि माओवादी केन्द्र नेतृत्वसम्मैलाई भएको बताइन्छ । 

‘अरु प्रदेशमा जसरी सहजै कोशीमा निर्वाचन हुन्छ जस्तो लागेको थिएन । आखिर नतिजाले पनि त्यस्तै देखायो’ माओवादी केन्द्र स्रोत भन्छन्, ‘केही तनाव होस् भनेरै एमालेले पनि आफ्नो उम्मेदवार नउठाइ राप्रपालाई दिएको हो । एमालेले यसैलाई सत्ता गठबन्धन ढाल्ने खेल सम्झेको हो भने त्यो उसको सपनामात्रै हो ।’

वर्षमान पुनले रोल्पा पुगेर गठबन्धनबारे समीक्षा गर्न माग गरेको विषय व्यक्तिगत विचार भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ । 

‘जित्दाजित्दैको चुनाव आफ्ना नेताले हार्नुपर्दा आक्रोश हुनु स्वाभाविक हो । तर आवेगमा मात्रै आएर गठबन्धनलाई समस्यामा पार्ने काम हुनुहुँदैन भन्नेमा नेताहरू सजग हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ, ‘महासचिवले रोल्पा पुगेर बोल्नुभएको उहाँको विचार हो । सामान्य समीक्षासम्म हुन्छ, अरु केही हुँदैन ।’

माओवादी केन्द्रका उम्मेदवारले नजिते पनि कांग्रेसका कृष्णप्रसाद सिटौला भने कोशीबाट विजयी भएका थिए । कांग्रेसको इतर पक्षले सिटौलालाई धोका दिने आकलन थियो । तर माओवादी केन्द्रका उम्मेदवार पराजित हुने अवस्था कोशीमा देखियो । आफू जित्ने र माओवादी केन्द्र हार्ने विषय स्वाभाविक नभएको भन्दै सिटौलाले यस विषयमा छलफल हुनुपर्ने बताएका छन् । 

कांग्रेस नेता रमेश लेखकले कोशीमा आएको अप्रत्याशित परिणाम चिन्ताजनक विषय भएको बताए । ‘राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा गठबन्धनका उम्मेदवारप्रति कोशीमा जुन परिणाम आयो यो अप्रत्याशित र चिन्ताजनक छ,’ लेखकले लोकान्तरसँग भने, ‘यसलाई गम्भीर रुपले हेर्नुपर्छ र हेर्छौँ । तर यसै विषयले गठबन्धनमा थप राजनीतिक प्रतिकुलता उत्पन्न हुँदैन । घटना गम्भीर भएकाले गम्भीर समीक्षा हुनुपर्छ ।’

कांग्रेसका युवा नेता उदयशमशेर राणाले पनि कोशी घटनाले गठबन्धन नट्ने दाबी गरेका छन् । बरु उनले यस घटनाबारे छानबिन गर्न पार्टी नेतृत्वसँग माग राखेका छन् । ‘कोशीको घटनाले गठबन्धन टुट्दैन । बरु हाम्रो पार्टीले यसलाई छानबिन गर्नुपर्छ,’ उनले भने । 

तर खुला रुपमा गठबन्धन सरकार ढाल्ने चेतावनी दिएको एमाले यो घटनापछि थप उत्साही भएको छ । पटकपटक यस्तो घटना स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा, राष्ट्रिय सभा सबै निर्वाचनमा देखिन थालेपछि निर्वाचनमा दलीय गठबन्धनबारे पार्टी धेरै उदार हुन नहुने मत माओवादी केन्द्रमा पनि बलियो बनेर जाने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्