१० साउन २०८३, आइतबार

नेपालमा कुन भाषा समूह कहिले आयो ?

फागुन ४, २०८०
पाेखरा
नेपालमा कुन भाषा समूह कहिले आयो ?

नेपालमा मानिस कहिले आए त्यसको यकिन प्रमाण छैन । तर, भाषाको उद्भवले १० हजार वर्षअगाडि देखाउँछ । भाषाशास्त्री जर्ज भ्यान ड्रिम भाषाको उद्भवअनुसार भोटबर्मेली भाषा समूह १० हजार वर्षअगाडि र भारोपेली पाँच हजार वर्षअगाडि आएको देखिने बताउँछन् । नेपालमा मुख्यगरी भोटबर्मेली र भारोपेली भाषा समूह छन् । 

त्यसैले पनि नेपालमा कहिले मानिस आए भन्ने तथ्य प्रमाणित गर्न डीएनए नै परीक्षण गर्नुपर्ने उनको भनाइ छ । 

‘अहिलेसम्मको अध्ययनले मगर, लिम्बुलगायत जातजातिहरु १० हजार वर्षको समयदेखि अहिलेको नेपाल क्षेत्रमा बसोबास गर्दै आएको देखिन्छ,’ उनले भने ।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले नेपालमा यी दुई भाषाबाहेक अर्को भाषा रहेको सुनाए । लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका भ्यान कुसुन्डा भाषा यी दुई भाषासँग नमिल्ने सुनाउँछन् । भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ ।

जर्ज भ्यान पछिल्लो लामो समयदेखि अध्ययन, अनुसन्धानकै क्रममा नेपालमा छन् ।

यादव देवकोटाले सहजीकरण गरेको सत्रमा भाषाभास्त्री भ्यानले भोटबर्मेली भाषाको उत्पत्ति पूर्वी हिमाली क्षेत्रमा भएको हालसम्मको प्रमाणले देखाउने सुनाउँछन् । 

‘यो भनेको धौलागिरिदेखि, इन्डोबर्मिज बोर्डरल्यान्डसम्म पर्छ । कुनै–कुनै भाषामात्र योभन्दा बाहिर पर्छ,’ उनी भन्छन् । 

हालसम्म भोटबर्मेली भाषा आयातित भनिए पनि नेपालकै पूर्वीहिमाली क्षेत्रबाट उक्त भाषाको उत्पत्ति भएको दाबी उनको छ ।

भाषाको बनोटको अर्को मूलस्रोतका रुपमा लिइएको भारोपेली भाषा पनि भारतीय भूगोलबाटै उत्पत्ति भएको तथ्य देखिने ड्रिमको अर्को दाबी छ । 

‘उनीहरू लगभग यो क्षेत्रमा ५ हजार वर्षअगाडिमात्रै आएका हुन् । तर, उनीहरूको आनुवंशिकता इन्डियाबाटै शुरू भएको देखिन्छ । युरोप गएर फेरि भारतमै आएको देखिन्छ,’ उनले दाबी गरे ।  

ड्रिमले भारतीय महाद्विपका भाषा, संस्कृति, आनुवांशिता र वनस्पतिमाथि लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् ।  नेपाली भाषा, संस्कृतिमाथि पनि अध्ययन अनुसन्धान गरेका उनले ‘लिम्बू भाषा’माथि पनि ‘अ ग्रामर अफ लिम्बू’ कृति पनि प्रकाशन गरेका छन् ।  त्यसबाहेक उनको ‘द टेल्स अफ टी, ल्यांग्वेज अफ दी हिमालय’लगायत कृति प्रकाशित छन् भने सयौं अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्