चौरजहारी घटना जातिहत्या हो कि ?

  • लोकेन्द्र ओली

जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्न कानून बनेको ६ दशक पुग्न लाग्यो । विक्रम संवत् २०२० भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पहिलोपटक छुवाछुत अन्त्य गरेको थियो ।


Advertisement

जातीय भेदभाव गरेमा कसूर ठहर्‍याइ सजाय हुने व्यवस्था भयो । जातीय भेदभाव गर्न नपाइने र दलित समुदायका व्यक्तिको अधिकारलाई मौलिक हकका रुपमा नेपालको संविधानमा नै सुरक्षित गरिएको छ ।

संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्थाका साथै धारा ४० मा दलितको हकको व्यवस्था छ । दलित समुदायको हकहितका लागि संवैधानिक अंगका रुपमा राष्ट्रिय दलित आयोग छ, जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ पनि कार्यान्वयनमा छ तर पनि छुवाछुत र जातीय भेदभावकै कारण हत्यासम्मका घटना घट्ने क्रम भने रोकिएको छैन । 


Advertisement

समाजमा किन अझै जातीय विभेद अन्त्य भएको छैन ? गम्भीर प्रश्न उठेको छ । कानून बन्दैमा सबै समस्याको समाधान हुँदै हुँदैन, समाजमा जोसँग बढी चेतनशील छ, पढे–लेखेको छन्, बुझेको छन्, उनीहरूमा नै विभेदको मानसिकता अत्यधिक रहेको पाइन्छ । त्यसकारण निरक्षर मूर्ख भए भने बुझाउन सकिन्छ तर पढेका र बुझेकै मूर्ख भए भने बुझाउन सकिँदैन । यसो भयो भने समाज पनि फेरिँदैन र जातीय विभेद पनि अन्त्य हुँदैन ।

संविधान, कानूनमा जति असल व्यवस्था गरिएपनि समाजमा रहने दास मानसिकता भएकाहरूले त्यसलाई पालना गर्दै गर्दैनन् । एकातिर कानूनहरू राम्रा बनेका छन्, अर्काेतिर जातीय विभेद अन्त्यका नाममा खुलेका कैयौं गैरसरकारी संस्था छन्, जसले विभेद अन्त्य गर्ने शीर्षकमा रकम खर्चेका छन् तर समाज सुधार भएकै छैन । आखिर किन होला ?

रुकुम पश्चिमको चौरजहारी सोतीमा गत शनिवार एउटा भयानक घटना भयो । जाजरकोटका केटा (दलित समुदाय) र सोतीकी केटी (मल्ल थर) बीच प्रेम सम्बन्ध थियो । युवाका आफन्त र साथीले गरेको दाबी अनुसार उनीहरूबीच गहिरो प्रेम सम्बन्ध भएपछि केटी जाजरकोटमा रहेको केटाको घरमा पुगेर बास समेत बसेको देखिन्छ । उनीहरूबीच प्रेम सम्बन्ध कुनै क्षणिक प्रकृतिको नभएर बिहे गर्नेसम्मको भएको बुझिन्छ ।

दुवै परिवार उनीहरूको प्रेम सम्बन्धबारे जानकार थिए, सकेसम्म केटी पक्ष केटालाई पन्छाउन चाहन्थे तर कसरी पन्छाउने ? साथै सम्बन्ध जारी राखेमा केटालाई ज्यानसम्म लिने धम्की दिएका समाचार बाहिर आएका छन्, यति हुँदासम्म पनि उनीहरूबीच प्रेम टुटेन । केटाका साथीहरू केटीले नै बिहेका लागि बोलाएपछि १८ जना युवा सोती प्रस्थान गरेको दाबी गर्छन् तर सोती पुगेलगत्तै ती युवामाथि केटी पक्षबाट आक्रमण भएको साथीहरूको भनाइ छ ।

त्यसपछि अवस्था भयानक भयो, हत्या गरेर भेरी नदीमा फालिदिएको केटा पक्षको दाबी छ तर त्यसलाई सोतीका केटी पक्षले खण्डन गरेका छन् । दुलहा बन्ने तयारीमा रहेका युवा समेतको ज्यान गयो, केहीलाई पक्राउ गरी प्रहरीमा बुझाएको भनिएको छ, पक्राउ पर्नेहरूमा दुलहा बन्ने युवा किन परेनन् भन्ने प्रश्न पनि गम्भीर रुपमा आउँछ । केटा दलित परिवारको भएकै कारण यस्तो गम्भीर र अमानविय घटना घट्न पुग्यो । घटनाले हाम्रो समाजमा व्याप्त जातीय विभेदको गहिराइको चित्रण गर्छ ।

संविधान र कानूनले जातीय भेदभावलाई अन्त्य गरेको छ, विभेद गर्नेलाई ३ वर्षसम्म कैद हुने व्यवस्था छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ को दफा ७ को १ (क) मा व्यवस्था छ तर पनि समाजमा इतिहासदेखि रहेको छुवाछुत कहिल्यै अन्त्य भएन । घटनामा ३ जनाको शव भेटिएको छ भने ३ जना भेरी नदीमा बेपत्ता छन् । यसको वास्तविकता के हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रेम सम्बन्धमा छुवाछुत काल बनेर आयो, केटी लिन पुगेका दुलहासहित अन्यको हत्या हुनु सामान्य होइन । यो एउटा जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी भएको जातिहत्या (जेनोसाइड) हो कि, यसमा संलग्नलाई कुनै पनि दृष्टिकोणबाट उन्मुक्ति दिनु हुँदैन । प्रचलित मुलुकी अपराध संहिताको दफा ४१ भित्र यस कसूर पर्ने हुँदा सोही दफाको (ङ) बमोजिम संलग्नलाई जीवित रहेसम्म कैद गर्नुपर्दछ । युवायुवतीबीच प्रेम सम्बन्ध हुनु, बिहे हुनु, कुनै कसूर होइन, यसलाई नेपालको संविधान र कुनै पनि कानूनले कसूर हुने व्यवस्था गरेको छैन । फौजदारी कानूनको सिद्धान्त के हो भने कानुनमा लेखिएको मात्र कसूर हुन्छ । समाजमा जातजातिबीचको दम्भ कतिसम्म छ, भन्ने एउटा अर्काे नमूना यस घटनाले दिएको छ । विधिशास्त्रीय मान्यतामा कानूनलाई समाजले स्वीकार गर्नुपर्दछ भनिन्छ । 

भाषणमा जति चर्चा र लोकप्रिय कुरा गरिएपनि वास्तविक के हो ? गाउँ, समाजमा के छ भन्ने कुरा सरकार र विधायकले गम्भीर रुपले बुझ्नुपर्छ ।

घटनालाई फौजदारी कानूनका दृष्टिकोणबाट हेर्दा, अपराधमा २ वटा मुख्य तत्व हुन्छन्, आपराधिक/दुषित मानसिकता र आपराधिक कार्य । ३ जनाको ज्यान गएको छ, हत्या हो कि होइन ? त्यो एउटा कुरा हो । केटी पक्ष – सोतीबाट युवालाई लखेट्दै भेरी नदीसम्म खेदेको दाबी गर्छन् तर केटा पक्ष भने हत्या गरेर नदीमा फालेको भन्छ । अपराधका २ तत्वमध्ये आपराधिक मनसाय थियो कि थिएन भन्ने एउटा कुरा हो तर आपराधिक कार्य त भइसकेको छ, ज्यान जानु आपराधिक कार्य हो । प्रेम सम्बन्धबारे केटी पक्षलाई राम्रोसँग थाहा थियो, उनीहरूले सम्बन्ध तोड्न अनेकौं प्रयास पनि गरेको तर सम्बन्ध तोडिनुको साटो झन् बढेको देखिन्छ ।

युवा सोती पुग्नु र उनीहरूमाथि आक्रमण भएको देख्दा आपराधिक मनसाय समेत भएको नकार्न सकिन्न । योजनावद्ध रुपमा मुख्य व्यक्ति दुलहाको ज्यान जानु, उनी मात्रै होइन सघाउन गएका निर्दोष युवा मारिएपछि आपराधिक मनसाय छँदै थिएन भन्न सकिँदैन । अर्काे कुरा यसमा आवेश पनि मिस्सिएको छ तर आवेशभन्दा आपराधिक मनसाय बलियो रुपमा आएको र त्यसकै परिणाम ज्यान गएको बुझिन्छ । फौजदारी कसूरमा यस्ता प्रकृतिका घटनालाई जातिहत्या भनिन्छ । कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै समाप्त पार्ने मनसायले घटना भएका हुन्छन् । 

तर यति कुरालाई मात्र तथ्य मानेर अन्तिम निष्कर्षमा पुग्नु हतार हुनसक्छ । घटना भएको छ, मान्छेहरू मारिएका छन्, ज्यान गएको छ, यस्तो घटनालाई कुनै भवितव्य, सवारी ज्यानसँग तुलना गर्नु कुनै पनि हालतमा सकिँदैन र फौजदारी कानूनका नजरले पनि त्यसरी हेर्न मिल्दैन । घटना कुनै असावधानी वा लापरवाहीबाट भएको पनि मान्न सकिँदैन ।

यसको मूल कारण जातीय विभेद छ, प्रेम सम्बन्ध हुनुसम्म सामान्य भएपनि बिहे गर्नेसम्मको निर्णय र त्यो निर्णयले घटाएको घटना हेर्दा यो जातिहत्या हो कि भन्ने देखिन्छ । मानव जाति पृथ्वीको सबभन्दा चेतनशील प्राणी हो, बुद्धि हुँदाहुँदै चेतना हुँदाहुँदै, ज्यान गयो भने कैद बस्नुपर्छ भन्ने बुझ्दाबुझ्दै पनि घटना घट्छन् ।

अब यसको एक मात्र विकल्प भनेको प्रहरी अनुसन्धान हो, प्रहरीको अनुसन्धान कता जान्छ, कसरी गरिन्छ भन्ने कुराले निर्धारण गर्दछ । प्रहरीसँग राम्रो दक्षता, क्षमता छ, उसको क्षमतामाथि कुनै प्रश्न उठाउन सकिँदैन तर अनुसन्धान कति निष्पक्ष, कति स्वतन्त्र रुपमा गरिन्छ, हुन्छ भन्ने कुरा प्रमुख हो ।

यदि प्रहरीले कुनै दबाब विना अनुसन्धान गर्‍यो भने तथ्य रुपमा घटना कसरी भएको थियो, कसरी ज्यान गयो भन्ने पत्ता लाग्ने छ । यदि यसमा कुनै नेता वा मन्त्रीको दबाबमा पारियो भने यो भवितव्यमा हुन जानेछ र कसूरदारले सजिलै उन्मुक्ति पाउने छन् । त्यसो नहोस्, अभियुक्तमाथि गम्भीर अनुसन्धान होस्, अनुसन्धानबाट कसूरदारलाई जातिहत्या गरेको पनि देखिन सक्छ ।

यदि त्यसो भयो भने बाचुञ्जेल कैद बस्नुपर्ने अवस्था आउनसक्छ । प्रहरी, सरकारी वकिल र न्यायाधीशले घटना सूक्ष्म रुपमा हेरेर न्याय सम्पादन गर्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ । त्यसो गरियो भने मृत आत्माले समेत शान्ति पाउने छन्, मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि !

(लेखक अधिवक्ता हुन् ।) 

कमेन्ट गर्नुहोस्