
बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको आरोप लागेका मोहम्मद आफ्ताब आलमको बचाउमा दिएको अभिव्यक्तिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवा अझै पनि आलोचनाको केन्द्रमा रहने गरेका छन् ।
त्यो अभिव्यक्ति कांग्रेसकै लागि प्रत्युत्पादक बनिरहेका बेला देउवा नेपाली भूमि मिचिएको भारतीय नक्सा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृति दिएको भन्ने अभिव्यक्ति दिएर थप विवादमा फसे ।
शनिवार कास्कीको पोखरामा आयोजित चुनावी सभामा देउवाले भारतले प्रधानमन्त्री केपी ओलीसँग सोधेरै नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए ।
ओलीमाथि देउवाको आरोप सत्य हो भने ओलीले प्रस्ट पार्नुपर्छ, अन्यथा प्रधानमन्त्रीमाथि विपक्षी दलको सभापतिको निम्नस्तरको आरोप फगत चुनावी स्टन्ट मात्र रहेको पुष्टि हुन्छ । भारतले नेपालको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले धेरै फन्को लगाइसकेका छन् ।
भारतको नक्साकै विषयमा साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक पनि बोलाइसकेका छन् ।
बैठकमा प्रधानमन्त्रीको राष्ट्रियताको 'स्पिरिट' बलियो रहेको स्वयं कांग्रेसकै नेताहरूको स्वीकारोक्ति छ । तर ४/४ पटक प्रधानमन्त्री भइसकेका देउवाले बेला न कुबेला यस्तो आरोप लगाउँदा 'वेटिङ गभर्मेन्ट'को रूपमा रहेको प्रमुख प्रतिपक्षी दलका अन्य नेताहरूमाथि पनि विश्वसनीताको प्रश्न उठ्ने गरेको छ ।
देउवाको शनिवारको अभिव्यक्ति अनपेक्षित थियो । अनपेक्षित मात्र होइन, सामाजिक सञ्जालमा कतिपयले देउवाको अभिव्यक्तिलाई अत्यन्त गैरजिम्मेवार र आपत्तिपूर्ण अभिव्यक्ति भनी टिप्पणी गरेका छन् ।
देउवाको बोली यसरी फेरियो
नोभेम्बर १ मा भारतले नयाँ जारी गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक २३ मा सर्वदलीय बैठक राखेर छलफल गरेका थिए । छलफलमा नेपालको भू-भागलाई समेटेर भारतले नयाँ नक्सा जारी गर्नु भारतको हेपाहा प्रवृत्ति रहेको निष्कर्ष निस्केको थियो । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कूटनीतिका माध्यमबाट यो विषयको समाधान गर्न प्रतिपक्षी दलको पनि समर्थन चाहिने बताएका थिए ।
सर्वदलीय बैठकबाट निस्किएलगत्तै देउवाले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखे – 'भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको हो, कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भू-भाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहनेछ ।'

तर आफैंले सरकारलाई सहयोग गर्ने भनेर गरेको प्रतिबद्धतालाई कुल्चँदै देउवाले राष्ट्रिय स्वार्थको विषयमा प्रधामनन्त्रीलाई अनावश्यक लान्छना लगाउने प्रयास गरेका छन् । यसले उनको राजनीतिक कद झन घटेको मात्र नभई विश्वसनीयतामा समेत ह्रास आएको छ । यस्ता हल्काफुल्का अभिव्यक्ति प्रमाणित नभए त्यसको चर्को मूल्य कांग्रेसले चुकाउनुपर्ने देखिन्छ ।
कांग्रेसकै नेता शेखर कोइरालाले देउवाको भनाइबाट आफू अचम्ममा परेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट आफ्ना सेना फिर्ता गर्न भारतलाई सार्वजनिक मञ्चबाटै आग्रह गरिसकेका छन् । बहालवाला प्रधानमन्त्रीले भारतलाई यस्तो आग्रह गर्नु हालसम्मको दुर्लभ घटना हो । प्रधानमन्त्रीको आग्रहलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले समेत भारतको राष्ट्रिय चासोको विषय बनाएका छन् ।
भारतको हेपाहा प्रवृत्तिविरुद्ध राष्ट्रिय एकता बनिरहेको अवस्थामा देखिएको थियो तर देउवाले बनिरहेको राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिए । अन्य कुरामा विमति रहेपनि राष्ट्रियता र सीमा सुरक्षाको मामिलामा विपक्षी दलले सरकारले लिइरहेको प्रयासमा सथर्मन जनाउनुपर्दथ्यो ।
देउवाको विवादास्पद अभिव्यक्तिको इतिहास
देउवाको राजनीतिक अतीत र वर्तमान विवादमुक्त छैन । उनी कहाँ के बोल्ने भन्ने भेउ नपाउने गरेको स्वयं कांग्रेसकै नेताहरू स्वीकार्छन् ।
२०६१ साल भदौमा इराकमा नेपाली कामदारको सामूहिक हत्या भयो । त्यो बेला प्रधामनन्त्री रहेका देउवाले ‘त्यहाँका आतंकवादी र देशभित्रका आतंकवादी’ उस्तै हुन भनेर माओवादीलाई आरोपित गरेका थिए ।
माओवादी समस्यालाई वार्ताबाट हल गर्नुपर्छ भनेर देशभरि आवाज उठिरहेको बेलामा उनले तत्कालीन माओवादीलाई इराकका आतंककारीहरूसँग तुलना गरे । त्यसको व्यापक आलोचना भएको थियो ।
पछिल्लोपटक २०७४ सालमा प्रधानमन्त्रीको रूपमा भारत भएको समयमा समकक्षीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति विवादमा पर्यो । विदेशी भूमिमा गएर आन्तरिक मामिलाबारे बोलेको भनेर सदनमा समेत देउवाको चर्को आलोचना भयो ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताए । यद्यपि कांग्रेसलाई जिताएर आफू प्रधानमन्त्री बन्ने आकांक्षा नराम्रो नभएपनि ७ पटकसम्म प्रधानमन्त्री बन्न चाहेको उनको भित्री आकांक्षालाई जनताले दुत्कारे ।
७ पटक प्रधानमन्त्री बन्ने देउवा महत्त्वाकांक्षालाई मतदाताले धूलो चटाइदिए । त्यतिबेलै ‘कम्युनिस्टहरूले जिते रुन पनि पाइँदैन भनेर देउवाले विवादास्पद अभिव्यक्तिको श्रृंखला नै चलाए । कांग्रेसका लागि त्यो पनि प्रत्युत्पादक भयो । कांग्रेसको सबल पक्ष देखाउन भन्दापनि अरूका कमजोरी देखाएर आफूलाई अग्लो देखाउने काममा देउवा तल्लीन बने ।
२०७४ सालको संसदीय चुनावमा कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पनि देउवाको बानी सुध्रिएन ।
आलमको बचाउमा दिएको अभिव्यक्तिलाई दुई दिनमै खण्डन गर्नुपर्ने अवस्थाको सिर्जना भएको थियो । आलम प्रकरण सेलाउन नपाउँदै देउवाले पार्टी कार्यालयमा नेविसंघका कार्यकर्तालाई अपशब्द बोले ।
शनिवार कास्कीको पोखरामा दिएको गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्तिका कारण उपचुनावको पूर्वसन्ध्यामा कांग्रेसलाई अप्ठ्यारो परेको छ ।
के जानकारी र प्रमाणका आधारमा देउवाले ओलीमाथि गम्भीर आरोप लगाए ? कि राजनीतिलाई रत्यौली मैदान बनाउने छूट देउवामाथि छ ?