०९ असार २०८३, मंगलबार
चुनावी 'ग्राउन्ड जिरो'

इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !

बैशाख ९, २०८१
विराटनगर
इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारको समय सकिन लागेको छ ।

सोही कारण उम्मेदवारहरूले रातको समयलाई समेत चुनावी प्रचारमा प्रयोग गर्न थालेका छन् । १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

एमालेले संविधानसभा अध्यक्ष समेत रहेका यही क्षेत्रका निवर्तमान सांसद सुवास नेम्वाङका छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको छ ।

बुवाको विरासत थाम्नका लागि चुनावी मैदानमा होमिएका सुहाङ बुवाकै शैलीमा जनतामाझ प्रस्तुत भइरहेका छन् ।

युवा व्यक्तित्व, मीठो बोली, अग्रजहरूलाई सम्मान गर्ने शैली आदिका कारण सुहाङ चुनावी मैदानमा अलग देखिन्छन् ।

null

उनी बिहान ७ बजे नै चुनावी मैदानमा निस्किन्छन् । व्यस्तताका कारण रातको सुताइ करिब ५ घण्टाको हाराहारीमा मात्र हुन्छ ।

सुहाङको चुनावी कमान्डर बनेका छन्, एमालेका कृष्ण काफ्ले र माओवादीका धीरेन्द्र शर्मा ।

सुहाङ बिहान ७ बजे पपकर्न, पाउरोटी र कालो चिया खाएर चुनावी अभियानमा निस्किन्छन् । व्यस्तता यति छ कि दैनिक २२ देखि २५ वटा सम्म कोण सभालाई सम्बोधन गर्ने गरेका छन् ।

सानो र मीठो स्वरमा बोल्ने सुहाङले युवायुवतीसँग सेल्फी खिच्ने र बुढाबुढीसँग आशीर्वाद लिने गरेका छन् । किरियापुत्री र बिरामी भएकासँग उनी भोट माग्दैनन् ।

‘परिवारका सदस्य तथा अभिभावक गुमाएकाहरूसँग मैले भोट माग्ने गरेको छैन,’ उनले लोकान्तरसँग भने, ‘मरिमराउ भएको घरमा सहानुभूति दिन जान्छु । बिरामी भएकाहरूलाई स्वास्थ्यलाभको कामना गर्दै आशीर्वाद लिन्छु ।’

null

कोणसभामा जम्मा ३ मिनेट भाषण

सुहाङले एउटा कोणसभामा सरदर ३ मिनेट बोल्ने गरेका छन् । आफ्ना योजना सुनाउँछन्, कसैलाई गाली गर्दैनन् ।

चुनाव प्रचारमा खटिएका नेताहरूका अनुसार एमालेको उम्मेदवारसँगै सुवासको छोरा भनेर उनलाई सहानुभूति दिनेको भीड लाग्ने गरेको छ । उनले पनि आफूलाई सुवासको छोरा भनेर चिनाउने गरेका छन् ।

null

यो क्षेत्रमा यसअघि पनि एमालेको उम्मेदवारभन्दा सुवास भनेर चिन्ने गरेको इलाम– ११ का ५६ वर्षीय भीमबहादुर नेम्वाङले बताए । उनलाई मतदाताले बुवाजस्तै इमान्दार बन्नु भनेर माला लगाइदिने गरेका छन्  । 

इलाम २ मा सुवासको ब्रान्डलाई सुहाङले राम्ररी ‘क्यास’ गरेका छन् । बुवाले गरेका काम उल्लेख गर्छन् र अधुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता जनाउँछन् ।

गाडीबाट पनि हात हल्लाउँदै नमस्ते गर्ने गरेका छन् । 

null

सुहाङलाई नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले समेत समर्थन गरेका छन् । उनीहरूलाई साथमै लिएर हिँड्ने गरेका सुहाङले वामपन्थी एकताको आधार बन्दै गएको बताउने गरेका छन् । मिडियाहरूलाई भने उनी खासै प्रतिक्रिया दिँदैनन् ।

बिहान ७ बजे नै अभियानमा निस्किने उनको खाना खाने समय दिउँसो १ बजेपछि मात्र जुर्छ । ‘बिहानको खाना १ बजेपछाडि मात्रै खाइरहेका छौं’,  उनीसँगै प्रचारमा हिँडेका हेमन्त आचार्यले भने, ‘रातिको सुताइ पनि १ बजे मात्रै हुने गरेको छ ।’

राई लिम्बूलाई भेट्दा सेवारो, अन्यलाई भेट्दा नमस्कार र वृद्धवृद्धालाई भेट्दा शीर निहुराएर आशीर्वाद लिने उनको शैली छ । अभियानका क्रममा भेटिने अधिकांशले सुहाङलाई भतिज भन्ने गरेको पाइयो ।

सुहाङले शनिबार बिहान इलाम– ११ को राकसेबाट अभियान शुरू गरेका थिए । त्यसपछि सिम्ले, कात्तिके, बेलासे हुँदै २२ ठाउँमा कोण सभा गरेका थिए । 

null

अन्य दलका उम्मेदवार पनि चुनावी मैदानमा लागिरहेका छन्  । कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र डकेन्द्र थेगिमले पनि चुनावी प्रचारलाई तीव्र बनाएका छन् । 

एकीकृत समाजवादीका जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मीनबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीसमेत चुनावी प्रचारमा लागेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।  

मुख्य प्रतिस्पर्धा एमाले, कांग्रेस, रास्वपा र पहिचान पक्षधरबीच हुने चर्चा भए पनि सुहाङ चर्चा अलि बढी नै पाइयो । सुवास नेम्वाङको छोरा मात्र भन्दा पनि उनको आफ्नै व्यक्तित्का कारण समेत आकर्षण बढेको देखियो ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका  इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ गरी ४२ वटा वडा समेटिएका छन् । यो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्