२२ असार २०८३, सोमबार
डिजिटल जमानाका 'ब्ल्याक एन्ड ह्वाइट' नेता

नेताका वेबसाइटको बेहाल : कसैको वर्षौंदेखि अपडेट छैन, कसैमा खुल्छ मेसीको फोटो

फागुन ९, २०८०
काठमाडौं
नेताका वेबसाइटको बेहाल : कसैको वर्षौंदेखि अपडेट छैन, कसैमा खुल्छ मेसीको फोटो

राजनीतिक दलका नेताका हातमा महंगा र लेटेस्ट मोडलका स्मार्टफोन देखिन्छन्, सहयोगीसँग नेताका भन्दा झन् महंगा आइफोन छन् । तर, राजनीतिक दलका नेताको वेबसाइटको हालत भने बिजोक देखिन्छ ।

आफ्ना गतिविधि, विचार र दस्तावेजहरू जनता/मतदातासँग पुर्‍याउने उद्देश्यले खोलिएका राजनीतिक दलका अधिकांश नेताका वेबसाइट मृतजस्तै छन् । एक जनाले खोलेपछि अर्कोले त्यसैको नक्कल गरेर खोलेपनि ती वेबसाइट चलेका छैनन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वेबसाइट सीएम प्रचण्ड डटकम २०८० पुस ११ देखि अपडेट भएको छैन । 

‘ गठबन्धन पाँचै वर्ष जान्छ, राम्रा कामको शुरूआत भएको छ, अझै राम्रा काम गर्छौं प्रधानमन्त्री,’ प्रचण्डको साइटको होमपेजमा यो समाचार राखिएको छ । २०६६ सालदेखि प्रचण्डको वेबसाइट सञ्चलनमा आएको थियो । सीएम प्रचण्ड (अध्यक्ष प्रचण्ड) नामको फेसबूक पेज भने अपडेटेड देखिन्छ, प्रचण्डका सम्बोधन यही पेजबाट लाइभ गर्ने गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आधिकारिक वेबसाइट (www.sherbahadurdeuba.com/) व्यक्तिगत प्रोफाइल जस्तो छ । देउवाको फेसबूक र ट्वीटरमा लेखेका सन्देश वेबसाइटमा हेर्न मिल्ने गरी देखाइएको छ । भाषण सेक्सनमा २०७९ पुस २९ गते तत्कालीन सरकारले ६ महिना पूरा गरेको अवसरमा गरिएको सम्बोधनको पूर्णपाठ राखिएको छ । त्यसपछिका भाषणहरू अपडेट गरिएको छैन ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वेबसाइट (www.kpsharmaoli.com.np) २०७९ असोजदेखि अपडेट छैन । केपी शर्मा ओली डटकम डट एनपीको होमपेजमा ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ नारा लेखेर ओलीको हस्ताक्षरसहितको ठूलो फोटो राखिएको छ । साइटमा सम्बोधन, मन्तव्यको सेक्सन राखिए पनि अपडेट देखिँदैन ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको (www.madhavnepal.com) वेबसाइट त खुल्नै छाडेको छ । माधव नेपालको फेसबूक पेजमा सो साइटको यूआरएल झुन्ड्याइएको छ । साइट खोल्दा ४०३ इरर देखाउँछ । 

सूचना प्रविधि र इन्टरनेटमा चासो राख्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको वेबसाइटको पनि बिजोक छ ।

बाबुराम भट्टराईको साइट क्लिक गर्दा फूटबलर मेसी देखिने साइट खुल्छ । १४ लाख फलोअर रहेको फेसबूक पेजमा बाबुरामको वेबसाइट ( baburambhattarai.com) को यूआरएल झुन्ड्याइएको छ । 

null

अरू कसैले आफ्नो डोमेन 'ह्याइज्याक' गरिसक्दा पनि बाबुराम बेखबर छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालको वेबसाइटको हालत पनि उस्तै छ । खनालको फेसबूकपेजमा राखिएको (jnkhanal.com) खुल्दै खुल्दैन । 

सूचना प्रविधिसँग अपडेट रहेका दोस्रो पुस्ताका नेताका वेबसाइटको हालत पनि उस्तै छ । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले पनि वेबसाइट बनाएका छन् ।

फेसबूकमा गगन थापा डटकम डट एनपी वेबसाइटको लिंक राखिए पनि त्यो सञ्चालनमा छैन । (gaganthapa.com.np​) खुल्दैन ।

प्रवक्ता रहेको समयमा पार्टीको वेबसाइटलाई आधुनिक बनाएका कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा (bishwaprakash.com.np) को साइट पनि खुल्दैन ।

१ लाख ८८ हजार फलोअर रहेको विश्वप्रकाशको फेसबूक पेजमा साइटको लिंक झुन्ड्याइएको छ ।

खोल्ने फेसन, छैन अपडेट

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साइट अस्तव्यस्त देखिन्छ । nepalicongress.org  को होमपेजमा शुरूमै रामचन्द्र पौडेलको लेख ‘समाजवादको सान्दर्भिक मीमांसा’ देख्न सकिन्छ, २०७७ साल मंसिरमा कांग्रेस नेताको हैसियतमा लेखेको ।

null

पौडेल राष्ट्रपति बनेको एक वर्ष भइसकेको छ, तर कांग्रेस वेबसाइटमा ‘कांग्रेसको कर्म’ शीर्षकमा राखिएको म्याटरले पौडेल कांग्रेसमै सक्रिय रहेको जस्तो भान हुन्छ । 

कांग्रेसको साइटलाई आधिकारिक मान्ने हो भने राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भइसकेका सुनिल थापा अहिले पनि केन्द्रीय सदस्य छन्, जबकि उनले सल्लाहकार बन्न राजीनामा गरेको बताएका थिए । निधन भएका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको सम्बन्धमा केही अपडेट छैन । 

संसद्को दोस्रो ठूलो दल नेकपा एमालेको साइट (सीपीएन युएमएल) भने अपडेटेड देखिन्छ । वेबसाइटमा पार्टीका गतिविधि तत्कालै अपडेट गर्ने गरिएको छ । काठमाडौंमा जारी केन्द्रीय समिति बैठक उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले दिएको मन्तव्य मंगलवार नै अपडेट गरिएको छ । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर ११ गते माओवादी केन्द्रको वेबसाइटको उद्घाटन गरे ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा तामझामका साथ वेबसाइट ( www.cpnmc.org​) उद्घाटन गरियो ।

‘राष्ट्रका साझा विषयमा राष्ट्रिय एकताको आवश्यकता छ’ लेखिएको नारासहितको फोटो कभरमा राखिएको वेबसाइटमा माओवादीको अधिवेशनका गतिविधि अपडेट गरिएको छ । 

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको साइट अपडेट भएको देखिन्छ । उसले सदस्यता पनि अनलाइनबाटै अपडेट गर्ने गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वेबसाइट rpp.org.np अचम्मको छ । नयाँ सदस्यता र नवीकरणबाहेक अरु सेक्सन साइटमा छैन । होमपेजमा अध्यक्ष राजेन्द्र लिङ्देनको तस्वीर झुन्ड्याइएको छ ।  

जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्नो वेबसाइट https://peoplesocialist.org/ सञ्चालनमा ल्याएको छ । पछिल्लोपटक माघ २७ गते ‘फेरि जसपामै फर्किए प्रदेश सांसद सिंह’ शीर्षकको समाचार अपडेट गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्