
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन् । यसअघि कांग्रेस-माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो ।
हाल सुदूरपश्चमसहित लुम्बिनी, गण्डकी र कोशीमा कांग्रेस नेतृत्वमा सरकार छन् । यस्तै, कर्णाली र बाग्मतीमा माओवादी र मधेशमा जसपाको सरकार छ ।
मधेश र माओवादीले नेतृत्व गरेका दुई प्रदेशबाहेक अन्यमा प्रदेश सरकार तत्काल सरकार फेरिने देखिएको छ । कांग्रेसले नेतृत्व गरेका प्रदेश सरकार फालेर आलोपालो नेतृत्व गर्ने समझदारी एमाले र माओवादीले गरेका छन् ।
कोशीको सरकार भने विस्थापन गर्न संवैधानिक जटिलता छ । कोशीमा संविधानको धारा १६८ (५)अनुसारको सरकार बनेकाले मुख्यमन्त्री आफैंले राजीनामा नदिएसम्म सरकार परिवर्तन सहज छैन ।
मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेमा मध्यावधिमा जानसक्ने अधिकार संविधानले नै दिएको छ । सोही कारण कोशीको सरकार भने तत्काल ढल्न गाह्रो छ ।
गत पुस १० मा बनेको गठबन्धनअनुसार बनेका प्रदेश सरकारहरू पछि कांग्रेसहितको गठबन्धन बन्दा फेरबदल भएका थिए ।
कुन प्रदेशमा कसको कति सिट ?
कुनै पनि प्रदेशमा कसैको एकल बहुमत छैन । अहिलेको अवस्थामा सबै प्रदेशमा एमाले र माओवादीसहितका नयाँ सत्ता साझेदार दलहरू बहुमतमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश निर्वाचन प्रक्रियामा भाग लिएको थिएन । गठबन्धनमा एमाले र माओवादीसहित जसपालगायत छन् ।
कोशीमा एमाले पहिलो दल हो । कोशीमा एमालेसँग ४० सीट छ । दोस्रो दल कांग्रेससँग २९ सीट छ ।
माओवादी केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग चार र राप्रपासँग ६ सीट छ । जसपासँग एक सीट छ । ९३ प्रदेश सभामा सरकार बनाउन ४७ जना सीट चाहिन्छ । कोशीमा एमाले-माओवादीको बहुमत छ । तर, संवैधानिक जटिलताले तत्काल सरकार बदल्न सम्भव छैन ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसद चाहिन्छ । मधेसमा पनि पहिलो शक्ति एमाले नै हो । एमालेसँग २३ सीट छ । दोस्रो दल कांग्रेससँग २२ सांसद छन् । माओवादी केन्द्रसँग आठ सीट, एकीकृत समाजवादीसँग सात सीट छ । जसपासँग १६, जनमत पार्टीसँग १३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ९ सीट छ । यहाँ ६ जना स्वतन्त्र सांसद छन् । मधेशमा नयाँ गठबन्धनकै बहुमत छ ।
११० सदस्यीय वाग्मती प्रदेश सभामा सरकार बनाउन ५५ सीट चाहिन्छ । वाग्मतीमा कांग्रेस ३७ सीटसहित पहिलो दल हो । दोस्रो दल एमालेसँग २७ सीट छ । माओवादीसँग २१, एकीकृत समाजवादीसँग सात, राप्रपासँग १३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग तीन र हाम्रो नेपाल पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा)सँग एक–एक सीट छ । बाग्मतीमा एमाले-माओवादी मात्रै मिले सरकार बन्छ ।
कुल ६० प्रदेश सभा रहेको गण्डकीमा कांग्रेससँग २७ सीट छ । एमालेसँग २२, माओवादीसँग आठ सांसद छन् । एकीकृत समाजवादी र नेसपासँग एक–एक सीट छ । गण्डकीमा सरकार बनाउन ३० सांसदको साथ चाहिन्छ । सत्ता गठबन्धनसँग गण्डकीमा ठ्याक्कै ३० सांसद छन् ।
लुम्बिनी प्रदेशमा कुल ८७ प्रदेश सभा सदस्य छन् । यहाँ सरकार बनाउन ४४ सीट आवश्यक पर्छ । लुम्बिनीमा एमालेसँग २९ सीट छ । कांग्रेससँग २७ सीट छ । लुम्बिनीमा माओवादीसँग ९ र राप्रपासँग चार सीट छ । जसपा, जनमत र लोसपासँग समान तीन–तीन सीट छ । नागरिक उन्मुक्ति पार्टीसँग चार र तीनजना स्वतन्त्र सांसद छन् ।
कर्णाली प्रदेशमा २० सीट भए सरकार बन्छ । कुल ४० सदस्यीय प्रदेश सभामा कांग्रेस पहिलो दल हो । कांग्रेससँग १४ सीट छ । एमालेसँग १० र माओवादीसँग १३ सीट छ । यस्तै, एकजना स्वतन्त्र सांसद छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १९ सीट छ । माओवादीसँग ११ र एमालेसँग १० सीट छ ।
नागरिक उन्मुक्ति पार्टीसँग सात र एकीकृत समाजवादीसँग चार सीट छ । एक स्वतन्त्र सांसद छन् । सुदूरपश्चिममा सरकार बनाउन कम्तीमा २७ सांसद चाहिन्छ ।