काठमाडौं– सरकारी अनुगमन टोली अनुगमनका लागि दरबारमार्ग पुग्दा यहाँका पसलेहरू पसल नै बन्द गरेर भागेका छन् ।
बिहीवार दरबारमार्गस्थित शेर्पा मलका पसले तथा कर्मचारीहरू पसल बन्द गरेर भागेका हुन् ।
मलभित्रका ग्यारेज, सिल्हौटी, अटुम लगायतका अधिकांश पसलहरू बन्द गरेर पसलेहरू भागेका अनुगमन टोलीका संयोजक कपिल रेग्मीले जानकारी दिए ।
केही पसलेहरू भागे पनि आफ्नो अनुगमन नरोकिने संयोजक रेग्मीले बताए ।
यसअघि सो अनुगमन टोलीले दरबारमार्गस्थित सामसुङ मोबाइल डिलर्समा अनुगमन गरेको छ । तर, त्यहाँ कुनै पनि कैफियत नपाइएको अनुगमन टोलीले जनाएको छ ।
विभागले केही दिनदेखि निरन्तर गरिरहेको अनुगमनमा अधिकांश व्यवसायीले पसल दर्ता नगरी सञ्चालन गरेको भेटिएको छ भने केहीले मूल्यसूची नराखेको पाइएको छ ।
दरबारमार्गमा बन्द भएका पसलहरू पनि विनादर्ता नै चलिरहेको र मूल्यसूची पनि नराखेकाले भागेका हुन सक्ने संयोजक रेग्मीको आशंका गरे ।
बन्द गरिएका पसलहरूमा भोलि नै अनुगमन गरिने संयोजक रेग्मीको भनाइ छ ।
प्रेम चन्द
पत्रकार चन्द लोकान्तरका लागि आर्थिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।