२८ असार २०८३, आइतबार

सेनाका पूर्वहवल्दारको प्रेरणादायी काम : पेन्सनपछि भारी बोकेरै मासिक ३५ हजारसम्म बचत !

जेठ १९, २०७५
सेनाका पूर्वहवल्दारको प्रेरणादायी काम : पेन्सनपछि भारी बोकेरै मासिक ३५ हजारसम्म बचत !

काठमाडौं, १९ जेठ – रौतहटका सरोज कोइराला न्युरोडभित्रको गल्लीमा काँधमा नाम्लो भिरेर केही प्रतिक्षा गरिरहेका थिए ।

‘काँधमा नाम्लो बोकेर बस्नुभएको छ, भारी कुर्नुभएको ?’ नजिकै पुगेर मैले सोधेँ । ‘हजुर ! भारी कुर्दै बसेको,’ उनले ढिला नगरी भनिहाले ।

उनको ज्यान हेर्दा हट्टाकट्टा छ । ‘काम गरेर कोही पनि सानो भइँदैन, सबैले काम गरेरै बाँच्ने हो,’ कोइरालाले लोकान्तरसँग भने, ‘नेपालमा युवाहरू काम गर्नै लाज मान्छन्, नेपालमै बसेर लाज नमानी काम गर्ने हो भने यहीँ राम्रो कमाउन सकिन्छ, विदेशमा श्रम र पसिना बगाउन पर्दैन ।’

धेरै युवा स्वादेशमा रोजगारी पाइएन भन्दै सरकारसँग गुनासो गर्दै बस्छन् । नेपालमा रोजगारीको अवसर नभएको भन्दै दैनिक १५ सय युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । तर कोइरालाई भने नेपालमै भरियाको काम गर्दा सन्तुष्टि मिलेको छ ।

उनी भन्छन्, ‘विदेश जानै पर्दैन, भारतका मानिसहरू यहाँ आएर प्लाष्टिक टिपेर धेरै कमाउँछन्, हामी नेपालीहरू किन लाज मान्ने ? काम गर्नै लाज मानेपछि त पैसा कमाउन सकिँदैन नि !’

यसरी शुरु गरे भारी बोक्ने काम

रौतहटमा जन्मिएका कोइराला नेपाली सेनाबाट अवकाश प्राप्त गरेका व्यक्ति हुन् । उनी ४ वर्षअगाडिसम्म नेपाली सेनाको हवल्दार थिए ।

१८ वर्षको उमेरमा नेपाली सेनामा जागिर शरु गरेका कोइरालाले १७ वर्षपछि ३५ वर्षको उमेरमा जागिरबाट अवकाश पाएका थिए । 

नेपाली सेनाबाट सँगै अवकाश लिएका साथीहरू कोही घरतिरै बसिरहका छन्, कोही वैदेशीक रोजगारीमा गए । तर कोइरालालाई भने विदेशी भूमिमा श्रम बेच्न पटक्कै रहर थिएन । उमरमै सरकारी जागिर खाएर पेन्सन समेत पकाइसकेका कोइरालाको काम गर्ने जोश, जाँगर र श्रम गर्ने शक्ति बाँकी नै थियो । उनले सरकारी जागिरबाट अवकाश लिएपछि आफैंले केही व्यवसाय सञ्चालन गर्ने योजना बनाए ।

आफैंले केही गर्नुपर्छ भनेर २०७१ सालमा पाटनरसिपमा ललितपुरको गोदावरीमा  रिसोर्ट खोले । ४० लाख लगानीमा दुईजना रिसोर्ट सञ्चालनमा ल्याइएको थियो । कमाइ पनि राम्रै थियो । तर २०७२ वैशाख १२ गतेको भूकम्पले रिसोर्टमा क्षति पुग्यो । व्यवसाय सञ्चालन गरेको एकवर्ष नबित्दै उनको २० लाख लगानी भूकम्पले ढालिदियो । भूकम्पले भत्किएको रिसोर्ट फेरि बनाउन पहिलाकै जति लगानी लाग्ने भएपछि उनले रिसोर्ट सञ्चालन गर्न सकेनन् ।

भूकम्पको कारण रिसोर्ट बन्द भयो । उनलाई ७ लाख ऋण समेत लाग्यो । नेपाली सेनाको पेन्सनले उनको परिवार चलाउन पुग्दैन थियो । व्यवसाय बन्द भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि थपियो । उनले कसरी छिटो पैसा कमाउने भन्ने सोच्न थाले । त्यही क्रममा एकदिन न्युरोड पुगेका कोइरालाले सडकमा भारी बोक्ने भरियाहरू धेरै देखे । उनलाई पनि भारी बोक्ने कामप्रति चासो बढ्यो । उनले बुझ्दै जाँदा मेहनत गरेर काम गरे भरियाले धेरै कमाउँछन् भन्ने थाहा पाए । त्यसपछि उनलाई भरिया बनेर काम गर्ने सोच आयो ।

‘न्युरोडमा कपडा किन्न आउँदा धेरैजना भरियाहरू काम गरिरहेको देखेँ, मैले यो काम कस्तो हुन्छ, हामीले गर्न पाइन्छ कि पाइँदैन भनेर सोधेँ,‘ भरियाको काम पाएको दिन सम्झँदै उनले सुनाए, ‘यहाँ सिधै आएर काम गर्न नपाइने रहेछ, भरियाहरूको पनि समूह हुँदोरहेछ, समूहका भरियाहरूसँग कुरा गरेँ, अनि काम गर्न थालेँ ।’

कोइराला बिहान ६ बजे न्युरोड क्षेत्रमा नाम्लो बोकेर आउँछन् । दिनभर भारी बोकेर राति ८ बजे डेरा फर्कन्छन् । उनले न्युरोड क्षेत्रमा भारी बोक्न थालेको दुई वर्ष पुगिसकेको छ । न्युरोड क्षेत्रका साहुहरू पनि उनको कामप्रतिको लगावलाई सम्मान गर्छन् । कोइरालाले एउटा भारी बोकेवापत १ सयदेखि ३ सयसम्म पारिश्रमिक लिने गरेका छन् । उनले दिनमा ३ देखि ५ हजार सम्मको भारी बोक्छन् । खर्च कटाएर महिनामा ३५ हजारसम्म बाचाउँछन् उनी ।
दुई छोरा, दुई छोरी र श्रीमती रौतहटमै बस्छन् । एउटा छोरीको विवाह भइसकेको छ भने अन्य तीन जना छोराछोरीलाई पढाउँदै छन् ।

रिसोर्ट सञ्चालन गर्दा लागेको ७ लाख ऋणमा उनले ५ लाख ऋण तिरिसकेका छन् । ‘भारी बोक्ने काम गरेरै मैले रिसोर्ट खोल्दा लागेको ऋण तिर्दै आएको छु । अब त दुईलाख मात्रै बाँकी छ, छिटै तिरेर सक्छु,’ उनले निर्धक्क भएर सुनाए ।

नेपाली सेनामा कमाण्ड कन्ट्रोलमा बसेका उनलाई भरियाहरूसँग केही समय असजिलो भयो । तर बिस्तारै भरियाहरूसँग आफ्नो दोस्ती बढाउँदै लगे ।

‘सेनामा हुँदा कमाण्ड कन्ट्रोलमा बस्नुपथ्र्यो, त्यहाँ फौजमा बसिन्थ्यो, यहाँ पनि भरियाको समूह छ, फौजमा जस्तै रमाइलो छ ।’

नेपाली सेनाबाट अवकाश लिएर आएका कोइरालालाई न्युरोड क्षेत्रका साहु र भरियाहरूले सम्मान गर्छन् । उनले पनि राम्रो व्यवहार गरेर साहु र भरिया साथीहरूको मन जितेका छन् । उनले भरियाको काम गर्ने अन्य युवालाई पनि कपाल पाल्न र जाँड रक्सी खान हुँदैन भनेर सिकाउँछन् । कोइराला आएसँगै न्युरोड क्षेत्रमा काम गर्ने अन्य भरियाहरूलाई पनि हौसला मिलेको छ ।

भरियाहरू दिनभरी मेहेनत गरेर भारी बोक्थे । तर धेरै जस्तो भरियाहरूले दिनभरी कमाएको पैसा बेलुका रक्सी खाएर सक्थे । कोइरालाई यस्तो प्रवृत्ति ठिक लागेन । ‘भरियाको काम गर्दा कमाइ हुन्छ, तर यहाँ कमाउँदै, रमाउँदै गर्ने भएर मात्रै भरियाहरूको जीवन माथि उठ्न नसकेको हो,’ कोइरालाले भने ‘भरियाको काम गर्नेहरू लामो कपाल पाल्ने, जाँड रक्सी चुरोट खाने गथ्र्ये, मैले धेरैपटक सम्झाएपछि केहीले जाँड रक्सी खान पनि छाडेका छन् ।’

भरियाहरूप्रति मानिसको नराम्रो दृष्टिकोण हुनुमा भरियाहरूको पनि कमजोरी रहेको देखेपछि उनले भरियाहरूको व्यवहार परिवर्तन गर्ने प्रयास गरे । भरियाको गलत दैनिकीलाई आफूले परिवर्तन गराउन सफल भएको दाबी उनी गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्