२७ जेठ २०८३, बुधबार

निजी विद्यालयको लूट : अतिरिक्त शुल्क र जरिवाना लगाएर विद्यार्थीबाट अवैध असुली

निजी विद्यालयको लूट : अतिरिक्त शुल्क र जरिवाना लगाएर विद्यार्थीबाट अवैध असुली

विराटनगर – विराटनगर महानगरपालिकाको कान्तिपुर कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्कको नाममा ६ सय रुपैयाँ लियो । ११ कक्षामा पढ्ने १ विद्यार्थीको नाममा काटिएको रसिदमा विभिन्न शीर्षकको बिल काटेर २ हजार ३ सय रुपैयाँको बिल अभिभावकलाई पठायो ।

बिलमा लेखिएको थियो – अतिरिक्त शुल्क ६ सय रुपैयाँ विद्यार्थीलाई तिराइयो ।

विद्यालयककै अर्का विद्यार्थीको नाममा पनि अतिरिक्त शुल्कबापत  ५० रुपैयाँ तिराइयो । रसिदमा उल्लेख नभएपनि विद्यालयले उनलाई जानकारी गराएअनुसार विद्यालयमा अनुपस्थित भएवापत जरिवाना तिराइएको हो । कक्षामा अनुपस्थित भएको दैनिक ५० रुपैयाँको दरले रकम तिराउने गरेको विद्यार्थीले गुनासो गरेका छन् । 

केही दिनअघि बिरामी भएर नियमित विद्यालय नआएकी १ विद्यार्थीलाई विद्यालयले अतिरिक्त शुल्कको नाममा  दैनिक ५० रुपैयाँको दरले रकम तिराएको विद्यार्थीले बताएका छन् । नियमित कलेज नआउने विद्यार्थीलाई कसरी विद्यालयमा टिकाइराख्नेबारे नयाँ योजना कुनै पनि निजी विद्यालयसँग छैन ।

 

निजी विद्यालय सञ्चालकले विद्यालयमा टेकेदेखि पानी खाएको समेत हिसाब गरेर पैसा लिने गरेको अभिभावकको आरोप छ । ‘श्वासप्रश्वासको रुपमा लिइने हावाको पैसा भने लिएका छैनन्,’ एक अभिभावकले आक्रोशित हुँदै भने, ‘नत्र के–के नाममा रकम जोडेर बिल पठाउने गरेका छन्, यसरी रकम असुल्दा पनि कसैले चासै दिँदैन ।’

कोशी क्याम्पसले १२ कक्षामा पढ्ने एक विद्यार्थीको  नाममा ४ हजारको बिल काटेको छ । अतिरिक्त परीक्षा शुल्कको नाममा बिल काटिएको छ । मेडिल्यान्ड कलेजले ७ सय रुपैयाँ लिएको पाइएको छ । कलेजले राष्ट्रिय परीक्षा बोर्डले तोकेभन्दा १ सय रुपैयाँ बढी लिएको पाइएको छ ।

सिद्धार्थ कलेजले पनि विद्यार्थीबाट परीक्षाको नाममा ८ सय रुपैयाँ लिएको पाइएको छ । माघ १० गते काटिएको बिलमा विद्यार्थीको नाम भने उल्लेख गरिएको छैन । 

कोशी कलेजका सञ्चालक मनिश सोनीले आन्तरिक परीक्षामा सहभागी हुनुपर्र्ने विद्यार्थी जानकारी नै नदिइ अनुपस्थित भएमा प्रतिविषय ५ सय रुपैयाँका दरले जरिवाना लिइने गरेको बताए । तर नियमित परीक्षा दिनेलाई समस्या नभएको उनले बताए । विद्यालयमा विद्यार्थीले हेलचक्र्याइँ गर्न थालेपछि जरिवाना लिने गरिएको उनले बताए ।  

उनले अन्तिम परीक्षाको लागि १ हजार ४ सय रुपैयाँ लिने गरेको बताए । उनले भने, ‘कपीचेक गर्ने, करेक्सन गर्ने, कर्मचारी राख्ने कामका लागि परीक्षा बोर्डले तोकेकोभन्दा १ सय रुपैयाँ बढी लिएका हौं ।’

कान्तिपुर कलेजका प्रिन्सिपल सन्तोष भगतले विद्यार्थीलाई प्रेसर दिन सूचना टाँस गरेर नै ५० रुपैयाँ लिने गरिएको बताए । कलेजका धेरै विद्यार्थी सिराहा, सप्तरीका भएकाले कक्षामा नै नआउने र सुत्नेलाई अनिवार्य कक्षामा ल्याउनको लागि जरिवाना अभियान चलाइएको उनले बताए ।

परीक्षा बोर्डको अर्कै निर्णय

राष्ट्रिय परीक्षा बोर्डले  परीक्षा आवेदन भर्ने र भराउने सम्बन्धमा जारी गरेको सूचनामा वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीले २०७५ पुस १५ गतेदेखि माघ १५ गतेसम्म विलम्ब शुल्करहित प्रतिविद्यार्थी प्रतिखण्ड ६ सय रुपैयाँ तथा माघ १६ गतेदेखि माघ मसान्तसम्म विलम्ब शुल्क १२ सय रुपैयाँसहित आवेदन फाराम बुझाउने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्ड जारी गरेको सूचनामा उल्लेख छ ।

तर सूचनालाई हेर्ने हो भने पनि परीक्षाको नाममा ६ सयभन्दा रकम लिन नपाउने उल्लेख छ । 

विद्यार्थी संगठनको विरोध

निजी विद्यालयले ११ र १२ कक्षाका विद्यार्थीबाट जरिवाना तथा विभिन्न नाममा लिइरहेको रकम कानून विपरीत भएको जनाएका छन् । विद्यार्थीबाट अतिरिक्त रकमको नाममा जरिवाना लिइएको भन्दै जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाउँदै तत्काल अवैध असुली बन्द गर्न माग गरिएको छ ।

नयाँशक्ति विद्यार्थी युनियनले परीक्षा बोर्डले तोकेको शुल्क ६ सयभन्दा बढी रकम कलेजले लिएको पाइएकाले शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको प्रदेश संयोजक कमल पोखरेलले बताए । 

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजेन्द्र बुढाथोकीले २ वटा विद्यालयले परीक्षा बोर्डले तोकेभन्दा बढी रकम लिएको भन्ने जानकारीमा आएको बताए । बढी रकम लिने जुनसुकै कलेज तथा विद्यालयलाई रकम फिर्ता गर्न भनिएको बताए । उनले विद्यार्थीबाट जरिवानाको नाममा कुनै पनि रकम लिने भन्ने कानूनमा उल्लेख नभएकाले छानबिन गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्