स्ववियु निर्वाचन : आश कि त्रास ?

माघ २२, २०७५

सरकारले फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने बताएसँगै त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यक्रमको शुरूआत गरेको छ । विभिन्न अन्तर्विरोधहरूले ग्रस्त राजनीतिमा यस निर्वाचनले अर्को तरंग ल्याउँदैछ ।

अघिल्लो वर्ष स्थानीय, प्रादेशिक अनि राष्ट्रिय चुनाव सफल रूपमा समापन भएपछि विद्यार्थीको चुनाव पनि राजनीतिक दलको शक्ति मापन र आर्जनको एक परम्परागत सूचकांक हुन सक्छ । हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि एकैपटक आठ वर्षपछि २०७३ मा मात्र भएको थियो तर यसपटक भने समयमा नै हुने अभ्यास हुँदैछ । 


ADVERTISEMENT

देशका राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको सबल संलग्नता थियो र रहन्छ । युवा समृद्घ देशको आधारस्तम्भ भने जस्तै विद्यार्थी राजनीतिको आधारस्तम्भ बनेका छन् । अझ शिक्षा र युवा दुवैलाई समेटर हुने गतिविधिले धेरैको ध्यान तान्छ, स्ववियु चुनाव यस्तै एउटा मोड हो । विद्यार्थीको सरकार भनेर विश्वव्यापी मान्यता स्थापित गरेको यस्तो चुनाव शिक्षाका विभिन्न बेथितिहरूलाई सम्बोधन गर्दै विद्यार्थीको हकहित प्रत्याभूति गर्नलाई एक आवश्यकता समेत हो । 

आवश्यकताको आत्मसात 
हाम्रो शिक्षा प्रणालीमा असंख्य समस्याहरू छन् । दीक्षितहरू शिक्षाले दिनुपर्ने दक्षता र विशिष्टता प्राप्त नगरेको महसूस गर्छन् । विश्वविद्यालयहरू निराश मनस्थिति भएका बेरोजगार जन्माउने यन्त्र बन्दैछन् । प्राध्यापक/शिक्षकहरू शिक्षामा कम र राजनीतिमा बढी सक्रिय छन् । यस्ता अनेकौं समस्याको निराकरणमा विद्यार्थीको सरकार भनिने यस्तो निकायको सकारात्मक योगदान चाहिन्छ । 

विश्वविद्यालयका प्राध्यापकको विज्ञता र विद्वत्ताको परिमिश्रणबाट समाज अग्रगमन गराउने नयाँ चिन्तनहरू प्रस्फुटन हुन्छन् । नासाका वैज्ञानिक प्राध्यापकहरू मंगलग्रहमा मानव बस्ती बसाउन अनुसन्धान गर्दैछन् । लन्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापकहरू समस्त युरोपको आर्थिक पुनर्जागरणलाई मजबूत गराउन नयाँ चिन्तन÷मन्थनमा छन् । संसारमा सबैभन्दा धेरैवटा संस्कृत विश्वविद्यालयहरू रहेको जर्मनीका थुप्रै प्राध्यापकहरू ज्ञानको खोजमा नयाँ क्षितिज केलाउँदैछन् । पूर्वीय दर्शनमा ज्ञानको विशाल भण्डार सृजना गरेका कौटिल्य तत्कालीन तक्षशिला विश्वविद्यालयका प्राध्यापक थिए । राज्यले सबै विषयमा अन्तिम धारणा बनाउन उनको सहयोग लिन्थ्यो । संसारका नामुद दर्शन तथा सामाजिक एवं आर्थिक परिवर्तनका सूत्रपात गर्नेहरू अधिकांश प्राज्ञिक पृष्ठभूमिकै छन् । 

यस्ता नजीरका बाबजूद हाम्रा प्राध्यापकहरू चाहिँ कहिले र कस्तो आन्दोलन गर्ने, धर्नामा के हुने भन्ने मात्र कार्यक्रम बनाउँछन् । आम विद्यार्थी प्रताडित छन् । शिक्षाले देशमा बस्ने र देशको सम्मान गर्ने नागरिक उत्पादन गरेको छैन । विश्वविद्यालयले उच्चस्तरका जनशक्ति उत्पादन गर्न सकेनन् । 

समुन्नत राष्ट्रनिर्माण सिद्धान्तका प्रतिपादकहरू सान्हा वन्द्योपाध्याय, सी हार्वर, जान जी जानम्याट शिक्षाको गुणस्तर र समयसामयिकतालाई उच्च महत्त्व दिन्छन् । प्राचीन दर्शनमा पूर्वका कौटिल्य, कन्फ्युसियस, मनुदेखि पाश्चात्य जगतका प्लेटो, सुकरातले समेत शिक्षामा राज्यको विशेष निगरानी तथा प्रयासको आवश्यकता दर्साउँथे । विकसित देशहरूले त ‘एजुकेसन इज द चीफ डिफेन्स अफ नेसन’ अर्थात् राष्ट्रको मुख्य सक्षमता नै शिक्षा हो भन्छन् । सोही कुरा आत्मसात गरेर जापानले दोस्रो विश्वयुद्धपछि धेरै वर्षसम्म बजेटको लगभग ४९ प्रतिशत शिक्षामा लगाउँथ्यो । हाम्रो बजेटको विशाल हिस्सा शिक्षामा नै जान्छ । समृद्घ देश निर्माण त्यो खर्चको एकमात्र र अन्तिम अपेक्षा हो । उच्च शिक्षामा भएका यही आशाकोे प्रत्याभूति गर्न सकारात्मक, समन्वयकारी काम गर्नु विद्यार्थीको सरकार भनिने त्यसको संगठनको प्रमुख जिम्मेवारी हो । तर विद्यार्थी राजनीतिको ध्यान अन्तै बिटुलिएको छ ।   

बिटुलिएको ध्यान
शिक्षाको विकास, पुनःसंरचना अनि विद्यार्थी हकहितको दुहाइ दिने थुप्रै संगठन भए पनि शिक्षाको अवस्था निकै कमजोर छ । सरकारी शिक्षा भयावह अनि निजी शिक्षा व्यापारीकरण हुँदैछ । हाम्रो शिक्षाले केवल खाडी मुलुकलाई कुल्ली र विकसित देशलाई  प्राविधिक जनशक्ति पठाउँदैछ । शहरका गल्ली÷गल्लीमा विदेश पठाउने परामर्शदाताहरू छन् । हामीले अभ्यास गरेका शिक्षाले देशको प्रगति सोच्ने, त्यसका लागि काम गर्ने मानव स्रोतसाधन तयार गरेकै छैन ।

शिक्षा भनेको प्रमाणपत्रको थाक र सूचनाको भारी हैन, सोच र चेतनाको स्तर हो । सत्कर्म, सदाचार र शिष्टाचार बढावा गर्ने कुरा हो । तर विद्यार्थीको राजनीतिले शिक्षामा यस्तो विशेषता निर्माण गराउन सकेको छैन । 
पहिले/पहिले विद्यार्थीको पढ्ने अधिकार स्थापित गर्न विद्यार्थी राजनीतिको अभ्यास हुन्थ्यो । तर आजकल विद्यार्थीलाई अध्ययनबाट वञ्चित गर्नु चाहिँ विद्यार्थी राजनीतिको मुख्य ध्येय जस्तो देखिन्छ । धर्ना, जुलुसबाहेक अन्य कुराहरूमा विद्यार्थी राजनीति केन्द्रित हुनसकेको छैन । 

शिक्षालयहरू पार्टीका प्रयोगशाला बन्दैछन् । कलेजभित्र ठुला÷ठुला ब्यानर टागिन्छन्,  आन्तरिक लफडाबाजी चल्छ । तोडफोड मात्र हैन, पुस्तकालयमा आगजनी गर्ने काम हुन्छन् । कलेज प्रशासनलाई भर्ना, परीक्षा जस्ता पक्षमा दबाब दिइन्छ । विद्यार्थी राजनीति गर्न र त्यसलाई कमाई खाने भाँडो बनाउन एक मानिस वर्षौंसम्म विश्वविद्यालय आइरहन्छ । प्रशासनको मिलेमतोमा भ्रष्टाचार गरिएको पनि सुनिन्छ । देशमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउने हैसियतमा शिक्षण गतिविधि गरिरहेका केही संस्थाहरू छन् । उनीहरू विद्यार्थी राजनीतिलाई कति पनि चाहँदैनन् । अधिक राजनीतिका र बेवास्ताका कारण क्षमताले भ्याएसम्म कसैको पनि प्राथमिकतामा सरकारी शिक्षा पर्दैन । विद्यार्थी राजनीति पढ्न चाहने विद्यार्थीलाई आश कम र त्रास बढी बन्दैछ । 

अधिकांश विद्यार्थीहरू राजनीतिले गर्दा अध्ययन÷अध्यापन अस्तव्यस्त रहेको भन्छन् । यसरी विद्यार्थीका कस्ता हक अधिकार सम्भव हुन्छ, यो प्रश्न पेचिलो बन्दैछ । सघन विद्यार्थी राजनीति हुने कलेजका उत्पादन अधिकांश असफल देखिन्छन् । यसले पनि विद्यार्थी राजनीतिले गलत पथ लिएको प्रमाण दिन्छ । तर विश्वजगतमा विद्यार्थी राजनीतिका अलौकिक उदाहरणहरू पनि प्रशस्त छन् । 

विद्यार्थी राजनीतिका अनुपम उदाहरण
थुप्रै देशमा सबल र सक्षम विद्यार्थी राजनीतिमा हुन्छन् । शिक्षाको परिवर्तनमार्पmत देशको अग्रगमनलाई जोड दिन्छन् । अमेरिकामा सन् २००९ पछिका शोधले अहिलेका अधिकांश चिन्तक, दार्शनिकहरू पहिले विद्यार्थी राजनीतिमा भएको देखाउँछ । 

इटलीका कतिपय विश्वविद्यालयहरू पढाइमा अव्बल र सर्वाेत्कृष्ट विद्यार्थीलाई मात्र राजनीति गर्ने छुट दिन्छन् । उनीहरू अध्ययन तथा अनुसन्धानमा निकै समय खर्चन्छन् । विद्यार्थीको शैक्षिक तथा सृजनात्मक पक्षलाई सघन पार्ने रचनात्मक कार्यक्रम गर्छन् । 

क्याम्ब्रिज विश्वविद्यालयमा राजनीतिमा संलग्न विद्यार्थीहरूले घरविहीनका लागि घर निर्माण गरेका उदाहरण छन् । चलिरहेका पाठ्यक्रमको उपादेयतामा छलफल गर्दै समय सुहाउँदो पाठ्यक्रम ल्याउन उनीहरू सहयोग गर्छन् ।

समुदायमा गएर मानिसहरूलाई सचेत गराउँछन् । बेलायतका अधिकांश कलेजहरूमा नेसनल युनियन अफ स्टुडेन्ट नामक स्ववियु जस्तै संगठन हुन्छ । त्यसका सदस्यहरू मानिसलाई अध्ययन गर्ने संस्कार बसाउने, सीपमूलक तालिम दिने, समुदायको सरसफाइ गर्ने, सरकारलाई कानून कार्यान्वयनमा सघाउने, प्रहरीलाई अपराधी नियन्त्रणमा सघाउने कामहरू गर्छन् ।  

क्याटरिङ फाउन्डेसनका निकोलस पी लाेंगो र न्युयोर्क विश्वविद्यालयका रोज पी मोयरको संयुक्त अध्ययनले संसारका विभिन्न देशमा विद्यार्थी राजनीतिको ब्यानरमा असंख्य सकारात्मक परिवर्तनका काम भएको देखाउँछ ।

पोल्यान्डका विद्यार्थी संगठनहरूले शहरका चोकमा धनीहरूबाट सहयोग संकलन गरी गरीबहरूलाई बाँड्ने गरेको देखिन्छ । जापान, कोरिया, हङकङ जस्ता देशहरूमा विद्यार्थी संगठनले देशको आवश्यकता अनुसार दक्ष, प्राविधिक, वैज्ञानिक प्रकारको शिक्षा प्रणाली निर्माण गर्न सघाउँछन् । शैक्षिक गतिविधिलाई नियमित र निःसन्देह बनाउँछन् । विद्यार्थीहरू सकेसम्म धेरै दक्ष र लाभान्वित बनून् भन्ने उद्देश्य राख्छन् । विश्वविद्यालयबाट मात्र सम्भव नभए संगठनको तर्फबाट विद्यार्थीका लागि अतिरिक्त कक्षाहरू चलाउँछन् । सरकार तथा विश्वविद्यालयका तर्पmबाट हुने शिक्षाका विकासका सशक्त सहयोगी बन्छन् । तर सहप्राध्यापक मिना ओझाको शोधले नेपालका विद्यार्थी संगठनहरू तोडफोड, नारा जुलुस तथा राजनीतिक नेता जन्माउने इन्क्युबेटर भएको देखाउँछ । यसरी बिटुलिएको विद्यार्थी राजनीतिलई सम्मानयोग्य बनाउन  फरक बाटो हिँड्नुपर्छ । 

फेर्नुपर्ने बाटो
अब स्ववियु तथा पूरै विद्यार्थी राजनीति पुनर्गठित बन्नुपर्छ । विद्यार्थीको गुणस्तर प्रवर्द्धनको पहल गर्नुपर्छ । उनीहरूको सिकाइ क्रियाकलापले समाजलाई दिएको योगदानको मूल्यांकन गर्नुपर्छ । अनुसन्धानमा लगानी गर्नुपर्छ । 
राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा तथा सेमिनार गर्दै नयाँ प्रकारका पाठ्यक्रम निर्माण गर्नुपर्छ । देशमा आगामी ५, १० र १५ वर्षभित्र शिक्षामा हुनुपर्ने परिवर्तनको मार्गचित्र बनाउँदै त्यसको अभ्यास गर्नुपर्छ । राजनीति गर्नलाई शिक्षालयहरूको प्रयोग बन्द गरिनुपर्छ । रामरमिता, लडाईं/झगडाको मात्र पर्यायवाची बन्ने परम्परा विस्थापित हुनुपर्छ । शिक्षामा पछिल्लोपटक निकै प्रभावकारी मानिएका ‘केएसए’ र ‘आईफोर’ जस्ता अवधारणा साकार पार्न योगदान गर्नुपर्छ ।

भारतमा शिक्षामा क्वालिटी सर्कलको अवधारणा ल्याइयो । देशको आर्थिक समृद्घिमा प्रविधिको महत्त्वपुर्ण भूमिका औंल्याउँदै थाइल्यान्डले विद्यार्थी संगठनको सुझावमा २४ वटा बायोटेक्नोलोजी विश्वविद्यालयहरू स्थापना ग-यो ।

अहिले गुणस्तरीय, उत्पादनमूलक, वैज्ञानिक र प्राविधिक शिक्षाको आवश्यकता छ । विद्यार्थीको राजनीतिले देशको आर्थिक विकासलाई सघाउने र दीक्षितलाई आत्मनिर्भर गराउने  नयाँपन शिक्षा सृजनामा योगदान गर्नुपर्छ ।

समयमै नतिजा प्रकाशन गर्ने, समय÷समयमा पाठ्यक्रम पुनरवलोकन गराउने, विद्यार्थीहरूमा अनुसन्धानात्मक सोच र व्यवहार साथै सदाचारको विकास गराउने कुरा विद्यार्थी राजनीतिको प्राथमिकता हुनुपर्छ । 

शिक्षा देशका सबै मानिसहको जिज्ञासाको विषय हो । विद्यार्थी राजनीति शिक्षामा सकारात्मक परिवर्तनको एकमात्र र पहिलो कारण बनेको देखिनुपर्छ । त्यसबेला स्वबियु निर्वाचनमा जनमानसको सरोकार रहन्छ । अन्यथा विश्वविद्यालय र कलेजहरूलाई राजनीतिक पार्टीका स्थायी र दुर्गन्धित गोठ बनाउँदै दलहरूको शक्ति र सम्भाव्यता परीक्षण गर्न मात्र हुने स्ववियु चुनावको खासै महत्त्व रहँदैन ।

माघ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस