२७ असार २०८३, शनिबार

प्रदेश ५ मा अझै सञ्चालनमा आएन प्रयोगशाला, सीमापारिको गाउँमा कोरोना भेटिँदा नेपालतर्फ त्रास

चैत २३, २०७६
प्रदेश ५ मा अझै सञ्चालनमा आएन प्रयोगशाला, सीमापारिको गाउँमा कोरोना भेटिँदा नेपालतर्फ त्रास

अन्य प्रदेशमा कोरोना भाइरसको चेकजाँच गर्ने प्रयोगशाला सञ्चालनमा आइसकेका छन्, तर प्रदेश ५ मा भने उपकरण आइपुगेको ४ दिन बित्दापनि प्राविधिक समस्याले कोरोनाको चेकजाँच शुरू हुन सकेको छैन । 

प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले कोरोना जाँच गर्ने मुख्य उपकरण (बायो सेफ्टी क्याबिनेट) ले एयर सर्कुलेसन गराउन समस्या देखिएकाले जाँच शुरू गर्न ढिलाइ भएको बताए । 

उनले लोकान्तरसँग भने, ‘मेसिनमा एयर सर्कुलेसनमा टेक्निकल समस्या आएको छ, त्यसको मर्मतको काम भइरहेको छ, सकेसम्म हामी आजै (आइतबार)देखि जाँच शुरू गर्नेछौं ।’

प्रदेश ५ को रूपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली परिसरभित्रको बीउबिजन कार्यालयमा प्रयोगशालाको कार्यालय राखिएको छ ।

यहाँ पहिले क्षेत्रीय प्रयोगशाला थिएन, पूर्वाधारको अभाव थियो । अन्य प्रदेशमा क्षेत्रीय प्रयोगशाला थिए । 

‘कोरोना परीक्षणका लागि पीसीआर मेसिन मात्रै नराखी सँगै बीएसएल टु क्याबिनेट बायो सेफ्टी लेभलको प्रयोगशाला राख्न खोजियो, अब यो प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अरू इन्फुएञ्जा पनि जाँच गर्न सकिन्छ,’ गिरीले भने । 

प्रदेश ५ मा पीसीआर र किटसहितको सामग्री चैत २० गते आएको थियो । अन्य प्रदेशमा २ दिनअगाडि पुगेका थिए । यहाँ पहिले हेलिकप्टरमा सामग्री पठाउने भनियो तर पनि यतैबाट गाडी गएर समान ल्याउँदा ढिलाइ भयो ।

मेसिन जडान लगायतका सबै काम सकिएको छ । प्रदेश ५ मा तीन ठाउँमा प्रयोगशाला सञ्चालनमा ल्याउने भनिएको थियो । बुटवलका अलावा दाङ र नेपालगञ्जमा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय भइसकेको छ ।

प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशमा कोरोनाको शंका लागेका बिरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । 

संघीय सरकारले ७ वटै प्रदेशमा कोरोना जाँच गर्ने १/१ वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँग प्रयोगशाला बन्न लागेको हो ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रूपन्देहीमा बन्ने प्रयोगशाला संघअन्तर्गत तथा दाङ र नेपालगञ्जमा बन्ने प्रयोगशाला प्रदेश सरकारको बजेटमै बन्ने बताए । 

गिरीले कोरोना जाँच गर्ने प्रोट्रेबल पीसीआर मेसिन संघले उपलब्ध गराएको बताए । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोट्रेबल पीसीआर गरी २ किसिमका उपकरण चाहिन्छ । दुवै उपकरण सञ्चालनका लागि बायोसेफ्टी लेबल (प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण) तयार हुनुपर्छ । 

रूपन्देहीको सीमावर्ती भारतीय बजारमा कोरोना संक्रमित भेटिएपछि त्रास 

रुपन्देहीको सीमावर्ती भारतीय गाउँ कोल्हुई र पुरन्दपुरमा कोरोनाका ६ जना बिरामी फेला परेका छन्, जसले गर्दा रूपन्देहीमा कोरोनाको सन्त्रास बढेको छ । जुन ठाउँ रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको प्रमुख बजार हो । जहाँ नेपालीहरू किनमेल गर्न जान्छन् भने, त्यहाँबाट साइकलमा भारतीयहरू तरकारी लगायत अन्य सामग्री बिक्री गर्न नेपाल आउने गर्छन् ।

नेपालको सीमावर्ती गाउँ मर्चवारबाट १० मिनेटको दूरीमा पर्छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले सीमावर्ती बजारमा कोरोना भाइरसका बिरामी भेटिएपछि सीमामा चेकजाँचमा कडाई गरिएको बताए । सीमामा २ सयजना सशस्त्र प्रहरी परिचालन गरिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्