१४ असार २०८३, आइतबार

पेचिलो बन्दै प्रधानन्यायाधीशको सुनुवाइ : समितिका सदस्यलाई ‘बोल्न निषेध’ !

साउन १४, २०७५
पेचिलो बन्दै प्रधानन्यायाधीशको सुनुवाइ : समितिका सदस्यलाई ‘बोल्न निषेध’ !

काठमाडौं– न्याय परिषदको सिफारिसअनुसार संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ पेचिलो बन्दै गएको छ । 

जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत रहेका जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । 

असार २५ गते (सोमवार)को संसद बैठकले संसदीय सुनुवाई विशेष समितिका १२ सदस्य तथा राष्ट्रिय सभा बैठकले ३ जना सदस्यको नाम अनुमोदन गरेपछि जोशीको सुनुवाईको बाटो खुलेको थियो । 

२६ असारमा बसेको समितिको पहिलो वैठकमै जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तका गर्न ‘अनुमोदनका लागि’ सुनुवाइ गर्न प्रस्ताव पेश भएको थियो ।  

जोशीको सुनुवाइ भने गत विहीवार (साउन १० गते) भयो । समितिमा जोशीविरुद्ध उनले जारी गरेका आदेश र शैक्षिक योग्यताको विषय उठाएर ५ वटा उजुरी दर्ता भएका थिए । 

सुनुवाइका क्रममा समितिका सदस्य (सांसद)हरुले जोशीलाई ‘सरकारी जग्गा व्यक्तिलाई दिने’ गरी आदेश जारी गरेको, एसएलसीको प्रमाणपत्र नक्कली भएको, छोराको विहे भोजमा आचारसंहिता उल्लंघन गरेको लगायत विषयमा प्रश्न सोधेका थिए । 

जवाफमा जोशीले आफूप्रति लगाएका सबै आरोप गलत भएको सबै प्रश्नको जवाफ १३ मिनेटमा दिएर भ्याएका थिए । दोस्रो दिन (शुक्रवार) बस्ने भनेर बिहीवारको बैठक स्थगित भएपनि त्यसपछि सोमवार मात्रै सुनुवाइ समितिको बैठक बस्यो । तर सोमवारको बैठकमा पनि जोशीको सुनुवाइबारे कुनै निर्णय हुन सकेन । 

समितिका सदस्यलाई बोल्न निषेध

सोमवार २ बजे बस्ने भनिएको सुनुवाइ समितिको वैठक ४६ मिनेट ढिलो गरी २ बजेर ४६ मिनेटमा मात्रै शुरु भयो । बैठक शुरु भएको भनिएको १ घण्टा २४ मिनेटपछि अपराह्न ४ बजेतिर समितिका सदस्यहरु बैठकस्थलबाट बाहिरिए । 

वैठकमा भएको छलफलबारे सञ्चारकर्मीको जिज्ञासामा समितिका  ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले १६ गते (बुधवार) दिउँसो साढे ३ बजे अर्को बैठक बस्ने निर्णय भएको जानकारी दिए । 

‘आज के छलफल भयो, बताइदिनुहोस् न ?’ कर्णसँग सञ्चारकर्मीले थप जिज्ञासा राखे । 

‘यस्तै सामान्य छलफल भयो, अर्को वैठक पर्सी बस्ने भन्ने निर्णय भयो,’ सवाल टार्ने जवाफ दिएर कर्ण बाहिरिए । 

त्यसपछि सञ्चारकर्मीले समितिका अन्य केही सदस्यसामू जवाफको आशासहित सवाल राखे । तर उनीहरुको जवाफ थियो, ‘अर्को वैठक पर्सी बस्छ, त्यसपछि थाहा हुन्छ ।’

वैठकस्थलबाट बाहिरिँदै गरेका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले ‘बाहिर भन्न मिल्ने गरी’ वैठकमा कुनै छलफल नभएको बताए । ‘सामान्य कुराकानी भयो । तर बाहिर भनिहाल्ने खालको केही कुरा भएन,’ प्रधानले भने । 

नेपाली कांग्रेसकै अर्का सांसद ज्ञानेन्द्र कार्कीले पनि समितिमा भएको छलफलबारे केही बोल्न नमिल्ने बताए । ‘हामीले भन्ने खालको कुरा केही छैन,’ कार्कीको भनाइ थियो । 

शीर्ष नेताको तहमा सहमति भएमात्रै प्रधानन्यायाधीश जोशीको सुनुवाइबारे निर्णय हुने समितिका सदस्यहरुको आशय थियो । कतिपय सदस्यहरुले अनौपचारिक कुराकानीमा यो विषय स्वीकार पनि गरे । तर, औपचारिक रुपमा भने उनीहरु बोल्न मिल्ने कुनै कुरा नै नभएको भन्दै टार्न खोज्थे । 

‘हाम्रो तहमा बोल्न मिल्ने गरी कुनै कुरा नै भएको छैन । शीर्ष नेताको तहमा छलफल भएको भन्ने सुनिन्छ । पार्टीले केही म्यान्डेड देला, त्यसपछि मात्रै समितिमा गहन रुपमा छलफल होला,’ सुनुवाइ समितिका सदस्य समेत रहेका सत्तारुढ दल नेकपाका एक सांसदले अप्रत्यक्ष कुराकानीमा लोकान्तरकर्मीसँग भने । 
 

याे पनि पढ्नुहाेस्,

कामु प्रधानन्यायाधीश जोशी सर्वोच्चमा अनुपस्थित, पर्‍याे राजीनामाको दवाव

 

salt training

कमेन्ट गर्नुहोस्