
आफ्नो जग्गा मिचेर बनाइएको सडकमा पर्खाल लगाएपछि पीडितले सैनामैनाको मुर्गिया-सिसौडाडा सडक अवरुद्ध गरेका छन्।
अरुले सार्वजनिक जग्गा मिचेर घर बनाउँदा आफ्नो जग्गामा मात्रै सडक बनेको भन्दै सैनामैना ४ सिसौडाडाका कृष्णबहादुर थापाले सडकमै पर्खाल लगाइदिएका हुन्।
पीडित भएको भन्दै उनले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेका थिए। अदालतले सैनामैना नगरपालिकासहितलाई निजी जग्गामा सडक विस्तार नगर्न आदेश दिएको छ। अदालतको आदेश नगरपालिकाले कार्यान्वयन नगरेको र आफू पीडित भएको भन्दै उनले दवाव दिन सडकमै पर्खाल लगाएका हुन्।
सिसौडाडाका ५ घरले करिव तीन कठ्ठा जमिन मिचेका छन्। तर नगरपालिकाले मिचेको जमिनका संरचना नहटाई निजी जमिनमै सडक विस्तारको काम गरिरहेको छ।
सैनामैना नगरपालिका ४ सिसौडाडामा रहेको सार्वजनिक बाटो कित्ता नं २३२ को करिव तीन कठ्ठा जमिन अक्रिमणमा परेको हो। हाल कित्ता नं. २३२ को सार्वजनिक बाटोमा कित्ता नं १७७०, ५१५, १३६९, १३७०, १०६७ र ७४० का जग्गाधनिहरु तुलसा बस्याल, डीलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठ लगायतले भौतिक संरचना निर्माण गरेका हुन। सडक मिचेका उनीहरुले जानकारी नपाएर यस्तो भएको जनाएका छन्।
जबकि नापीको फिल्डबुकमा स्पष्ट रुपमा नै सडक देखाइएको छ।
उनीहरुले सडक मिच्दा थापाको २७ धुर जग्गा सडकमा परेकाे छ। उनले आफ्नो जग्गा दिएर सडक विस्तार गर्न नसक्ने बताए। ‘आफ्नो जमिननै सकेर सडक बनाउने कुरा भएन, सडक सडककै जग्गामा बनाइयोस भन्ने मेरो माग हो,’ उनले भने।
सडकको जग्गा मिचिएको प्रतिवेदन नापी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत दिइसकेको छ। सैनामैना नगरपालिकाले भने सडक मिच्नेलाई नै पश्रय दिँदै पीडित थापालाई क्षतिपूर्ति भन्दै धुरको एक लाख दिने सहमति गराएको थियो । तर त्यही सहमति समेत कार्यान्वयन नभएपछि उनले सडकमै पर्खा लगाएका हुन्।
सैनामैना वडा नम्बर ४ का वडाध्यक्ष धनवहादुर कार्की पुरानो बाटो नक्साभन्दा पश्चिम सरेकाले समस्या भएको बताए। ‘विवाद मिलाउने गरी दुई पक्षीय सहमति गरिएको हो, तर अहिले फेरि बाटो नै बन्द भएको छ,' उनले भने। उनका अनुसार पीडित थापालाई जग्गा मिचिए बमोजिम २७ धुरको २७ लाख रुपैया दिने सहमति भएको थियो। पर्खाल निर्माणपछि सडक पूर्ण रुपमा बन्द भएको छ।
फिल्ड नक्सा अनुसार सडक कायम गर्दा आधा दर्जन घर भत्काउनुपर्छ। जनप्रतिनिधिले राजनीतिक प्रभावमा सडक मिच्ने घर भत्काउन आनाकानी गरेका छन्।
घर नभत्काए थापा सहितका केही व्यक्तिको निजी जग्गामा नै ३० फुटे सडक हुनेछ। त्यसो हुदा उनीहरु घरबारबिहिन हुनेछन्।