
जिल्ला प्रहरी कार्यालय, मोरङले दुई फरक घटनामा कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना बलात्कारको मुद्दामा सजाय काटिरहेका र अर्का चोरीको आरोपमा थुनामा रहेका व्यक्ति छन् ।
मंगलबार राति साढे १० बजे विराटनगर महानगरपालिका-१६ स्थित डेरी चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा को ३८ प ४१७२ नम्बरको स्कुटर चालकलाई सोधपुछ गर्दा उनको पहिचान खुलेको हो ।
सोधपुछका क्रममा चालक, सुनसरीको इटहरी उपमहानगरपालिका-२ बस्ने २९ वर्षीय अभिषेक जैसवालले आफू चोरी मुद्दामा थुनामा रहेको र गत भदौ २३ र २४ गते भएको आन्दोलनको मौका छोपी झुम्का कारागारबाट भागेको स्वीकार गरेका छन् ।
उनले विराटनगर महानगरपालिका-१ नेताचोकबाट स्कुटर चोरी गरेर भाग्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।
यस्तै, अर्को एक घटनामा, जबर्जस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिई सिन्धुली कारागारमा रहेका र जेनजी आन्दोलनका क्रममा भागेका प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका-३, सोराभाग बस्ने ३९ वर्षीय उपेन मण्डललाई बुधबार उनकै घरबाट पक्राउ गरिएको हो । गत भदौ २४ गते कारागारबाट फरार भएका मण्डललाई इलाका प्रहरी कार्यालय, रंगेलीबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सिन्धुली पठाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।