कोरोना महामारीमा मेडिकल विद्यार्थीको भूमिका : कसरी परिचालन गर्ने ?

सुजित मण्डल
सुजित मण्डल

मण्डल नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको चिकित्साशास्त्र महाविद्यालयमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत छन् ।  

कोरोना भाइरस (कोभिड–१९) संक्रमण विश्वभर महामारीको रूप लिइसकेको अवस्थामा यसबाट नेपाल पनि अछुतो नरहेको कुरा सर्वविदितै छ । अमेरिका, युरोप र भारतको जस्तो विकराल अवस्था नआइसकेपनि हाल भइरहेको संक्रमणको दरलाई मध्यनजर गर्दा महामारीको समय निकै टाढा नरहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

नेपालका कैयौं अस्पतालमा स्वास्थाकर्मीको दरबन्दी रिक्त रहेको अवस्थामा महामारी फैलिएकाले हाम्रो स्वास्थ्य प्रणालीलाई यसले थप कमजोर तुल्याएको छ । सो पदपूर्ति गर्न विभिन्न निकायबाट करारमा कर्मचारी भर्ना गर्न आवेदन माग गरिएको छ तर यस्तो महामारीको बेला प्रोत्साहन विना फिल्डमा खटिन संकोच मान्नु मानवीय स्वभाव हो ।


Advertisement

फलस्वरूप ३ महिने करारमा आवेदन दिने निकै कम नै भए । यस विषयमा फास्ट ट्रयाकबाट भएपनि स्थायी कर्मचारी नै भर्ना गर्नुपर्ने मागहरू उठे, जुन एक किसिमले ठीक पनि हो । स्वास्थ्य कर्मचारीको अभावलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७६/१२/०९ गते जनशक्ति व्यवस्थापन सम्बन्धमा एउटा निर्णय सार्वजनिक गर्‍यो ।

त्यस निर्णयमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनपश्चात कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक, प्रदेश अन्तर्गत सञ्चालनमा रहेका मेडिकल कलेजमा सरकारको छात्रवृत्तिमा एमडीएमएस र आवश्यक परेको खण्डमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई समेत कोरोना रोकथाममा सहयोगीको रूपमा परिचालन गर्न सकिने भनेर भनिएको छ ।


Advertisement

महामारीमा मेडिकल विद्यार्थीको भूमिका

सर्वप्रथम के बुझ्न जरुरी छ भने मेडिकल विद्यार्थी मेडिकल विधाका सिकारु हुन् अर्थात् विद्यार्थी हुन्, कर्मचारी होइनन् । यति भन्दै गर्दा मेडिकल विद्यार्थी एक सामान्य विद्यार्थी मात्रै नभई डाक्टर हुन गइरहेका विद्यार्थी हुन् । 

हाम्रो नेपालमा भएका सबै मेडिकल कलेजका पाठ्यक्रम एकैनासका छैनन् । कसैले शुरूदेखि त कसैले तेस्रो वर्षदेखि बिरामीको हेरचाहलाई प्राथमिकतामा राखी प्रयोगात्मक सीपहरू सिकाइरहेका हुन्छन् भने कतिले अध्ययनपश्चात इन्टर्नशीपमा मात्रै यसलाई विशेष जोड दिन्छन् । जसकारण विभिन्न विद्यार्थीमाझ प्रयोगात्मक सीपको सिकाइस्तर फरक पर्न जान्छ ।

मेडिकल विद्यार्थीलाई बिरामी उपचारमा सहभागी गराउनुहुन्छ वा हुँदैन ? यो बहसको विषय हुन सक्ला तर विश्वभरको प्रचलन हेर्ने हो भने विषम परिस्थितिमा विभिन्न मुलुकले मेडिकल विद्यार्थीलाई परिचालन गरेका थुप्रै उदाहरण छन् । सन् १९१८ मा स्प्यानीश फ्लुको महामारीको बेला पेनिसिल्वानिया विश्वविद्यालयले रोगको नियन्त्रणको लागि मेडिकल विद्यार्थी परिचालन गरेको थियो ।

सन् १९५२ मा डेनमार्कमा पोलिओ महामारीको बेला म्यानुवल वेन्टीलेसन गर्न मेडिकल विद्यार्थी परिचालन गरिएका थिए । कोभिड–१९ को परिवेशमा अमेरिका, इटाली र युकेका मेडिकल स्कूलहरूले समयभन्दा केही पहिले नै विद्यार्थीलाई दीक्षित गरिरहेका छन् ।

मेडिकल विद्यार्थी परिचालन गर्ने देशले विद्यार्थीलाई के गर्न हुने र के गर्न नहुने स्पष्ट पारेर निर्देशिका तयार पारेका छन् । नेपालले पनि सोही अनुरूप निर्देशिका बनाएर मात्रै विद्यार्थी परिचालन गर्नुपर्छ । जथाभाबी हचुवाको भरमा खटाएमा सक्दो फाइदा लिन नसकिने निश्चित देखिन्छ । काममा लगाउनुअघि विद्यार्थीलाई प्रोत्साहन गर्न छोटो अनलाइन तालिम र सम्भव भएसम्म दैनिक भत्ताको व्यवस्था गर्नुपर्छ ।

यी हुन् मेडिकल विद्यार्थीले अग्रस्थानमा खेल्न सक्ने भूमिका 

– कोभिड–१९ को सन्दर्भमा सकभर संक्रमण नभएका वार्डका बिरामीको हेरचाहमा चिकित्सकको रहोबरमा खटाउनुपर्छ । यसले अरु वार्डमा कार्यरत कर्मचारीमाथि भार कम गर्न सकिन्छ र ती कर्मचारीलाई कोरोना संक्रमितलाई उपचार गर्न पठाउन सकिन्छ ।

– विद्यार्थीलाई सिधै संक्रमितलाई हेरचाह गर्न पठाए उनीहरूले अझ संक्रमण फैलाउन सक्ने, पीपीई जस्ता सीमित स्रोतसाधनलाई अनावश्यक उपयोग गर्नसक्ने भएकाले अत्यावश्यक परेको खण्डमा मात्रै कोभिड बिरामी नजिक जान दिनुपर्छ ।

– आइसोलेसनमा पठाउनै परे सासबाट एरोसोल निष्कासन हुने प्रक्रियाहरूमा सकभर संलग्न नगराउने तर एम्बु ब्याग चलाउने जस्ता काम गराउन भने सकिन्छ ।

– सकेसम्म मेडिकल विद्यार्थीलाई उनीहरूले आफ्नो क्लिनिकल कक्षामा सिकिसकेको वा गरिआएको कामको जिम्मेवारि दिनुपर्छ । जस्तैः बिरामीलाई सोधपुछ गर्ने, बिरामीको दैनिक जाँच गर्ने, आफन्तलाई सम्पर्क गरी सूचना दिने, सामान्य मेडिकल प्रक्रियामा सहयोग गर्ने, प्रयोगशाला जाँचमा पठाउने, बिरामी डिस्चार्ज गर्न लगाउने कार्यमा लगाउन सकिन्छ ।

– गर्भवती महिला नियमित जाँच, खोप कार्यक्रम र ओपीडी सञ्चालनमा सहयोग गर्न लगाउने । यी कार्यक्रमहरू टेलिमेडिसिनबाट पनि गर्नसक्ने भएकाले सो कार्यमा सहभागी गराउने ।

– दीर्घरोगी जस्तैः प्रेसर, सुगरका बिरामीको नियमित जाँचमा सहयोग गर्न लगाउन सकिन्छ ।

– ज्वरो क्लिनिकमा तापक्रम नाप्न खटाउनु परे स्वेच्छाले मात्रै खटाउने र आवश्यक पीपीई उपलब्ध गराउने ।

– क्वारेन्टाइनमा रहेका व्यक्तिको लक्षण मोनिटर गर्न लगाउन सकिन्छ ।

– आवश्यक सबै सावधानी अपनाई मात्रै कोरोनाको माइल्ड बिरामीको लक्षण मोनिटर गर्न लगाउन सकिन्छ ।

– सामुदायिक स्तरमा जनचेतन फैलाउने कार्यमा संलग्न गराउने ।

यी हुन् मेडिकल विद्यार्थीलाई खटाउँदा हुने फाइदा 

– हाम्रो स्वास्थ्य प्रणालीमाथिको चाप घटाउँछ र स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउँछ ।

– पेशाप्रतिको लगाब बढाउने साथसाथै सेवा भावनालाई थप सुदृढ गर्न मौका मिल्नेछ ।

– मानव र देशप्रतिको समवेदना बढाउनुका साथै अनुभव बटुल्ने मौका मिल्नेछ ।

– विपतको बेला गरेको सहयोगले आत्मसन्तुष्टि दिन्छ, जुन भविष्यमा एउटा राम्रो चिकित्सक बन्न प्रेरित गर्दछ ।

यी कुरालाई ख्याल गरियो भने अवश्य पनि विद्यार्थी परिचालनलाई प्रभावकारी बनाउन सकिन्छ ।

सुजित मण्डल
सुजित मण्डल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्