वाग्मती सफाइ अभियान जारी

फाइल फोटो

काठमाडौं – उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबारझैं शनिवार पनि जारी रह्यो ।

वाग्मती सफाइ महाअभियानको ३३६ औं हप्तामा त्रिपुरेश्वर पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ ।


Advertisement

पन्ध्र संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

सफाइमा अधिकारसम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख लीलाप्रसाद ढकाल, काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार लगायत अभियानकर्मी सक्रिय थिए ।

वाग्मती सफाइ महाअभियान शुरू भएको ६ वर्षसम्म पनि उपत्यकाको मध्यभाग भएर वाग्मतीमा मिसिने इच्छुमती (टुकुचा) सफाइ शुरू हुन नसकेकाले फोहर बढेको स्थानीयको गुनासो छ । वडाध्यक्ष तण्डुकारले टुकुचा सफाइ अभियान पनि शुरू गर्न पहल भइरहेको बताए ।

विक्रम संवत् २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरू भएको थियो । वाग्मती सफाइ अभियान शुरू भएपछि यसका सहायक नदी र चक्रपथ सफाइ अभियान पनि आरम्भ भएको हो ।

उपत्यकाबाट शुरू भएको सफाइ अभियानले हाल देशव्यापी स्वरुप ग्रहण गरिसकेको छ । देशभर हाल १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

चक्रपथ उत्तरखण्ड सफाइको १३३ औं हप्तामा नयाँबसपार्क पुलबाट ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी १० टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । सफाइमा अस्टे«लियाका लागि नेपाली राजदूत महेश दाहाल, ८० वर्षीय ज्येष्ठ नागरिक तोयनाथ पौडेललगायत २५० भन्दा बढी अभियानकर्मी सक्रिय थिए ।

अर्को हप्ता शनिवार ज्येष्ठ नागरिक पौडेलले लेखेको पुस्तक ‘चेतनामृत’ विमोचन गर्ने कार्यक्रम रहेको सफाइ अभियानले जनाएको छ ।

यसैगरी शनिवार उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, वाग्मतीको तिलगंगा, सुन्दरीघाट र गुह्येश्वरी खण्ड, चक्रपथको  पश्चिम खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान सञ्चालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्