आमाको त्यो सपना, नरभूपालको चड्कन अनि पृथ्वीनारायणको जन्म ! [संस्मरण श्रृंखला– २]

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

आधुनिक नेपाल राष्ट्र वर्तमान स्वरूपमा हुनुको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ । ५० भन्दा बढी ससाना राज्यमा विभक्त नेपाललाई एकीकरण गर्दै सार्वभौमसत्तासम्पन्न बनाउन पृथ्वीनारायणले गरेको योगदान अतुलनीय छ । देश गणतन्त्रमा गएपछि पृथ्वीनारायणलाई अवमूल्यन गर्दै उनी एक युद्धप्रिय, क्रूर र आततायी व्यक्ति थिए अनि उनले गोरखा राज्य विस्तार मात्र गरेका हुन्, यसलाई नेपाल एकीकरण भन्न मिल्दैन भनी अनेकौं कुतर्क गर्न खोजिएको भए पनि कसैको पनि अधीनमा नरहेको स्वतन्त्र नेपाल राष्ट्र बन्नु र यहाँ बस्ने सकलजनले नेपाली भनी गर्व पाउनुमा पृथ्वीनारायणका प्रयास नै प्रमुख कारण हो । 

‘पृथ्वीनारायण शाहले एकीकरणको सूत्रपात नगरेको भए वर्तमान नेपाल विश्वसामु अस्तित्वमै आउँदैनथियो,’ इतिहास विषयका प्रा. डा. राजाराम सुवेदी दाबी गर्छन् । ‘राजनीतिक चेतना भएका विद्वान्, योगी, गाइने र अतिथिहरू गोरखाराज्यमा ओहोरदोहोर गरिरहन्थे । त्यस्ता धेरै बौद्धिक र कूटनीतिक तत्त्वले उनलाई स–साना गाउँ र जिल्लाजस्ता आपसमा भाँडिएका राज्यहरूलाई गोरखाको छत्रछायाअन्तर्गत पारी विशाल नेपाल अधिराज्यको स्थापना गर्ने महत्त्वाकांक्षा पृथ्वीनारायण शाहमा जागृत भयो । समयमै त्यस्तो अभियान सार्थक पार्न सकिएन भने त्यस्ता स–साना राज्यको अस्तित्व छिटै समाप्त हुने कुरा उनले बुझेका थिए ।’ त्यसका लागि स्थायी सैनिक आवश्यक हुन्छ भन्ने चेत भएकाले नै उनले त्यसको प्रबन्ध गरेका थिए । त्यसैले नेपाली सेनाले उनलाई आफ्ना संस्थापक मान्ने गरेको छ । 


Advertisement

पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए भारतमा साम्राज्य जमाएको बसेको बेलायतले नेपाललाई पनि आफ्नो साम्राज्यको अंग बनाउन सक्थ्यो । आखिर आफ्नो साम्राज्यको वरिपरि रहेका साना राज्य हडप्ने उसको दाउ थियो नै । त्यसैले त किनलकको नेतृत्वमा अंग्रेज सैनिक काठमाडौं आउन लागेको थियो । तर पृथ्वीनारायणलाई पश्चिमी शक्तिलाई रोकेर नेपाल देशको अस्तित्व बचाउन योगदान गरे ।

तिनै अद्वितीय व्यक्तित्व पृथ्वीनारायण शाहको २९८औं जन्मजयन्तीमा उनले कसरी नेपाल एकीकरण गरे र उनमा कस्तो किसिमको रणनीतिक कुशलता थियो भन्ने विषयमा यहाँ संक्षिप्त चर्चा गरिनेछ । उनको जीवनका रोचक प्रसंग पनि यहाँ उल्लेख गरिनेछ । यो संस्मरणात्मक आलेख भएकाले यहाँ विस्तृत व्याख्या विश्लेषण भने गरिएको छैन । मात्र पृथ्वीनारायणको योगदानको स्मरण गर्ने यसको अभिप्राय हो ।


Advertisement

गोरखनाथले दही मुखमा राखी पृथ्वीनारायणलाई हात थाप्न लगाई हातमा थुकिदिए र ‘लौ खाऊ’ भने । पृथ्वीनारायणले त्यसरी थुकेको दही खान घिन माने र भुइँमा मिल्काए । दही पृथ्वीनारायणको गोडा परेपछि गोरखनाथले ‘तिमीले दही खाइदिएको भए मुखले बोलेको ठाउँमा तिम्रो विजय हुने थियो तर दही पाउमा परेकाले अब तिमीले टेकेको ठाउँलाई जित्नेछौ’ भने ।

विक्रमको १७७९ साल पुस २७ गते गोर्खामा जन्मेका पृथ्वीनारायण शाहको जन्मअगावैको किंवदन्ती पनि रोचक छ । उनका पिता नरभूपाल शाहका दुई रानी चन्द्रप्रभा र कौशल्यावतीमध्ये पृथ्वीनारायणलाई जन्माउने कौशल्यावती हुन् । किंवदन्ती अनुसार कौशल्यावतीले एक रात सूर्य निलेको सपना देखिन् । यस्तो अद्भुत सपना देखेपछि उनी तत्कालै ब्युँझिन् र पतिलाई यसबारेमा सुनाइन् । नरभूपालले कौशल्यावतीलाई थप्पड लगाए अनि आफू सुते । पतिले अकारण थप्पड लगाएपछि कौशल्यावती रातभरि रोएर बसिन् । भोलिपल्ट उठेर नरभूपालले रोइरहेकी पत्नीलाई फकाउँदै ‘त्यस्तो शुभ सपना देखेर राति नै ब्युझिँदा फेरि सुतेमा त्यसको फलप्राप्ति हुँदैन, त्यसैले जागा राख्न मैले थप्पड लगाएको हुँ’ भने । त्यसकै केही समयपछि पृथ्वीनारायणको जन्म भएको हो ।

उनलाई साँवा अक्षर चिनाउने काम गुरु मोक्षेश्वर जोशीले गरेका थिए । तत्कालीन परिस्थितिमा शिक्षाको समुचित प्रचारप्रसार नभएकाले उनले विशेष शिक्षादीक्षा लिन नपाएको देखिन्छ तर उनको अन्तःप्रज्ञा प्रबल देखिन्छ । कूटनीतिक तथा रणनीतिक चातुर्य उनमा भरपूर भेटिन्छ । 

उनी सात वर्षका हुँदा गोरखामा रहेको शिवगोरक्ष गुफामा खेल्न गएको र त्यहाँ गुरु गोरखनाथलाई भेटेको किंवदन्ती पाइन्छ । ‘ॐ जय गोरखा’ नामक पुस्तकमा योगी नरहरिनाथले लेखेको कथा यहाँ संक्षेपमा प्रस्तुत गरौं ः पृथ्वीनारायण सात वर्षका हुँदा शिवगोरक्ष गुफा पुगे । गुफामा उनलाई देखेर गोरखनाथले यस बालकमा अद्वितीय क्षमता छ भन्ने पहिल्याए । अनि गोरखनाथले प्रसन्न भई पृथ्वीनारायणका शिरमा दाहिने हात राखेर ‘जय जीव’ भन्दै वरदान दिए । गाईको दूधबाट बनेको दही आमासँग मागेर ल्याउन उनले आदेश दिए । पृथ्वीनारायण शाहले जेठीआमा चन्द्रप्रभा देवीलाई यो कुरा सुनाए । चन्द्रप्रभाले उनलाई दही दिएर पठाइन् र उनले दही गोरखनाथलाई दिए ।

गोरखनाथले उक्त दही मुखमा राखी पृथ्वीनारायणलाई हात थाप्न लगाई हातमा दही थुकिदिए र ‘लौ खाऊ’ भने । पृथ्वीनारायणले त्यसरी थुकेको दही खान घिन माने र भुइँमा मिल्काए । दही पृथ्वीनारायणको गोडा परेपछि गोरखनाथले ‘तिमीले दही खाइदिएको भए मुखले बोलेको ठाउँमा तिम्रो विजय हुने थियो तर दही पाउमा परेकाले अब तिमीले टेकेको ठाउँलाई जित्नेछौ’ भने । पृथ्वीनारायणले आमा चन्द्रप्रभालाई यो कुरा सुनाउँदा उनले थकथक मान्दै दही खाइदिएको भए हुन्थ्यो, अब पैदलै तीर्थयात्रा गर्नू भनेपछि उनले भाइभारदारका साथ हिमालय क्षेत्रका विभिन्न तीर्थस्थल भ्रमण गरेका थिए । 

अनि विवाहको उमेर भएपछि पृथ्वीनारायण शाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग बिहे गर्न पुगेका थिए । तराईसँग जोडिएर राम्रो कमाइ खाइरहेको बलियो मकवानपुरसँग सुमधुर सम्बन्ध राख्दा फाइदा हुन्छ भन्ने जानेर उनले त्यहाँकी राजकुमारीसँग बिहे गरेका हुन् । विवाह भए पनि उनले रतिसुख प्राप्त गर्न नपाएको अनि त्यस अतृप्त इच्छाले उनलाई नेपाल एकीकरण गर्न थप प्रेरित गरेको इतिहासविद् प्रा. दिनेशराज पन्तको कथन छ । उनका अनुसार, ‘विवाहिता पत्नीलाई गोर्खा ल्याउनका लागि मकवानपुर पुग्दा जेठान दिग्बन्धन सेनले अपमान गरेकाले स्वाभिमानी पृथ्वीनारायणलाई त्यो सह्य भएन र उनी दुलही नलिई रित्तै फर्किए । उनी मकवानीहरूलाई सिध्याउने योजना बनाउन थाले । अनि मकवानपुर आउजाउ गर्दा चन्द्रागिरीबाट उनले काठमाडौं उपत्यका देखे र यसलाई पनि जित्न पाए हुन्थ्यो भन्ने कल्पना गरे ।’ 

त्यसपछि पृथ्वीनारायणले पिता नरभूपाल शाहले बाँकी राखेको काम फत्ते गर्ने मनसुबा बनाए । त्यसो त पृथ्वीका पूर्खाहरूले आफूवरिपरि बाईसे चौबीसे राज्यहरू देखेर कुनै पनि बेलामा आफूमाथि आक्रमण हुन सक्छ र आफूले पनि राज्य विस्तार गर्नुपर्छ भन्ने अनुभव गरेका थिए । नरभूपालले त्यसै परम्परामा रही गोर्खा राज्य विस्तार गर्नका लागि नुवाकोट आक्रमण गरेका थिए । तर उनी त्यसमा सफल भएनन् । 
पिताको मृत्युपछि आफू बीस वर्ष पुगेका पृथ्वीनारायणले १७९९ चैत २५ मा राज्यारोहण गरेका थिए । राजा हुनेबित्तिकै तीर्थयात्रा गर्नुपर्ने प्रचलन रहेकाले उनी काशी गए । त्यहाँ गएर उनले तीर्थयात्रा त गरे नै, साथै भारतीय राजनीतिको पनि सूक्ष्म अवलोकन गरे । अनि बन्दूक, हातहतियार र हतियार बनाउने कालिगढ पनि साथै लिई आए । 

त्यसपछि उनले नुवाकोट आक्रमण गरे तर राम्रो योजना नबनाएकाले त्यसमा सफलता पाएनन् । तर हारबाट नआत्तिइकन सुझबुझपूर्ण रणनीति अख्तियार गरेर उनले नुवाकोटमाथि पुनः आक्रमण गरेर १८०१ मा विजय प्राप्त गरे । त्यसक्रममा उनले जलुवा माझीको सहयोग लिएर रातको समयमा शुभघाटबाट त्रिशूली नदी तर्दै महामण्डल डाँडो चढेर नुवाकोटेले खबरै नपाउने गरी आक्रमण गरेर विजय पाएका हुन् (माधवराज गौतम, अनेकौंका दृष्टिमा राष्ट्रनिर्माता, पृ ४१) । यही विजय नेपाल एकीकरणको आरम्भविन्दु हो ।

काठमाडौं उपत्यका विजय गर्नका लागि वरिपरिका पहाडी क्षेत्रलाई पहिले हात पार्नुपर्छ भन्ने थाहा पाएरै पृथ्वीनारायणले नुवाकोट विजय गरेका थिए । त्यसपछि नाल्दुम विजय गरेर उनले उत्साहित हुँदै १८१४ जेठ १९ गते कीर्तिपुरमा आक्रमण गरे । कीर्तिपुर रणनीतिक रूपले महत्त्वपूर्ण क्षेत्र भएकाले काठमाडौं, पाटन र भक्तपुर मल्ल राजाहरूले त्यसलाई जोगाउन आफ्ना सैनिक पठाए । युद्धमा गोर्खालीहरू पराजित भए अनि पृथ्वीनारायणका विश्वासपात्र कालु पाँडेले पनि ज्यान गुमाउन पुगे ।

कीर्तिपुरमा दोस्रोपटक आक्रमण गर्दाको एक रोचक प्रसंग सुजित मैनालीको पुस्तक ‘शिलान्यास’मा उल्लिखित छ । ‘कीर्तिपुरमाथिको दोस्रो हमला सफल बनाउन उनले धर्मको सहारा खोजे । त्यही बेला गोरखनाथ सम्प्रदायका योगी भगवन्तनाथ उनको सम्पर्कमा आइपुगे । 

विवाह भए पनि उनले रतिसुख प्राप्त गर्न नपाएको अनि त्यस अतृप्त इच्छाले उनलाई नेपाल एकीकरण गर्न थप प्रेरित गरेको इतिहासविद् प्रा. दिनेशराज पन्तको कथन छ ।

पृथ्वीनारायणले भगवन्तनाथसँग सल्लाह मागे– ‘कीर्तिपुरमाथि कसरी विजय गर्न सकिएला ?’ उनले भने– ‘मन्त्रद्वारा सिद्ध गरेर म हजुरलाई एउटा तित्रो दिन्छु । आक्रमणमा जानुभन्दा पहिले त्यसलाई कीर्तिपुरभन्दा बाहिर लगेर छोडिदिनू । त्यो अवश्य पनि भित्र गएर बस्नेछ । यसबाट हजुरको जित हुन सक्छ ।’

दोस्रो हमला गर्नुअघि गोरखाली फौजले कीर्तिपुरभित्र मन्त्रिएको तित्रो छिराउने प्रयत्न गर्‍यो । डाँडामा रहेको कीर्तिपुरवरिपरि गहिरा खाल्डा खनिएका थिए । त्यसलगत्तै अग्ला–अग्ला पर्खाल बनाइएका थिए । गोरखाली सैनिकले पर्खालबाहिरबाट तित्रो नगरभित्र पठाउने प्रयास गरे । कीर्तिपुरवासीले हाः हाः गरेर त्यसलाई बाहिरै धपाइदिए । गोरखाली सैनिक फेरि पनि पराजित भए । वाण लागेर पृथ्वीनारायणका भाइ शूरप्रतापको बायाँ आँखा फुट्यो ।’

वंशराज पाण्डेको नेतृत्वमा गोरखाली फौजले तेस्रो आक्रमण गर्‍यो । कीर्तिपुरमा धान भित्र्याउने बेला परेकाले अनि उपत्यकाका राजाले सहयोग गर्न नआएकाले कीर्तिपुरलाई गोरखालीहरूले हराउन सफल भए ।
त्यसपछि पृथ्वीनारायणले नाकाबन्दीको रणनीति अपनाउँदै काठमाडौं उपत्यकालाई अप्ठ्यारो पार्दै लगेका थिए । अनि उनले १८१९ मा मकवानपुरमा आक्रमण गरेर त्यसमाथि पनि विजय पाइसकेका थिए । त्यसपछि कीर्तिपुर पनि विजय हासिल गर्दै उपत्यका वरपरका अन्य ठाउँ उनले जित्दै गए ।

आफ्नो शासन गुम्न लागेको भेउ पाएका जयप्रकाश मल्लले पृथ्वीनारायणको विजययात्रा रोक्नका लागि अंग्रेजलाई गुहारे । ईस्ट इन्डिया कम्पनी अन्तर्गत बंगालका तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टले जयप्रकाशको अनुरोध सहर्ष स्वीकार्दै किनलकको नेतृत्वमा २४ सय अंग्रेज सैनिकहरू पनि यहाँ कब्जा जमाउन पाइने लोभमा पठाए । तराईसम्म आउँदा त उनीहरूलाई कुनै अवरोध भएन तर पहाड उक्लिन थाल्दा गोरखालीहरूले भीषण आक्रमण गरे ।

सिन्धुलीगढी हुँदै काठमाडौंतिर अंग्रेजहरू आउन लागेको भेउ पाएका पृथ्वीनारायण शाहले सिन्धुलीगढी रक्षा गर्न पठाएको वीरभद्र पाँडे, वीरभद्र उपाध्याय र वंशु गुरुङको समूहले पहाडबाट ढुंगा बर्साएर भीषण आक्रमण गरेकाले अंग्रेज फौज मार्टिन हेनरी राइफल सहित हातहतियार छोडेर जंगलतिर भागे ।

अंग्रेज धपाएपछि चौबीसे राज्यहरूबाट उपत्यकामाथि हुन सक्ने आक्रमण रोक्न पृथ्वीनारायणले आफ्नी छोरी विलासवतीलाई सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभीम शाहसँग विवाह गराए । यसबाट पनि उनको सुझबुझ र रणनीतिक कुशलता झल्किन्छ ।      

यता काठमाडौंमा अंग्रेजलाई बोलाएर जयप्रकाशले आफ्नै सैनिक र जनतालाई आक्रोशित बनाए । अनि गोरखाली नाकाबन्दीका कारण पनि काठमाडौंवासीहरूको जीवन अप्ठ्यारोमा परेर विद्रोहको स्थिति आयो । यस्तो सुवर्ण मौका खोजिरहेका पृथ्वीनारायणले १८२५ मा इन्द्रजात्राको दिन नरदेवी, टुँडिखेल र भीमसेनस्थानबाट आक्रमण गरी काठमाडौंमा विजय हासिल गरे । त्यसपछि युद्ध नगरिकनै पाटन विजय गर्न उनी सफल भए ।

भक्तपुर विजय गर्नका लागि चाहिँ पृथ्वीनारायणले १५ सयजनाको सशस्त्र फौज पठाए । भीषण युद्ध भयो र धेरै मानिस मरे । १८२६ मा भक्तपुरका राजा रणजीत मल्लले आत्मसमर्पण गरे । यसरी काठमाडौं उपत्यकामा पृथ्वीनारायणको आधिपत्य कायम भयो ।

गोरखाली सैनिकको गोली लागेका जयप्रकाश मल्लको मृत्युपछि सरकारी कोषबाट प्रत्येक वर्ष श्राद्ध गर्न लगाउने, काठमाडौं विजयपछि जीवित देवी कुमारीबाट आशीर्वाद लिने लगायतका काम गरेर पृथ्वीनारायणले सहिष्णुताको उदाहरण प्रस्तुत गरे र यस भावले उनलाई शासन चलाउन सहज भयो ।

काठमाडौं उपत्यकाको विजयपछि पृथ्वीनारायणले पश्चिमतर्फका चौबीसे राज्यमा आक्रमण गरे पनि त्यसमा सफल हुन सकेनन् । त्यसपछि उनी पूर्वतिर लागे अनि चौदण्डी र विजयपुर जित्न सफल भए । 
१८३१ मा नुवाकोट पुगेको बेलामा निकै बिरामी परेपछि पृथ्वीनारायण शाहको देहान्त त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटमा हुन पुगेको थियो । मर्नुअघि उनले बताएका कुरा भाइभारदारले टिपेर त्यसलाई दिव्योपदेश नाम दिए ।

१८३१ मा नुवाकोट पुगेको बेलामा निकै बिरामी परेपछि पृथ्वीनारायण शाहको देहान्त त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटमा हुन पुगेको थियो । मर्नुअघि उनले बताएका कुरा भाइभारदारले टिपेर त्यसलाई दिव्योपदेश नाम दिए ।

दिव्योपदेशमा नेपालले अवलम्बन गर्नुपर्ने राजनीति र कूटनीतिको राम्रो शिक्षा पाइन्छ । ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ’ भनी जनभावना अनुसार काम गर्ने निर्देशन दिइएको छ भने ‘निञानिसाप बिगार्ने भन्याका घुस लिन्या र घूस दिन्या हुन्’ भनेर भ्रष्टाचार निर्मूल पार्नका लागि प्रयास गर्नुपर्ने अर्ती छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि ‘देसका कपरा लगाउन मन्हाई गरिदिनू, आफ्ना देसका कपरा बन्न जान्यालाई नमूना देखाई बन्न लाउनू’ भनी उनले उपदेश दिएका छन् । भारतमा महात्मा गान्धीले विदेशी कपडा बहिष्कार गर्ने अभियान पृथ्वीनारायणले बताएको २०० वर्षपछि चलाएको देखिन्छ ।

अनि दुई शक्तिराष्ट्रबीचमा बसेर आफ्नो सार्वभौम अस्तित्व जोगाउन उनले उपदेश दिए– यो राजे दुई ढुंगाबीचको तरुल जस्तो रहेछ, चीन बादशाहसँग ठूलो घाहा राषनु, दषिनको समुद्रका बादशाहसित घाहा त राषनु, तर त्यो महाचतुर छ । दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न यसले प्रेरित गरेको छ र नेपालको संविधानले समेत असंलग्नताको उल्लेख गरेर पृथ्वीनारायणको उपदेशको अनुपालन गरिरहेको स्थिति छ ।

उनका उपदेशलाई अंगीकार गरेर त्यसलाई कार्यान्वयन गराउन सके पनि धेरै हदसम्म यस मुलुकको भलो हुने थियो ।

पढ्नुहोस्, भाग – १ :

दोस्रो विश्वयुद्धपछि क–कसले भोगे सुलेमानीकै नियति ? [संस्मरण श्रृंखला– १]

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्