२९ जेठ २०८३, शुक्रबार

विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री

बैशाख ९, २०८१
काठमाडौं
विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री

पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन् ।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।

'युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ', प्रधानमन्त्री प्रचण्डले भने, 'मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।'

विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।

विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको उनको भनाइ थियो ।

'खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्‍याएको योगदान प्रशंसनीय छ', उनले भने ।

प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन शुरू गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्