०३ असार २०८३, बुधबार

कपिलवस्तुमा पूर्वराजदूत र पूर्वकमाण्डरको रोचक भिडन्त, कसले मार्ला बाजी ? [भिडियो अन्तर्वार्ता]

कपिलवस्तुमा पूर्वराजदूत र पूर्वकमाण्डरको रोचक भिडन्त, कसले मार्ला बाजी ? [भिडियो अन्तर्वार्ता]

पकडी, कपिलवस्तु १३ मंसिर- पूर्वराजदूत दीपकुमार उपाध्याय र तत्कालिन माओवादी जनमुक्ति सेनाका कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव) बीचको प्रतिष्पर्धाका कारण कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी रौनक रोच बनेको छ । 

नेपाली कांग्रेसका नेता उपाध्याय भारतको लागि नेपाली राजदूतको पद त्यागेर चुनावी मैदानमा होमिएका छन् । उनको आगमनले आफूहरु उत्साहित भएको कपिलवस्तुका मतदाताले लोकान्तरसँग वताए । 
२०६४ सालको संविधानसभा निर्वाचनमा उपाध्याय कपिलवस्तु १ बाट विजयी भएका थिए । २०७० सालको संविधानसभा चुनावमा उपाध्याय र माओवादी केन्द्रका स्थायी समिति सदस्य खनाल दुवै पराजीत भए । उपाध्ययाले थोरै मतले हारे ।

खनाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको समयमा उनका राजनीतिक सल्लाहकार थिए । वामपन्थी गठबन्धनबाट चुनावी मैदानमा रहेका खनाललाई नेकपा एमालेको समर्थन छ । 
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार कपिलवस्तुका विभिन्न क्षेत्रमा भएका सभालाई सम्वोधगर्दै दीपकुमारको पक्षमा मत मागे । 

अन्य ठाउँमा जस्तै कपिलवस्तुको कार्यक्रममा पनि देउवाले वामपन्थी गठबन्धनले चुनाव जिते मुलुकमा अधिनायकवाद आउने टिप्पणी गर्न छुटाएनन् । 

कपिलवस्तुको दक्षिणी पकडी बजारमा भेटिएका केही मतदाताले उपाध्यायको सम्भावना वलियो रहेको वताए  । कतिपयले भने लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच तीब्र प्रतिष्पर्धा रहेको बताए । सीमावर्ती दक्षिणी भेगमा मधेस केन्द्रीत दलको पनि सामान्य प्रभाव छ । 

पूर्वपश्चिम राजमार्ग आसपासमा वामपन्थी गठबन्धनको प्रभाव रहेको देखिन्छ भने दक्षिणी भेगमा नेपाली कांग्रेसको प्रभाव रहेको मतदाताहरुको प्रतिक्रिया छ । 
दुवै उम्मेदवारले आफूले नै चुनाव जित्ने दावी गर्छन् । 

‘हुँदा खादाँको जागिर छाडेर कपिलवस्तुका जनताको सेवाका लागि आएको छु । मतदाताको अपार स्नेह पाएको छु । चुनाव जित्छु’ निकै आत्मविश्वासमा देखिएका उपाध्यायले लोकान्तरसँग भने ।

युद्ध भन्दा चुनाव जित्न कठिन !

वामपन्थी उम्मेदवार खनालले विगतको ’जनयुद्ध‘ भन्दा चुनाव लड्न जटिल रहेको बताए । 

‘ज्यान जाने खतरा त हुने, तर युद्धको समयमा निर्देशन यति परिपक्क र विश्वासिला हुन्थे कि सहजै कार्यान्वयनमा जान्थे’ खनालले लोकान्तरसँग भने ‘संसदीय चुनाव झन जालझेलपूर्ण र फरक धारको पेचिलो हुँदो रहेछ । तरपनि यसपटक मैले चुनाव जित्छु ।’

कपिलवस्तु १ को प्रदेश सभातर्फ एमालेका विष्णुप्रसाद पन्थी र फजरुल रहमान तथा नेपाली कांग्रेसको तर्फबाट पूर्णप्रसाद चौधरी र राजेश आचार्य चुनावी मैदानमा छन् । 

पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका नेता दानबहादुर कुर्मी पनि प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । विगतमा तमलोपाबाट चुनाव जितेका उनले दुवै गठबन्धनका केही भोट काट्ने स्थानीयको अनुमान छ । 
राजपाका घनबहादुर मिदुन थापा तथा राष्ट्रिय जनमोर्चाका माधव भट्टले पनि उम्मेदवारी दिएका छन् । उनीहरुको खासै प्रभाव देखिएको छैन । 

गत संविधानसभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका अतहर कमाल मुसलमानले कांग्रेस उम्मेदवार विरुद्ध दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसले सहज महसुश गरेको छ । गत संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका उनी केही समय पहिले कांग्रस प्रवेश गरेका थिए । उनले उपाध्यायलाई सघाइरहेका छन् । 

प्रतिनिधि सभाका तीनवटा क्षेत्रमध्ये कुनैमा पनि एमालेका उम्मेदवार छैनन् । भागवण्डा गर्दा क्षेत्र नम्बर एकमा माओवादीका उम्मेदवार छन् भने २ र ३ मा हृदेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका वृजेश कुमार गुप्ता र इश्वर दयाल मिश्रले टिकट पाएका छन् । 

उम्मेदवारहरु एकले अर्कोलाई गाली गर्ने गरेका छैनन् । दुवैले राजनीतिक संस्कार देखाएको मतदाताहरु बताउँछन् । स्थानीय शिवप्रसाद कुर्मीले कपिलवस्तुको दक्षिणी भेगको मुख्य समस्या सिंचाइ, मल र समयमा विउ नपाउनु रहेको बताए । 

‘दीपकुमार यहाँका पुरानो नेता हुन् । जनताको सुख दुःखमा साथ दिन्छन भनेर उनको प्रचारमा हिडेको छु’ कांग्रेस समर्थक कौलेश्वर यादवले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्