जाँदाजाँदै गोकर्णले भने– जनताको पक्षमा काम गर्न जोखिम हुने अनुमान थियो, अहिले अनुभव गरें !

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको पक्षमा काम गर्न जोखिमपूर्ण हुन्छ भन्ने कुराको अनुभव आफूले मन्त्री रहँदा गरेको बताएका छन् ।

मन्त्रालयबाट बिदा हुने क्रममा बिहीवार बोल्दै मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेपनि त्यसको अनुभव अहिले गरेको बताएका हुन् ।


Advertisement

'स्वाभिमानका साथ जनतालाई केन्द्रभावमा राखेर सुधारका पहल उठाइरहेका बेला जनताको पक्षमा काम गर्ने कुरा जोखिमपूर्ण हुन्छ भन्ने अनुमान गरेकै थिएँ, अहिले अझ उचाइमा त्यसको अनुभव पनि गरें,' विष्टले भने ।

आफू मन्त्री नरहेपनि देशभित्र र देशबाहिर श्रम बगाइरहेका युवाहरूको हितमा आफ्नो आवाज गुञ्जिरहने उनको जिकिर छ ।


Advertisement

'जिन्दगी जनताको हातमा,' विष्टले भने, 'जतिदिन रहन्छु, सामाजिक काममा रहन्छु, पार्टीको इमान्दार कार्यकर्ताको हिसाबले भूमिका निर्वाह गर्छु,' विष्टले थपे ।

जीवन नै अस्थायी रहेको भन्दै विष्टले पद कहिल्यै स्थायी नहुने बताए ।

'पद क्षणिक कुरा हो,' उनले भने, 'जीवन नै अस्थायी छ, पद स्थायी हुने कुरै आउँदैन । आउँदा नै एक दिन निस्किनुपर्छ भनेर आएको थिएँ ।'

विष्टले जाँदाजाँदै प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रालयका कर्मचारी, सञ्चारकर्मी र आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत थिए ।

कमेन्ट गर्नुहोस्