रेडियो नेपालको दिनप्रतिदिन नाटक, विभिन्न गीतका म्युजिक भिडियो, सानो पर्दाका टेलिचलचित्र तथा चलचित्रका पर्दामा देखिने सुरवीर पण्डितलाई नेपाल टेलिभिजनमा प्रसारण भएको हास्यव्यंग्यात्मक टेलिसिरियल ‘मेरी बास्सै’ले ‘दाह्री बा’ का रूपमा चिनायो । अभिनय क्षेत्रमा लागेको तीन दशकसम्म उनले यो क्षेत्रमा कैयौं उतारचढाव पनि बेहोरेका छन् ।
कहिलेकाहीँ उनलाई कलाकार नभएको भए हुन्थ्यो भन्ने पनि लाग्छ । प्रायः उस्तै भूमिकामा देखिने सुरवीरले लोकान्तरसँगको भेटमा आफ्ना जिन्दगीका तीतामीठा कुराहरू समेत साटे ।
त्यतिबेला धेरै टिभी च्यानलहरू थिएनन् । नेपाल टेलिभिजनबाट सन्तोष पन्तको निर्देशनमा हास्यशृङ्खला ‘हिजोआजका कुरा’ प्रसारण हुन्थ्यो ।
कलाक्षेत्रमा सुरवीरका कोही आफन्त थिएनन् तर त्यसबेलामा चलचित्र खुबै हेर्ने गर्थे सुरवीर । चलचित्र हेरेपछि कलाकारको जस्ताको तस्तै नक्कल गरेर साथीलाई सुनाउँथे, देखाउँथे । उनको अभिनयको प्रशंसा गर्दै साथीहरूले पनि कलाकार बन्ने सुझाव दिन्थे । उनले खोजेको नै यही थियो त्यसबेला ।
तिनताका शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, सरोज खनाल लगायतका अभिनेता चर्चामा थिए । ऐनामा हेर्दा पनि आफूलाई नायकभन्दा कम छैन भन्ने लाग्थ्यो सुरवीरलाई तर कलाकार बन्न कहाँ सहज थियो र त्यसबेला पनि । ती पुराना संघर्षका दिनलाई स्मरण गर्दै उनी भन्छन्, ‘लौ न हजुर, कलाकार बन्नुप–यो भन्दै धेरै ठाउँमा पुगेको छु, कैयौं हण्डर ठक्कर खाएको छु ।’
त्यसबेला सिनेमाका निर्माता, निर्देशकसँग एउटा भूमिकाका लागि उनी धाउँथे । प्रायः निर्माता तथा निर्देशकले अनुभव नभएको भन्दै अर्को निर्देशकको नाम सुझाउँथे । फेरि उनी त्यतै दौडिन्थे । यसरी डुल्दै जाँदा एकदिन उनको भेट रमेश बुढाथोकी र कृष्ण मल्लसँग भयो ।
उनीहरूले पहिलेबाट सिरियलमा काम गरिरहेका थिए । त्यही समूहमा सुरवीरले काम गर्ने मौका पाए । मल्ल र बुढाथोकीले त्यतिबेला स्टेज नाटक समेत गर्थे । त्यही समूहले निर्माण गर्ने टेलिनाटक ‘कोसँग जुधौं’ मार्फत पहिलोपटक आफ्नो अभिनय यात्रा शुरु गरे सुरवीरले ।
पहिलोपटक क्यामेरा अगाडि उभिएर अभिनय गर्दा उनको होश उडेको थियो । भन्छन्, ‘म यति डराएँ कि, स्क्रिप्ट हेरेर पनि संवाद पढ्न सकिनँ ।’
कतिपय भूमिका गर्दा उनलाई अहिले पनि डर लाग्छ । मध्यमवर्गीय परिवारको भूमिका गर्न सहज लागेपनि फरक चरित्र निर्वाह गर्दा अहिले पनि डर लाग्ने उनी बताउँछन् ।
उनको पहिलो कमाइ कति थियो भन्ने कुरा त उनलाई याद छैन । त्यसबेलामा (४० को दशकमा) अभिनय गर्न पाउनु नै ठूलो मौका जस्तो लाग्थ्यो । तर अहिले जस्तो पर्याप्त मिडिया थिएनन् त्यसबेलामा, रेडियो नेपाल र नेपाल टेलिभिजनबाहेक ।
२०४३ को साउनमा शूटिङ भएको टेलिनाटक कार्तिक २२ मा प्रसारण भएको थियो । ‘त्यसबेला पनि स्वर्गीय रानी ऐश्वर्या राज्यलक्ष्मी शाहको जन्मदिन पारेर प्रसारण भएको थियो ।’ अहिले जस्तो टेलिभिजन नभएकाले पनि त्यसबेला स्थापित कलाकारको महत्व थियो । नवकलाकारलाई गाह्रो थियो ।
चालीसको दशकमा दुई तीन वर्षको अन्तरालमा चलचित्र बन्थ्यो । काठमाडौंमा पनि त्यति धेरै सिनेमा हल थिएनन् । जम्मा पाँचवटा हल भएकोमा सबै हलमा लामो समयसम्म चलचित्र चलिरहन्थे ।
टेलिचलचित्र, रेडियो नाटक, म्युजिक भिडियो तथा केही सिनेमामा अभिनय गरेपनि उनलाई ‘मेरी बास्सै’ले दाह्री बाका रूपमा चिनायो । यसरी एउटै नामले चिनिँदा अरू पात्रमाथि अभिनय गर्दा ती पात्रहरू ओझेलमा परेका हुन् कि भन्ने लाग्छ उनलाई ।
शूटिङ नभएको समयमा उनी आफ्नो घरमा समय बिताउँछन् । पुर्ख्यौली पेशा खेतीकिसानीमा उनी रमाउँछन् ।
काठमाडौंको शिवपुरीमा जन्मिएका सुरवीर केटाकेटी हुँदा चकचके थिए । पढ्नमा मध्यम । घरबाट पढ्न जाने निहुँमा चामल चोरेर सिनेमा हेर्न जान्थे । सिनेमा नै उनका लागि पढाइ बनिसकेको थियो ।
२०३८ सालतिर काठमाडौं त्यति विकसित थिएन । नदीको पानी शुद्ध हुन्थ्यो । प्रदूषण थिएन । चक्रपथमा कति गाडी गुडे भनेर गन्न सकिन्थ्यो । उनी आफ्नो बाल्यकाल सम्झँदै भन्छन्, ‘त्यसबेलामा सबैका हातमा अहिले जस्तो मोबाइल र टिभी हुँदैनथे । तर त्यतिखेर काठमाडौं साह्रै सुन्दर थियो ।’
कक्षा सात/आठतिर पढ्दा नै उनी चलचित्र संस्थान, रेडियो नेपाल, निर्माता, निर्देशकको दैलोमा पुगिसकेका हुन्थे । विद्यालयस्तरको पढाइ पूरा गरेपछि भने उनी कलाकारिताकै लागि भनेर यो क्षेत्रमा पहिचान खोजीका लागि लागिरहे ।
त्यसबेला पैसा पनि हुँदैनथ्यो । घरमा भएको रोटी र मकै झोलामा हालेर हिँड्दै काठमाडौंसम्म आउँथे । बसभाडा पनि नभएको १८ वर्षे युवालाई निर्माता, निर्देशकको दैलो डुल्न पक्कै सहज थिएन ।
घरमा पैसा कमाउने बाध्यता थियो । उनी भने अभिनयको खोजीमा हुन्थे । त्यसबेलामा उनी तीनपटक एकतर्फी प्रेममा पनि परे । दोहोरो मायामा पर्न भने उनलाई जुरेको रहेनछ । उनी भन्छन्, ‘अरूले प्रेम गर्नका लागि आफू केही न केही कुरामा अब्बल हुनैपर्छ । मध्यमखालको मान्छेले मनमनै प्रेम ग–यो, बस्यो ।’
तीस दशक लामो अभिनय यात्रामा सयौं अभिनय गरेपनि आफूले अझैसम्म जीवन्त अभिनय गर्न नसकेको गुनासो गर्छन् । ‘अभिनय त गरियो तर पुस्तौं पुस्ताले याद गर्ने खालको भूमिकामा अझै पनि अभिनय गर्न सकिएको छैन ।’
उनी मुसुक्क हाँस्दै थप्छन्, ‘कुनै ऐतिहासिक काम गर्ने सकियोस्, पुस्तौंपुस्ताले याद गरून् ।’उनी थिन्लेको उदाहरण दिँदै आफूलाई पनि त्यस्तै जीवन्त अभिनय गर्न मन लागेको बताउँछन् ।
पछिल्लो समय कामको खाँचो परेको छैन उनलाई । सन्तोषजनक कामहरू पाइरहेकै छन् । तर दुई लाख जति त अभिनय गरेको उधारो पैसा उठाउन मात्र छ भन्छन् सुरवीर । केही चलेका कलाकारको नाम किटान गर्दै उनी सुनाउँछन्, ‘आफ्नो के समस्या परेको हुन्छ, काम परेर उधारो पैसा माग्यो, हाँसेर टार्छन् ।’
कमाइको हिसाबले पहिलेभन्दा अहिले उनले धेरै राहत पाएका छन् । संघर्षका शुरुवाती दिनमा आफूले एक सयदेखि महिनामा ८ सयसम्म कमाएर चित्त बुझेको बताउँछन् । अहिले काम हेरेर सबैले राम्रो पारिश्रमिक दिनुहुन्छ भन्छन् सुरवीर ।
प्रतिभावान् कलाकारलाई यो क्षेत्रमा जतिपनि मौका छन् भन्ने लाग्छ उनलाई । आफू कसरी राम्रो कलाकार बनूँ भन्ने सोच्दासोच्दै आफ्नो परिवारको लागि समय दिन नपाएको हो कि भन्ने लाग्छ उनलाई ।
‘मिहिनेत गरेर यो क्षेत्रमा केही चिनिने मौका पाएपनि छोराछोरीका आँखामा म राम्रो बुबा हुन सकिनँ कि भन्ने लाग्छ ।’ उनी थप्छन्, ‘हिसाब नै गर्ने हो भने छोराछोरी तथा परिवारका लागि केही गर्न सकेको छैन ।’
आफ्ना साथीहरूले सरकारी जागिरेको पेन्सन पकाएर आरामले बसेको देख्दा कहिलेकाहीँ त किन मैले यो क्षेत्र रोजें हुँला भन्ने पनि लाग्छ उनलाई । कलाकार नबनेको भए सरकारी जागिरे हुन्थें भन्ने लाग्छ उनलाई । कलाकारिता गर्दा नै नेपाल विद्युत् प्राधिकरणमा जागिरको मौका आएको थियो । उनले अस्वीकार गरे ।
पछि रेडियो नाटक गर्दैगर्दा मदनदास श्रेष्ठले जागिरका लागि पहल गरिदिन्छु भन्दा पनि उनले अस्वीकार गरे । ‘म रेडियो, टिभी लगायत जताततै अभिनय गर्न चाहन्थें,’ उनी थप्छन्, ‘स्वतन्त्र भएर काम गर्ने मेरो इच्छा भइरह्यो ।’
अहिले पनि उनको पहिलो प्राथमिकता अभिनय नै हो ।
कलाकारिताबाट थाकेका पनि छैनन् उनी । घरमा कोही बिरामी हुँदा अरू सदस्यलाई जिम्मा लगाएर काममा खटिन्छन् । आफूले लेखन, निर्देशन गर्न नसकेपनि अभिनयमार्फत यो क्षेत्रमा लागिरहने उनको इच्छा छ ।
अहिले पनि उनी चलचित्र, टेलिसिरियल र विज्ञापनमा छाइरहेका हुन्छन् ।
Advertisment
Advertisment