महान मानिस : कसरी बन्ने ? कसरी चिन्ने ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

चाहेर मात्र महान बन्न सकिँदैन । महान बन्ने सिद्धान्त र सूत्र आविष्कार पनि भएको छैन तर पनि मानिस महान बन्छ ।

मानिसहरू महान बन्न खोज्छन् तर महान बनाइन्न, आफैं बन्छ । चाहेर होइन, कार्यले महान बन्छ । न अरु कसैले कोहीलाई चाहेरै महान बनाउन सक्छ ।


Advertisement

महान कस्तो हुन्छ ? उसका विशेषता र कार्यहरू के कस्ता हुन्छन् ? चासोको विषय हो तर असल व्यक्तिले गरिसकेका काम र त्यसले छाडेका छापका आधारमा मात्र महान मानिस यस्तो हो वा यस्ता गुणहरू हुन्छन् भन्ने आकलन गर्न सकिन्छ । 

महानहरू विवेकशील हुन्छन् । अरुको दुःख, पीडा र अनुभूतिलाई आफ्नो बनाउने सामथ्र्यले कसैलाई महान बनाउँछ । अरुको दुःख–पीडा आफ्ना अनुभूतिमा लिने, अन्तरबोध गर्ने स्वभाव र सामथ्र्य महानमा हुन्छ । विवेकी मानिस सामान्य शब्दबाट पनि अरुमा आघात पुग्ला कि भन्ने सोच विचारमा हुन्छन् । अरुलाई आघात पुर्‍याउनु हिंसा सम्झिन्छन् । कम बोल्छन्, धेरै गर्छन् । जति गर्छन्, ठीक गर्छन् । त्यसैले महान सधै विवेकी हुन्छ । हरेक काम कुरा गर्नुअघि मनको हरि वा विवेकको अनुमति लिन्छ । हौसिँदैन, हतारिँदैन, मात्तिदैन, आत्तिदैन । आत्मनादको झंकारले रमाउँछ । उसका लागि सत्कर्म मनोरञ्जन हो । केही राम्रा काम गर्न पाउँदा उ सधै रमाउने गर्छ र आनन्दको स्वास फेर्छ ।


Advertisement

महान व्यक्ति विद्वान हुन्छ । ज्ञान आर्जनको भोकमा हुन्छ । उसलाई थाहा छ, ज्ञान किताबबाट, जीवनबाट र आफ्नै भोगाइबाट प्राप्त हुन्छ । अक्षर नजानोस् तर जीवन जान्दछ । आफूलाई जान्दछ र समाज–समस्त चराचरलाई जान्दछ । जीवन र जगत बुझेकाले नै उ महान बनेको हो । अक्षर त सबैले पढेकै हुन् । अक्षर चित्रहरू हुन् । चित्रलाई बुझ्नेले अनन्त भावमा बुझ्छ, नबुझेकाले आकार पढ्छ । आकारले मन र मष्तिस्कभन्दा आँखालाई (दृश्य) स्वाद दिन्छ । बुभ्mनेहरू चित्रमा भाव, प्रतिभाव, जीवन, अनुभूति, आविष्कार, संघर्ष, सौन्दर्य, शक्ति, परोपकार लगायत सबै देख्छन् । त्यसैले बुझ्नेहरू अक्षरमार्फत ब्रह्माण्डमा पस्छन् । अथाह ज्ञानमा डुबुल्की मार्छन् । सिर्जनाका शक्ति कमाउँछन् । अक्षरले विद्या दिन्छ, विद्याले विनय दिन्छ । विनय विवेकको आधार हो । महानहरूले अक्षर कम पढे होलान् तर विद्या धेरै लिएर विवेकी बने । लीक्वान यूले विद्यार्थीलाई थोरै पढाउ, धेरै बुझाउ भनेका थिए । राष्ट्र निर्माणका लागि धेरै पढेकाभन्दा बुझेका मानिसहरूको महत्त्व उनले बुझेका थिए । सीप, सिर्जना र इमानको महत्त्व बुझेका थिए । धेरै पढेर थोरै बुभ्mनु महानता होइन, थोरै पढेर धेरै गहिरिनु महानता हो । अक्षरका महाविद्यावारिधि ज्ञानलाई व्यंग्य गर्न सक्छ । विनयशील विवेकीहरू विना अक्षर, अझ भनौं व्यवहारका विद्यावारिधि हुन् । 

महानहरू दम्भी हुँदैनन् । अक्सर दम्भीहरू शक्ति, सम्पत्ति, रुप, उमेर, अनुचर आदिमा रमाउँछन् । दम्भले द्वेष जन्माउँछ । दम्भले विवेकलाई भष्म पार्छ र उन्माद, अहम् र अट्टाहासमा पुर्‍याउँछ । अभिमानले मानिसलाई उठ्न दिँदैन, स्वाभिमानले गिर्न दिँदैन । दम्भ समन गर्न नसक्नेहरू उठ्न सक्दैनन्, उठिहाले भनेपनि तासको घरझै गिर्न बेर लाग्दैन । त्यसैले कहिले महान बन्दैनन् । मोहन दाश दम्भी थिएनन्, शालीनता र अहिंसाका पुजारी थिए, त्यसैले महात्मा बने । सिद्धार्थ गौतम विनय र कर्मका हिमायती थिए, त्यसैले बुद्ध बने । स्टीभ्स जभ्स दम्भी थिएनन्, कर्म र पसिनाका पुजारी थिए । संघर्ष र बलिदानीमा ख्याउटे बनेका अब्राहम अनि मण्डेला दम्भी थिएनन् र पो राजनेता बने । युग–युगका राजनेता । दम्भीहरू बलय र अनुचरमा रमाउँछन् । महानहरू अनुयायी कमाउँछन् । अनुचर अस्थायी हुन्छन् – शक्ति, पद, पैसा, रुप आदिका । अनुयायी अनन्त रहन्छन् । अनुचरमा आग्रह हुन्छ, अनुयायी आत्मनादमा रमाउँछन् । संसारको विवेकशील पुनर्निर्माणमा रमाउँछन् । 

महानहरू पदमा रमाउँदैनन् । पदका भोका हुँदैनन् । महात्मा गान्धी पद विनै महात्मा बनेथे, न पदको राप न शक्तिको ताप । पदका मानिसहरू अक्सर आफूलाई उचो देख्छन् । उचो भएको भ्रममा बाँच्छन् । पदको अहम् र शक्तिको उन्मादले उचाइको भ्रम दिन्छ । महानहरू सधै धरातलमा उभिन्छन् र अरुको नजरमा उचो हुन्छन् । उचाइको माग आफैं गर्नेहरू उन्मादी कहलाइन्छन्, शक्तिअन्ध कहलाइन्छन् । धर्तीबाट ठडिएको सगरमाथा आफ्नो धरातल होचो धर्तीलाई सम्झन्छ । आफ्नो वास्तविकता आफैं बुझ्छ । धर्तीमा उभिएकाहरूले भने सगरमाथाको उचाइ र शालिनता आफैं बुझ्छन् तर सगरमाथा कहिल्यै भुल्दैन – म त्यहीँ उभिएको छु, पग्लिएर त्यहीँ पोखिन्छु ।

महान हुनु क्षमाशील हुनु पनि हो । कमी, कमजोरी हुनु मानवीय स्वभाव हो । कसैको गल्ती कमजोरीप्रति बदलाभाव राख्नु महानहरूको आचरण होइन । प्रतिशोध साध्नु उसको धर्म होइन । महानहरू क्षमा र त्यागका उदाहरण हुन् । बदलाभाव, इष्र्या र कुण्ठाको विष पिउनेले आफूलाई महान घोषित गर्न सक्छ तर त्यही इष्र्या, बदलाव र कुण्ठाका शिकारहरू उसलाई क्षमादान दिएर महानता प्रदर्शन गर्नसक्छ । गोरा शासकबाट दशौं वर्ष जेल यातना पाएका नेल्सन मण्डेला गोरा शासकलाई माफी दिई महान बने । मण्डेलालाई थाहा थियो, जेल जीवनको पीडा कति कष्टप्रद हुन्छ । सादगी किसुनजी चुनाव हार्दा हराउनेप्रति नै उदार थिए । महानहरू दुःखको प्रत्यारोपणबाट सुख खोज्दैनन्, क्षमा दिएर खुशी हुन्छन् । दुःखको अनुभूति हुनेले दुःखको प्रत्यारोपण गर्दैनन् । परपीडकहरू अरुको दुःखमा रमाउँछन्, क्षमताहीनहरू क्षणिक तुष्टिका लागि परपीडा दिन्छन् तर भित्रभित्रै छट्पटी र पिल्साइमा हुन्छन् । त्यसलाई दमन गर्न नसक्दा अपराधका शृंखलामा पुग्छन् । महानहरू अरुको सुखमा खुशी हुन्छन् । सिवी र दधिचि महान बने, व्याधाहरू शिकार गरेर परपीडामा रमाए । 

महानहरूको शक्ति निष्ठा, नैतिकता र इमान हो । उनीहरू कर्मको आचरणले मानवताको पूजा गर्छन् र समस्त जीवप्रति जिम्मेवार बन्छन् । महानहरू जे गर्छन्, स्वार्थहीन गर्छन् । स्वार्थहीनहरू सदाचारी हुन्छन् । परिश्रम र पसिनाले बाँच्छन् । दुराचारी र इमान नभएकाहरू पनि अरुसामु आदर्शको उपदेश दिन्छन् तर नैतिक शक्ति गुमाएकाले आदर्श बन्ने साहस उनीहरूमा हुँदैन । इमानीहरू शक्ति, सम्पत्ति, पद र अवसर गुमेपनि निष्ठा र नीतिसँग सम्झौता गर्दैनन् । नैतिक शक्ति असत्यसँग पराजित होला तर सत्य डग्दैन । थोरै महानहरूकै बलिदानी र सत्कर्मबाट मानव समाज आजको स्थानमा आइपुगेको हो । महानहरू असत्यसँग हार्दा पनि संयमित हुन्छन्, निरन्तर कर्म उनीहरूको निष्ठा हो तर प्राप्तिको अपेक्षा कसैबाट गदैनन् । उनीहरू लिनभन्दा दिन जन्मिएका हुन् । जित्ने असत्य पनि हार्ने सत्यसँग डराएको हुन्छ, आत्मिक रुपमा असुरक्षित अनि कुण्ठित हुन्छ । अनि षड्यन्त्रको सकुनीजाल रच्ने गर्छ तर निष्ठा र नैतिकताका आत्मिक शक्तिले इमानीहरू महानताको यात्रामा अविचलित हुन्छन् । 

महानहरू अरुको खुशी र प्रगतिमा आनन्द मान्छन् । पद, प्रतिष्ठा र अवसरको चोरी गर्दैनन् । अरुको सफलतामा आनन्दित हुन्छन् । क्षमताले नै जिम्मेवारी पाउने विश्वासमा रहन्छन् । पदलाई अवसर होइन, कर्तव्य र जिम्मेवारीका रुपमा लिन्छन् । जिम्मेवारीका खुट्किला चढ्दै जाँदा वैयक्तिक स्वार्थहरू छाड्दै जान्छन् । जस अरुलाई दिन्छन्, अपजसको भारी आफैं बोक्छन् । सहयोगी बन्नु उनीहरूको स्वभाव हो र चरित्रार्थ गर्छन्, भन्छन् मानिस सुख, सुख  त्यो कहाँ छ, आफूलाई मिटाइ अरुलाई दिनु जहाँ छ । 

हो, मानिस सृष्टिको महान सिर्जना । मानिस महान बन्नै जन्मिएको हो । त्यसो गर्न मानिसलाई सृष्टिले विवेक दिएको छ । विवेक र बुद्धिकै कारण मानिस सृष्टिको सर्वश्रेष्ठ जाति हो तर श्रेष्ठता फगत जन्मले प्रस्टिँदैन । कर्मले नै मानिसलाई महान बनाउने हो । नीतिले बाटो देखाउने हो, विवेकले आत्मिक प्रेरणा लिने हो । बाटो बिराउनेलाई पनि विवेकीहरू सत्मार्गमा ल्याउने गर्छन् र महान बन्ने गर्छन् । महानहरू पद, प्रतिष्ठा र पैसालाई क्षणिक सम्झन्छन् । महानहरू जन्मँदा अरुजस्तै एक्लै हुन्छन्, कर्मले सबैका बन्छन् र अमर हुन्छन् । 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्