०९ असार २०८३, मंगलबार
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

इलाम २ : ढुक्क एमाले, रणनीतिक कांग्रेस, चक्मा दिने रास्वपा र पहिचानवादीको प्रयास

चैत २६, २०८०
काठमाडौं
इलाम २ : ढुक्क एमाले, रणनीतिक कांग्रेस, चक्मा दिने रास्वपा र पहिचानवादीको प्रयास
तस्वीरमा शुरूबाट क्रमश: सुहाङ, डम्बर, मिलन र डकेन्द्र

नियमित निर्वाचनको डेढ वर्षपछि आगामी वैशाख १५ गते हुने इलाम– २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर प्रमुख दलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । 

गत निर्वाचनमा सनसनीपूर्ण नतिजा निकालेपछि गत वैशाखमा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन र तनहुँमा झन् ठूलो दबदबा बनाएको थियो । रास्वपा इलाममा पनि यही सिलसिलालाई दोहोर्‍याउने दाबी सहित मैदानमा उत्रिएको छ । इलाममा परम्परागत राजनीतिक शक्ति कांग्रेस र एमालेलाई परास्त गरेर जित्न सके २०८४ को चुनावका लागि ठूलो सन्देश दिन सकिने उसको सोचाइ देखिन्छ । तर, कांग्रेस–एमाले पनि आफ्नो प्रभावलाई कायमै राख्ने ध्याउन्नमा छन् ।

इलाम उपनिर्वाचनमा उम्मेदवारी मनोनयन अगाडि कांग्रेस, एमाले, रास्वपासहितका दलले नेता पठाएरै आफूहरूको अनुकूलता र प्रतिकूलता बुझेका थिए । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको थियो । एमालेले प्रदेश र जिल्ला कमिटीबाट आफ्नो स्थिति बुझेको थियो । रास्वपाका भने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेता केही समय बसेरै इलामबाट फर्किएका थिए ।

यसैले उम्मेदवारीपछि केही दिन प्रचारप्रचार गर्ने, स्थिति हेर्ने र आवश्यकताअनुसार प्रभावशाली नेतालाई अन्तिम प्रचारका लागि चुनावी मैदानमा उतार्ने तयारी दलहरूको देखिन्छ । सुवास नेम्वाङको बलियो विरासत भएको ठाउँमा आफू फेरि हावी हुने एमालेको दाबी छ । उसले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । 

आफ्नो बलियो आधार इलाकामा अरू दलले धेरै मेहनत गरिरहँदा एमाले जित्नेमा ढुक्क देखिन्छ । नेम्वाङको विरासत बोेकेको क्षेत्रमा उनकै छोरा उम्मेदवार हुँदा जित्न सहज हुने उसको दाबी छ ।

एमाले सचिव योगेश भट्टराई आफूहरूको बलियो विरासत र प्रभाव रहेको ठाउँमा सहजै चुनाव जित्ने दाबी गर्छन् ।

‘तथ्यांकमा पनि एमाले इलाममा बलियो रहँदै आएको छ । यसपटक माओवादीको उम्मेदवार नहुँदा उहाँहरूको पनि सहयोग रहन्छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘यसैले इलाममा एमालेले जित्नेमा कुनै सन्देह नै छैन ।’ 

केन्द्रीय राजनीतिमा पकड र प्रतिष्ठा जमाएका नेम्वाङका छोरा सुहाङ उठेकाले कठिन नहुने बुझाइ एमालेको देखिन्छ । गत निर्वाचनमा सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । गत भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि हुन लागेको उपनिर्वाचनमा यसपटक सहानुभूतिको भोटसमेत बटुल्ने आशामा एमाले देखिन्छ ।  

पार्टीको प्रचारप्रचारका लागि केन्द्रबाट कुनै नेताविशेष नखटिए पनि जिल्ला र प्रदेश कमिटीले प्रभावकारी समन्वय गरिरहेको उनी बताउँछन् । ‘पार्टीले केन्द्रबाटै नेतालाई विशेष कमान्डार बनाएर खटाएको छैन । तर, हाम्रो जिल्ला र प्रदेश कमिटीले निरन्तर खटिइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि केही दिनमा इलाम पुग्नुहुनेछ । अरू नेता पनि आवश्यकताअनुसार पुग्नुहुन्छ ।’

कांग्रेसबाट अघिल्लोपटक ११४ मतले पराजित भएका डम्बरबहादुर खड्का नै उम्मेदवार बनेका छन् । पहिचानका मुद्दा उठाउने, पारिवारिक विरासत बोक्ने र दल फेरेर उम्मेदवार उठाउनेविरुद्ध हावी हुने रणनीतिमा कांग्रेस लागेको प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । 

‘इलाममा हामी अघिल्लोपटक राष्ट्रिय व्यक्तित्वसँग थोरै मतले पराजित भएका थियौं । तर, यसपटक हामीले अनुभवी र प्रतिस्पर्धी उम्मेदवारलाई नै मैदानमा उतारेका छौं,’ विश्वकर्मा भन्छन्, ‘अरू उम्मेदवारको प्रकृति, सामाजिक–सांस्कृतिक दृष्टि र पहिचानको मुद्दाका परिस्थिति गर्दा कांग्रेस यसपटक इलाममा बलियो बनेको छ ।’

माओवादीका नेता रास्वपामा गएर उठेको र पहिचानवादीले पनि नरुचाएकाले स्थिरता र सर्वमान्यताका लागि कांग्रेस उम्मेदवार जित्ने दाबी विश्वकर्माले गरे । 

यसअघि जस्तै धेरै नेताको भीड लगाउनेभन्दा सन्तुलन मिलाएर रणनीतिक हिसाबले नेतालाई इलाम बोलाउने विश्वकर्मा बताउँछन् । 

‘केही दिनदेखि हामी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा इलाममै छौं । उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला पनि आउँदै हुनुहुन्छ । पहिलो हप्ता कार्यक्रम गर्नेगरी महामन्त्री गगन थापा पनि २८ चैतमा इलाम आइपुग्नुहुन्छ,’ विश्वकर्माले भने, ‘पदको हिसाबले भन्दा पनि छानेर रणनीतिक हिसाबले आवश्यकताअनुसार कसलाई किन बोलाउने, हेरेर अभियानमा खटाउँछौं ।’ 

सहमहामन्त्रीहरू बद्री पाण्डे र भीष्मराज आङदेम्बे पनि इलाम पुगिसकेका छन् । उम्मेदवार चयनका क्रममा इतर पक्षले असन्तुष्टि जनाए पनि देउवाले सोही समूहका नेतालाई जिम्मेवारी दिएर इलाममा खटाएको नेताहरू बताउँछन् । 

रास्वपाबाट मिलन लिम्बू उम्मेदवार बन्ने पक्का भएसँगै रास्वपाका शीर्ष नेताको भीड इलाममा लागिसकेको छ । सभापति रवि लामिछाने इलाम पुगेर फर्किसकेका छन् । 

उम्मेदवारी मनोनयनका दिन उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद निशा डाँगीसहितका नेता इलाम पुगेका थिए । 

रास्वपाले बुर्लाकोटीलाई इलाममा खटाएको छ । उनी केही समयदेखि चुनावी अभियानमा व्यस्त छन् । इलाममा यतिखेर सबैभन्दा आक्रामक प्रचारप्रसारमा रास्वपा नै उत्रिएको छ । 

माओवादी पृष्ठभूमिका इलामकै रैथानेलाई उम्मेदवार बनाउँदा जित्ने दाबी रास्वपाको छ । जित्नेमा ढुक्कजस्तो देखिएका कांंग्रेस र एमालेलाई चक्मा दिने रणनीतिक अनुरूप रास्वपा चुनावी प्रचारमा होमिएको नेताहरू बताउँछन् । प्रचारमा खटिएका सहमहामन्त्री बुर्लाकोटी अपेक्षा गरिएभन्दा पनि इलाममा रास्वापको माहोल राम्रो रहेको बताउँछन् । 

‘हामी उपनिर्वाचनका लागि लामो तयारी गरेर इलाम आएका छौं । सभापतिहरू आएर फर्किनुभयो । हामी नियमित प्रचारप्रसारमै जुटेका छौं,’ बुर्लाकोटीले लोकान्तरसँग भने, ‘मंगलबारसम्ममा सभापतिसहितका नेताहरू को–को चुनावी प्रचारमा आउनुहुन्छ, टुंगो लाग्छ । प्रचारका क्रममा नागरिकस्तरबाट पाएको प्रतिक्रियाले हामी उत्साही छौं । इलाममा हामीले सोचेकोभन्दा पनि राम्रो परिस्थिति छ ।’ 

रास्वपाका सह–प्रवक्ता रमेश प्रसाईं जनताको जीवनस्तर परिवर्तनका लागि पनि नेता र नेतृत्व फेरिनुपर्ने बताउँछन् । 

‘जनताको जीवनमा परिवर्तन ल्याउन, आफ्नो ठाउँमा नागरिकले नंग्रा खियाउने वातावरणका लागि नेता र नेतृत्व फेर्नैपर्छ,’ उनी भन्छन्, ‘त्यसैले यसपटक इलाममा रास्वपाले घण्टी बजाउँछ ।’ 

२४ गते उम्मेदवारी मनोनयन गरेपछि नेता प्रसाईं चुनावी प्रचारमा खटिइरहेका छन् । केही दिनमा अन्य शीर्ष नेताहरू पनि इलाम जाने रास्वपाका नेताहरू बताउँछन् । 

पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बनेका छन् । कोशी नामकरणविरुद्ध आन्दोलनमा लागेका विभिन्न ४१ वटा संस्था, जसपा, नेपाल समाजवादी पार्टीसहितको पनि समर्थन थेगिमलाई छ । जसपाका नेता रकम चेम्जोङसहितका नेताले पहिचानवादी थेगिमलाई जिताउन अपिल गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्