अमेरिकी डलरसम्बन्धी केही रोचक तथ्य

विश्व बैंक एवं आइएमएफले सन् २०१९ मा विश्वको कुल उत्पादन ‘जिडब्लुपी’ ८ सय ८० खर्ब ८० अर्ब डलर हाराहारी पुग्ने अनुमान गरेको छ । ‘जिडब्लुपी’को यो आँकडा विश्वका सबै देशहरूको ‘जिडिपी’को कुल योग हो । तर, विश्वको यति ठूलो अर्थ सञ्जाललाई विनिमय गर्ने मुद्राको आकडा भने निकै कम ८ प्रतिशत भौतिक मुद्राबाट सञ्चालित छ । विश्व अर्थतन्त्रमा प्रचलनमा रहेका मुद्रामध्ये ८ प्रतिशत मात्रै भौतिक रूपमा मुद्रित छन् । ९२ प्रतिशत मुद्राको अस्तित्व डिजिटल वा अन्य कुनै स्वरूपमा रहने गरेको छ । विश्व प्रतिदिन बढ्दो रूपले डिजिटिल प्रविधिमा प्रवेश गरिरहेको संकेत पनि हो यो । विश्वको सबैभन्दा वर्चस्वशाली मुद्रा अमेरिकी डलर हो । यससम्बन्धी केही तथ्य यस्ता छन् :

अमेरिकी डलर नोट संख्यामा : अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का अनुसार हाल कारोबारमा कुल १ हजार ७ सय अर्ब मूल्यका (अमेरिकी डलरमा) ४१ अर्ब ६० करोडवटा नोट प्रचलनमा छन् । जसमध्ये ११ अर्ब ५० करोडवटा सयदरका नोट पर्छन् । 


Advertisement

डलरको आयु : सबैभन्दा कम औसत आयु भएको नोट १० डलर हो । यसको औसत आयु ४ दशमलव ५ वर्ष रहेको छ । सय डलरको नोटको आयु २२ दशमलव ९ वर्ष छ । नोटको आयु विनिमयको संख्या र मूल्यभार दुवैले निर्धारण गर्ने बताइन्छ । 

प्रकार : ‘ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ’का अनुसार अमेरिकी डलर सिक्का र नोट गरेर १८ प्रकारमा निष्कासन हुन्छ । अमेरिकामा अहिले १२ प्रकारका कागजी नोट प्रचलनमा छन् । सात प्रकारका नोट निरन्तर निष्कासन हुन्छन् भने अन्य नोट विशेष समयमा निष्कासन भएका हुन् । । पाँच प्रकारका ठूला नोटहरू, पाँच सय, एक हजार, पाँच हजार, दश हजार र एक लाख दरमा निष्कासन भएका छन् । एक लाख दरको नोटलाई ‘गोल्ड सर्टिफिकेट’ भनेर चिनिन्छ, जसको प्रचलन अहिले गैरकानुनी मानिन्छ । एक लाख डलरको नोट सन् १९३४ र १९३५ मा छापिएको थियो । केही संकलनकर्तासँग यस्ता नोट छन् । अन्य ४ प्रकारका ठूला नोटको प्रयोग भने वैधानिक नै छ ।  


Advertisement

१ डलर : एक डलर नोट र सिक्का दुवैमा निष्कासन हुन्छ । अमेरिका एक डलरको नोट निष्कासन चाँडै बन्द गर्ने तरखरमा छ । एक डलरको सिक्काको औसत आयु ४० र नोटको ६ दशमलव ६ वर्ष रहेको छ । सन् २०१८ बाट पहिलोपटक बजार प्रचलनमा सय डलरका नोटको संख्याले १ डलरको संख्यालाई उछिनेको छ । अहिले बजारमा सबैभन्दा बढी संख्यामा प्रचलनमा रहेको अमेरिकी नोट सय डलर बनेको छ । यो विश्वव्यापी रूपले कालो बजारमा वृद्धि भएको संकेत पनि हो । दोस्रो धेरै संख्या १ डलरको रहेको छ, तर यो नोट र सिक्का दुवैमा निष्कासित हुन्छ । नोटको तुलनामा सिक्का निकै बढी रहेको छ । 

प्रतिदिन ९.७ टन मसी खपत : अमेरिकाको केन्द्रीय बैंकको आधिकारिक जानकारीअनुसार ‘ब्युरो अफ इनग्रेभिङ एन्ड प्रिन्टिङ’ले डलरको मुद्रणमा प्रतिदिन ९ दशमलव ७ टन अर्थात् ९ हजार ७ सय केजी मसी खपत गर्ने गर्छ । नोट तथा सिक्का मुद्रणका लागि ब्युरो अफ इनग्रेभिङ एन्ड प्रिन्टिङका दुईवटा सक्रिय ‘फ्यासिलिटी’हरू छन् । जसमा अमेरिकाले हरेक दिन डलर मुद्रण गर्ने गर्छ । 

नोटमा ब्याक्टेरियाको संक्रमण: प्रचलनमा रहेका नोटहरूमध्ये ९४ प्रतिशत नोटमा ब्याक्टेरियाहरूको संक्रमण पाइएको छ । एउटा व्यक्तिको हातबाट अर्काेकोमा सरिरहने भएकाले ९४ प्रतिशत कागजी नोटमा ब्याक्टेरियाहरू पाइएका हुन् । एउटा अध्ययनमा, एक डलरको ८० वटा नोटमा मात्रै ३ हजार प्रकारका जीवाणुहरू देखाएका थिए । त्यसमध्ये केही ब्याक्टेरिया, कडा निमोनिया, फुड पोइजनिङलगायत संक्रमणको उच्च जोखिमपूर्ण ब्याक्टेरिया रहेको जनाइएको छ । 

गैरकानुनी डलरमा मुसाको आक्रमण : कोलम्बियन लागुऔषध तस्करी पाब्लो इस्कोबारले लागुऔषध तस्कारीबाट जम्मा गरेको अथाह डलरमध्ये २ अर्ब १० करोडभन्दा बढी डलरलाई मुसाले आहार बनाएको थियो । उनले गोदाममा राखेको डलर मुसाले नष्ट गरिदिएको हो । पाब्लोको खजानाबाट मुसाले हरेक वर्ष १० प्रतिशत नोट ध्वस्त पारेको थियो । कालोबजार वा गैरकानुनी आयलाई डलरमा परिवर्तन गरी घर गोदाममा लुकाइछिपाई राख्ने प्रचलन बढेकाले पनि डलर यसरी नष्ट हुने गरेको हो । यसबाट अमेरिकालाई अप्रत्यक्ष नोक्सानी भइरहेको छ । 

जुवाको राजस्व : अमेरिकाले फिल्म, खेलका दर्शक, थिम पार्क, क्रुज जहाज तथा गीत–संगीतको व्यापारबाट प्राप्त गर्ने समग्र राजस्वभन्दा जुवाबाट बढी राजस्व प्राप्त गर्ने गरेको छ । 

फास्टफुड खर्च : अमेरिकी नागरिकले फास्टफुडमा प्रत्येक वर्ष १ सय १७ अर्ब डलर खर्चिने गरेका छन् । विभिन्न अनुसन्धानले अमेरिकीहरूले सन् २०१२ मा घरपालुवा जनावारमा मात्रै ५१ अर्ब डलर खर्चेको देखाएका छन् । त्यसैगरी, घरपालुवाको लत्ताकपडा ‘कस्ट्युम’मा ३१ करोड डलर खर्चिएका थिए । सन् २०१२ मा अमेरिकामा ९६ अर्ब डलरको बियर र ६५ अर्बको सोडा खपत भएको थियो ।

 

कमेन्ट गर्नुहोस्