२६ असार २०८३, शुक्रबार
जीवनदर्शन

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०
काठमाडौं
कहाँ चुक्यौँ हामी ?

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ । स्नायु प्रणाली एउटै छ । रक्तसञ्चार प्रणाली एउटै छ । 

श्वासप्रस्वास प्रणाली एउटै छ । आहार प्रणाली एउटै छ । पाचन प्रणाली एउटै छ । विसर्जन प्रणाली एउटै छ । तैपनि मानिस–मानिसको बीचमा यति ठूलो विभेद किन ? कहाँ चुक्यौँ हामी ? कुन चीजले एक अर्कालाई पराई गरायो, भिन्न गरायो हामीलाई ? 

हामी जति शिक्षित भयौँ, संस्कारी भयौँ, सभ्य र शिष्ट भयौँ त्यति नै एकअर्काबाट टाढा हुँदै गएका छौँ । शिक्षा र संस्कारले नजिक ल्याउनुपर्ने हो, एक अर्कोमा समन्वय गराउनुपर्ने हो, त्यो त गरेन नै उल्टै विभेदको खाडल बढाउँदै लग्यो । फलतः जमिन विभाजित हुन पुग्यो । आकाश विभाजित हुन पुग्यो । माटो विभाजित भयो, पानी विभाजित भयो । आफ्नो वशमा नभएर मात्रै नत्र अग्नि, वायु, सूर्यलाई समेत विभाजन गर्न बाँकी राख्ने थिएनौँ । आखिर किन यस्तो ? कहिलेसम्म यस्तो ? के हामी एक हुन सक्दैनौँ ?  सक्नु त पर्ने हो तर सेकेका छैनौँ । त्यसो भए के गर्ने त ? केही पनि नगर्ने । मात्र आफ्नै स्रोतको खोजी गर्ने । आफ्नै मूल घरमा फर्कने । 

हामीले बोटलाई बिर्स्यौं, फलको पछि लाग्यौँ । जराको वास्ता गरेनौँ पातलाई पछ्याउन लाग्यौँ । स्रोतलाई बिर्स्यौं, सम्पत्ति र सम्पदाको पछि लाग्यौँ । यसैले हामीलाई विभाजन गरायो । विभेदको शिकार गरायो । नजिक हुनुपर्छ सबै भन्छन्, तर हुन कोही पनि सकिरहेका छैनौँ । हिजो पनि यस्तै थियो । आज पनि यस्तै छ । हामी जबसम्म स्रोततर्फ फर्कँदैनौँ, मूल घरतर्फ फर्कँदैनौँ तबसम्म हुने यस्तै हो । प्रश्न उठ्न सक्छ, स्रोततर्फ फर्कने भनेको के हो ? कसरी फर्कने हो ? यसका लागि निम्न उदाहरणबाट हेर्नुपर्ने हुन्छ । 

पहिलो कुरा त स्रोतमा फर्कने भनेको मूल घरमा फर्कने भन्ने नै हो, जसलाई हामी प्रकतितर्फ फर्कने पनि भन्न सक्छौँ । मूलमा फर्कने भन्न पनि सक्छौँ । अब आयो कसरी फर्कने भन्ने कुरा । यसका लागि भने केही सैद्धान्तिक कुरामा र केही व्यावहारिक कुरामा ध्यान दिनुपर्ने हुन्छ । 
सैद्धान्तिक कुरामा सरकार, शास्त्र र समाजको भूमिका महत्वपूर्ण हुने गर्छ । सरकार आफैँ तात्नुपर्छ । त्यो पनि एउटा मात्र होइन विश्वभरिकै सरकारहरू । धर्मगुरुहरू तात्नुपर्छ । विश्वभरिकै धर्म गुरु र समाज तात्नुपर्छ संसार भरिकै । यसका लागि सर्वप्रथम विश्वका सरकारहरू गोलमेच सम्मेलनमा बस्नुपर्छ र रामराज्यको अवधारणामा जानुपर्ने हुन्छ । रामराज्यको अवधारणा भनेको यस्तो अवधारणा हो, जहाँ कोही पनि दुःखी हुने छैनन्, कोही पनि रोगी हुने छैनन् । स्वास्थ्य, शिक्षा र न्यायमा समान पहुँच हुन सक्छ । उच, निच, धनी, गरिब, ठूलो सानो भन्ने हुने छैन, जसलाई सायद राजनीतिक पण्डितहरू साम्यवाद भन्ने गर्छन् । 

यसका लागि शिक्षा शुद्धीकरणको योजना चाहिएला, विचार शुद्धीकरणको योजना चाहिएला, व्यवहार शुद्धीकरणको योजना चाहिएला । हावा, पानी, माटो शुद्धीकरणको योजना चाहिएला । योग, ध्यान, आयुर्वेदीय उपचार पद्धतिको योजना चाहिएला । सोही अनुसारको स्कूल, क्याम्पस, विश्वविद्यालय चाहिएलान्,  पाठ्यक्रम, पाठ्यपुस्तक र जनशक्ति चाहिएलान् यस्तैयस्तै ।  

शास्त्रको कुरा पनि त्यस्तै हो । अहिलेसम्म शास्त्रले पितृदेवो भव, मातृदेवो भव, आचार्य देवो भव, अतिथि देवो भव भन्दै आयो । यी हजारौँ वर्ष पहिलेका भनाइ हुन्, विचार हुन्, व्यवहार हुन्  । अहिलेसम्म नदीनालामा धेरै पानी बगिसक्यो । अब त्यतिले मात्र पुगेन, त्यतिले मात्र काम चलेन । परस्पर देवो भवको विचार र व्यवहार लागू गर्नुपर्ने भएको छ, जसमा सबै धर्म गुरुहरूको सहमति आवश्यक पर्ने देखिन्छ ।  

अब आयो समाजको कुरा । समाजले पनि अहिलेसम्म विजयी भव भन्दै आयो । पुर्खाले यही सिकाए । हामीले त्यही सिक्यौँ, जान्यौँ । यस्तै अवस्था रहेमा भविष्यमा भन्ने पनि यही हो, गर्ने पनि यही हो, जसले अहिले जस्तै अस्वस्थ प्रतिस्पर्धाबाहेक केही गर्ने गर्नेवाला छैन । यसैका कारण हामी सबैलार्ई जसरी भए पनि जित्नै पर्ने भएको छ । फलतः राजनीति बिग्रेको छ । समाजन बिग्रेको छ, संस्कार बिग्रेको छ, संस्कृति बिग्रेको छ । छिमेकीको भन्दा राम्रो देखिन खोज्नु राम्रो हो । 

छिमेकीको भन्दा राम्रो घर बनाउन खोज्नु पनि राम्रै हो, तर यसैका निम्ति छिमेकीको घरमा कालो पोत्न जानु भने राम्रो होइन । तर अहिलेसम्म यही हुँदै आएको छ । अब यसले भएन । त्यसैले विजयी भवको सट्टा समन्वयी भवको धारणा विकास गर्नै पर्ने भएको छ । 

लाग्छ शुरूमा यतिमा मात्र ध्यान दिन सके पनि धेरै नै हुनेछ । यसैले नै मूल घरमा फर्कन, स्रोतमा फर्कन सहयोग पुर्‍याउनेछ । बाँकी त अवस्था र आवश्यकताअनुसार आफैँ थप हुँदै जाने कुरा हो । अस्तु अहिलेलाई यति नै ।

salt training

कमेन्ट गर्नुहोस्