
गुल्मीको मुसीकोट नगरपालिका– ८ अर्ज्याको एक परिवार निकै ठूलो पीडामा छ । यो परिवारले भोगेको पीडा सुन्दा शायदै कसैको आँखा नरसाउला ।
दैव पनि कति निष्ठुरी ! त्यसैले त भन्छन्– शत्रु लागुन्, तर दैव कसैलाई नलागुन् । उक्त परिवारका ५ भाइमध्ये ३ जनाको मिर्गौला रोगका कारणनिधन भइसकेको छ भने अर्का एक भाइ जीवन र मरणको दोसाँधमा छन् ।
साविक वामी गाविस वडा नम्बर ८ कलाधार न्यौपानेको वि.सं २०५५ सालतिर शरीर फुलिने समस्याका कारण निधन भयो । त्यतिबेला उनको रोग पहिचान भएको थिएन ।
कलाधरका ५ भाइ छोरामध्ये ३ भाइको मिर्गौला रोगबाट ज्यान गयो । अर्का एक भाइलाई पनि मिर्गौला रोगले जीवन मरणको दोसाँधमा पुर्याएको छ ।
न्यौपाने परिवारलाई नजिकबाट जानेबुझेका आफन्त र छिमेकीहरू कलाधरको पनि मिर्गौला रोगकै कारण निधन भएको बताउँछन् । अहिलेजस्तो सर्वसुलभ स्वास्थ्य सेवा नभएका कारण त्यतिबेला रोगको स्पष्ट पहिचान हुन नसकेको हुनसक्ने उनीहरूको भनाइ छ ।
कलाधरका जेठा छोरा प्रकाशको ३१ वर्षको उमेरमा निधन भयो । २८ वर्षको उमेरमा माइला छोरा तारापतिले ज्यान गुमाए । साइँला डिलारामको गत वर्षको मंसिर १७ गते ३३ वर्षको उमेरमा निधन भयो ।
डिलारामको मिर्गौला प्रत्यारोपण गरिएपनि त्यसले ६ वर्षभन्दा बढी काम नगरेको आफन्तहरू बताउँछन् ।
कान्छा छोरा भोला डेढ वर्षयता मिर्गौला रोगबाट पीडित छन् । उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस थालिएको छ ।
भारतको हरियाणामा काम गर्दागर्दै मिर्गौलाको समस्याले समात्यो । भोला आइतबार यस क्षेत्रमा जुटेको सहयोग रकम लिन रूपन्देही आएका थिए ।
उनी यस क्षेत्रमा जम्मा भएको चार लाख रुपैयाँ लिएर सोमबार भारत गए । उनले भारतमै डाइलाइसिस गराइरहेका छन् ।
पाँच भाइमध्येका काइला सुरज न्यौपाने रोजगारीका लागि साउदी अरबमा छन्, उनलाई भने त्यस्तो समस्या देखिएको छैन ।
‘तीन भाइको मिर्गौला बिग्रिएर मृत्यु भयो । बुबाको पनि मिर्गौला रोगकै कारण मृत्यु भएको हुनुपर्छ,̕ आफन्त पार्वती लामिछानेले भनिन्, ‘दैव पनि कस्तो निष्ठुरीे, तीनै भाइलाई एउटै रोगले लग्यो । एक भाइ जीवनसँग संघर्ष गर्दैहुनुहुन्छ ।
आमा केतुकलाले पनि यो संसारबाट बिदा लिइसकेकी छन् ।
निरन्तरको पारिवारिक पीडाबीच हातमुख जोर्नका लागि भारत हरियणाको रोतक पुगेका बेला भोलालाई मिर्गौला रोग भएको पत्ता लागेपछि डायलासिस थालिएको हो ।
आफू उच्च रक्तचाप, सुगरलगायतका कुनै पनि दीर्घ रोगबाट पीडित नभएको तर एक्कासि पेट दुखेर जचाउँन जाँदा मिर्गौला रोग देखिएको भोलाले बताए ।
मलाई पहिलादेखि कुनै प्रकारको स्वास्थ्य समस्या थिएन, एक्कासि यो रोग देखियो,̕ उनले दुखेसो पोखे । हाल उनको हरियणास्थित मनिमल्टी स्पेसलाइट हस्पिटलमा हप्ताको दुईपटक डायलासिस भैरहेको छ ।
निरन्तरको पीडाले न्यौपाने परिवार आर्थिक रूपमा उत्तिकै पीडामा छ । उपचार गर्ने रकम अभावले भोलाको ओठमुख सुकेको छ ।
श्रीमतीले हरियणामै सानोतिनो खाजा पसल चलाएकी छिन् । तर बिरामी श्रीमान र सानो छोरालाई स्याहार गर्ने जिम्मेवारीका कारण उनले त्यसमा समेत सफलता प्राप्त गर्न सकेकी छैनन् ।
भोला मिर्गौला प्रत्यारोपण गर्न चाहान्छन् । बाँचेर केही गर्ने आशा २७ वर्षीय भोलामा छ । तर मिर्गौला प्रत्यारोपणका लागि चाहिने ठूलो रकमको जोहो कसरी गर्ने; उनी रनभुल्लमा छन् ।
‘मिर्गौला ट्रान्सप्लान्ट गर्ने विचार गरेर आफन्तसँग कुरा गरिरहेको छु, तर पैसा कहाँबाट जुटाउने मैले केही सोच्नै सकेको छैन । आफूसँग अलिअलि भएको सबै भ्याइयो,̕ उनले गुनासो पोखे ।
शुभेच्छुकले संकलन गरेको रकम लिन हरियणाबाट तिलोत्तमा–८ दीपनगर आएका भोला आइतवार निकै निराश मुद्रामा भेटिएका थिए ।
सहयोग गर्न चाहनेहरूलाई उनले साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवल शाखामा रहेको आफ्नो खाता नं. टिपाएका छन् ।
भोलालाई सहयोग गर्न चाहने जोकोहीले उनको खाता नं. ००१२०१००२१५१०३०००००१ मा रकम जम्मा गरिदिन सक्नेछन् ।
उनको उपचारका लागि वामीसँग जोडिएका विदेश रहेका नेपालीहरूले सहयोग गरेका छन् । आइतबार दीपनगरमा वामी विश्व सम्पर्क मञ्च जापान शाखाले जुटाएको तीन लाख ९१ हजार ४८ रुपैंयाँ हस्तान्तरण गरिएको छ ।
यस्तै तिलोत्तमा–८, प्रदीपनगरका वरिष्ठ समाजसेवी चिन्तामणि चालिसे र वामीका राकेश केसीले पनि भोलालाई आर्थिक सहयोग गरेका छन् । मञ्चको जापान शाखा अध्यक्ष बोधशाली गौतमको नेतृत्वमा संकलन भएको रकम निवर्तमान अध्यक्ष रवि घिमिरे, नारायण चालिसे, लालबहादुर थापालगायतले हस्तान्तरण गरेका हुन् ।
उनको उपचारका लागि आर्थिक सहयोग गर्न भोलाका आफन्तहरूले पनि सहयोगको याचना गरेका छन्,’ हाम्रो सानो सहयोगले कसैले पुनर्जिवन पाउँछ भने त्यसमा सबैले सहयोग गर्नुपर्छ । यस्तो पीडा अरूलाई पनि पर्न सक्छ, त्यसैले सहयोगको भावना सबैमा हुनुपर्छ,’ उनका छिमेकीहरू भन्छन् ।