‘बलात्कार गर्ने’ प्रहरीलाई कारवाहीको माग राख्दै स्थानीयको प्रदर्शन

नवलपरासी – पश्चिम नवलपरासीको सुनवलमा रहेको दंगा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतवार स्थानीयले प्रदर्शन गरेका छन् । 

एक महिनाअघि प्रहरीद्वयले स्थानीय १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप सहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयले प्रदर्शन गरेका हुन् । 


Advertisement

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २ जना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो ।

निलम्बन पर्नेमा दंगा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुराको मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन् । 

उनीहरू दुवैलाई जबरजस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी बताए । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जंगलमा घाँस काट्न गएका १ किशोरी र १ युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ ।

घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् । 

कमेन्ट गर्नुहोस्