
भविष्यमा हुने आवधिक निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नुपर्नेे महामन्त्री गगन थापाको प्रस्ताव महासमिति बैठकबाट सर्वसम्मत पारित भएको छ ।
बिहीवार ललितपुरमा सम्पन्न कांग्रेस महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति सम्बन्धी, महामन्त्री गगनको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
बिहीवार पारित भएको सांगठनिक प्रस्तावमा कांग्रेसका मतदाताले रूखमै मत हाल्न पाउने कुरा सुनिश्चित गर्नुपर्ने उल्लेख छ । ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ गगनको प्रस्तावमा उल्लेख छ ।
एउटा विशिष्ट परिस्थितिमा चुनावअघि गठबन्धन गरिएकाले त्यो ५ वर्ष नै चल्नुपर्छ भन्नेमा इमान्दार भएपनि अब हुने चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने थापाको प्रस्ताव छ ।
कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्तावले हलचल ल्याएको थियो ।
यसले सत्ता गठबन्धनमा खटपट ल्याउने खतरापछि महासमिति बैठक उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने/नगर्ने विषय तत्कालीन परिस्थितिको मूल्यांकनमा आधारमा गरिने बताएका थिए ।
अन्तिम अवस्थामा तयार भएका थिए देउवा
चुनावी गठबन्धनको विषयले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच चर्काचर्की समेत परेको थियो ।
अन्तिमसम्म पनि गगन आफ्नो अडानबाट टसको मस नभएपछि भाषा थोरै नरम बनाएर यो विषयलाई महासमिति बैठकमा प्रवेश दिन देउवा तयार भएका थिए ।
शुरूमा गगनले ‘आगामी चुनावहरूमा गठबन्धन नगर्ने’ भन्ने भाषा लेखेकोमा कांग्रेसका मतदातालाई आफ्नै चिह्नमा मतदान गर्ने व्यवस्था मिलाउने भनेर थोरै नरम भाषा राखिएको थियो ।
शब्द फरक परे पनि अर्थमा खासै फरक परेको देखिँदैन । यसको अर्थ कांग्रेसले अब चुनावी गठबन्धन गर्दैन भन्ने नै रहेको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग बताए ।
कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले पनि रूख चिह्नमा मत नहाल भन्ने अधिकार नेतालाई नभएको लोकान्तरसँग बताएका छन् । उनको आशय पनि आगामी चुनावमा गठबन्धन हुँदैन भन्ने नै देखिन्छ ।
गगनको प्रस्तावले महासमितिमा प्रवेश पाउने भएलगत्तै देउवा वर्तमान गठबन्धनमा असर नपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आश्वस्त पार्न पुगेका थिए ।
प्रचण्डले यसबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर, माओवादी पंक्तिमा भने यसले तरंग ल्याएको छ ।
गगनको प्रस्तावमा छलफल शुरू भएलगत्तै प्रचण्डनिकट माओवादी युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले बुधवार फेसबूकमा स्टाटस लेख्दै कांग्रेसलाई चेतावनी दिएका थिए ।
‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन्, हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो, छाडेको दिन पुड्को हुनुपर्छ,’ सापकोटाले लेखेका थिए ।
माओवादीमा उकुसमुकुस, च्याँखे थाप्दै एमाले
कोशी प्रदेशमा कांग्रेसबाट पटक–पटक धोका भएको र त्यसअघिको आमनिर्वाचनमा पनि मत ‘ट्रान्सफर’ नभएको भन्दै माओवादीभित्र उकुसमुकुस छ । पार्टी बैठकमै यस विषयमा कुरा उठ्दै आएको छ ।
तलबाटै गुनासो आउन थालेपछि केही दिनअघिको केन्द्रीय समिति बैठकमा प्रचण्डले कांग्रेसबाट धोका भएको बताएका थिए ।
‘कांग्रेसले शुरूबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सीटबाट ३२ मा झर्यौं । हामीले इमान्दारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन्,’ प्रचण्डले भनेका थिए, ‘कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुपर्यो । कोशीकै कमरेडहरूले पनि कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्नुभएको छ । राजनीतिकरूपमा हेर्ने हो भने पनि कांग्रेसले प्रधानमन्त्री बनाएको होइन । यसैले पटक–पटक धोका दिँदै आएको कांग्रेससँगको सहकार्य माओवादीका निम्ति विचारणीय प्रश्न हो ।’
यसबीचमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक–पटक भेटवार्ता भइसकेको छ । दोस्रो तहका नेताहरूलाई समेत सहभागी नगराई भएको भेटमा प्रचण्ड र ओलीबीच सकारात्मक ढंगले कुराकानी अगाडि बढेको स्रोतको दाबी छ ।
यस्तो अवस्थामा कांग्रेसले अर्को चुनावमा गठबन्धन नगर्ने निर्णय गर्नुले एमाले–माओवादीलाई फेरि नजिक्याउने सम्भावना बढाएको माओवादीका एक नेताले लोकान्तरसँग बताए ।
‘२०७४ को चुनावमा कांग्रेसको हालत के थियो, हामी सबैले देखेकै हौं,’ ती नेताले भने, ‘२०७९ मा हाम्रै मतको बलमा कांग्रेसले पहिलो दलको हैसियत बनाएको हो । माओवादीलाई यो गठबन्धनले कुनै फाइदा भएको देखिँदैन, आकार झन् घट्न पुगेको छ । अब कांग्रेससँग टाँसिएर बसिरहनुको औचित्य खासै रहँदैन ।’
राष्ट्रिय सभा निर्वाचनसम्म पुग्दा धेरै कुरा ‘क्लियर’ हुन सक्ने उनले बताए । यही फागुन २९ मा निर्वाचित गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका छन् । यही पेरिफेरिमा गठबन्धनमा खटपट आउनसक्ने आशासहित एमाले ‘च्याँखे’ थापेर बसेको नेताहरू बताउँछन् ।
स्रोतका अनुसार चुनावको मुखमा ‘रेस्क्यु’ नगर्ने भन्दै एमालेले मिल्ने भए अहिलेदेखि नै मिल्न माओवादीलाई प्रस्ट सन्देश दिइसकेको छ । ‘पहिले एउटै पार्टी बनाएका पनि हौं । फेरि तालमेल गरेर अगाडि बढ्न समस्या होइन, तर अहिले सत्ताको स्वाद चाखिरहने र अन्तिम समयमा हामीले रेस्क्यु गर्ने भन्ने कुरा राजनीतिक हुँदैन,’ एमालेका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
एक्लै चुनाव लड्ने हैसियत गुमाउँदै गएको माओवादीका लागि कांग्रेसको निर्णयले थप दबाब सिर्जना गरेको विश्लेषण ती नेताले गरे ।