कोरोना महाव्याधिबीच मानिसहरूले किन गरिरहेका छन् धमाधम आत्महत्या ?

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

यही जेठ ९ गते काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीको एउटा कुखुरा फार्ममा रामेछापकी २७ वर्षीय महिलाले विष सेवन गरी आत्महत्या गरिन् ।

विगत केही वर्षदेखि उनी आफ्ना श्रीमानसँगै रहेर मजदुरी गर्दै आएकी थिइन् । पारिवारिक अवस्था कमजोर भएका यी पति–पत्नीले एउटै कुखुरा फार्ममा काम गरेर जीविकोपार्जन गर्दै आएका थिए । 


Advertisement

विवाह गरेको लामो समय भइसक्दा पनि बच्चा भने भएको थिएन । 

कोभिड– १९ अर्थात् कोरोना भाइरसका संक्रमणका कारण देशमा बन्दाबन्दी (लकडाउन) शुरू भयो ।


Advertisement

विस्तारै फार्ममा कुखुरा बिक्री हुन छाड्यो । साहुले खान र बस्न त दिएका थिए, तर पारिश्रमिक भने पाउन छाडे ।

उनले के कारण आत्महत्या गरिन् भन्नेमा अनुसन्धान भइरहेको छ ।

*****

वैशाख १ गते तारकेश्वर नगरपालिका वडा नं. ४ मा ७८ वर्षका वृद्धले छतबाट हाम फालेर आत्महत्या गरे ।

मृत्युअघि उनले परिवारसँगै रहेपनि आफूलाई खासै वास्ता नगरेको गुनासो गर्दै आएको खुलेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक (इन्सपेक्टर) गम्भीरजंग थापाले बताए ।

‘उनले परिवार माया नगरेको भन्ने लागेर आत्महत्या गरेको देखिन्छ, तर परिवारले भने राम्रैसँग ख्याल गर्दै आएको बताएका छन्,’ इन्सपेक्टर थापाले लोकान्तरसँग भने ।

*****

तारकेश्वरमै ३५ वर्षीया महिलाले घरको भर्‍याङमा पासो लगाएर वैशाख १३ गते आत्महत्या गरिन् । सिन्धुली घर भएकी ती महिला सुन पसल चलाउँदै आएकी थिइन् ।

पारिवारिक अवस्था राम्रो भएकी ती महिलाले डिप्रेसनको औषधि सेवन गरिरहेकी थिइन् । लकडाउनको समयमा नियमित काउन्सिलिङ नपाउँदा आत्महत्याको बाटो रोजेको प्रहरीको निष्कर्ष छ । 

*****

कोभिड– १९ का कारण मनोरोगमा परेकी २५ वर्षीया एक युवतीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले उद्धार गरेर घर पठायो ।

ती युवतीले खानामा पनि कोरोनाभाइरसको सांकेतिक चित्र देख्ने, पानी, सुत्ने ओछ्यानसहित जुन चिज वा मानिसमा पनि कोरोना देख्ने समस्या आएपछि जनकपुरमा रहेका आफ्न्तलाई बोलाएर जिम्मा लगाइयो ।

उनले सबै चिजमा कोरोना देखेर खाना खान, सुत्न, मानिसहरू भेट्नसम्म छाडेको घटनाले प्रहरीलाई निकै आश्चर्यचकित बनायो ।

त्यसपछि परिवारलाई बोलाएर जिम्मा लागाइदिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।

*****

५ दिनअगाडि जेठ २५ गते एक युवाले बौद्धमा पासो लगाएर आत्महत्या गरे ।

घर बनाउने काममा ज्याला मजदुरी गर्दै आएका ती युवाले आमासँग चुरोट खाने पैसा मागेको र पैसा नपाएपछि त्यही झोकमा आत्महत्याको बाटो रोजेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीले बताए ।

‘चुरोट किन्ने पैसा नपाएको झोकमा ती युवाले आत्महत्या गरे’, डीएसपी कार्कीले लोकान्तरसँग भने ।

*****

बन्दाबन्दी (लकडाउन) को समयमा मानिसमा मानसिक समस्या देखिएर आत्महत्यासम्मको बाटो रोजेको देखिएको छ ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएर खान तथा बस्न समेत समस्या भएपछि आत्महत्याको बाटो रोज्ने गरेको मनोचिकित्सकहरू बताउँछन् ।

नियमित औषधि लिनुपर्ने मानिसहरूले औषधि लिन नपाउँदा पनि आत्महत्या गरेका छन् भने दैनिक ज्यालादारी गर्दै आएका मानिसहरूले खानबस्नको समस्याले पनि आत्महत्याको बाटो रोजेको प्रहरी अनुसन्धानहरूको निष्कर्ष छ ।

नेपालमा लकडाउनको अवधिमा नेपालमा १ हजार २ सय २० जनाले आत्महत्या गरेको नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालले जनाएको छ ।

प्रहरीको तथ्यांकअनुसार २०७६ चैत ११ गतेदेखि २०७७ जेठ २४ गतेसम्मको अवधिमा १ हजार २२० जनाले आत्महत्या गरेका छन्, यसमध्ये सबैभन्दा धेरै झुण्डिएर १ हजार २६ जना, पानीमा हामफालेर ९ जना, छतबाट हाम फालेर ७ जना, हातहतियार र औजारबाट ६ जना र करेन्ट लगाएर १ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । 

५ नम्बर प्रदेश आत्महत्या गर्नेमा अगाडि छ । लकडाउनको अवधिमा उक्त प्रदेशका २ सय ५३ जनाले आत्महत्या गरेका छन् । बाग्मती प्रदेशमा १ सय ९६ जनाले र उपत्यकामा ७१ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशमा आत्महत्याको संख्या सबैभन्दा थोरै ६८ जना छन् ।

लकडाउनमा २० प्रतिशतले आत्महत्या बढ्यो

लकडाउनको समयमा आत्महत्या गर्नेको संख्या २० देखि २५ प्रतिशतसम्म वृद्धि भएको मनोचिकित्सक प्राध्यापक डाक्टर सरोज ओझा बताउँछन् । समाजिक, आर्थिक, पारिवारिक र भयका कारण आत्महत्या गर्ने गरेको पाइएको ओझाले बताए ।

प्राध्यापक डाक्टर ओझासँग लोकान्तरले गरेको कुराकानीको सम्पादित अंशः–

दिनमा १५ जनाले लकडाउनभन्दा अगाडि पनि देशभरमा आत्महत्या गर्दथे ।  अघिल्लो वर्षमा पनि ४ सय ५० जनाले आत्महत्या गरेको तथ्यांक छ । लकडाउनको समयमा अलिकति २०–२५ प्रतिशत बढेको देखिन्छ । यसरी बढ्नुको कारण मानिसक स्वास्थ्यको समस्या र मनोविज्ञान कमजोर हुनु नै हो ।

डिप्रेसन बढ्दै गएपछि अन्तिम अवस्थामा मानिसहरूले आत्महत्या गर्दछन् । मानिसहरू पहिलेदेखिनै डिप्रेसन थियो अहिले लकडाउनको समयमा कोरोनाको भय डरले गर्दा त्यसलाई अलि थप मद्दत पुगेको हो  । 

अर्को कोरोनाभाइरसको संक्रमणले गर्दा समाजिक, पारिवारिक र आर्थिक समस्याले गर्दा पनि आत्महत्या बढाएको देखिन्छ । डिप्रेसनका बिरामीले औषधिहरू सेवन गरिरहेका थिए । काउन्सिलिङ भइराखेका थिए होला यदि नियमित हुने ती प्रक्रियाहरू लकडाउनले गर्दा रोकिन अथवा बञ्चित हुनुपरेको कारणले आत्महत्या बढेको छ । 

दोस्रो प्रत्यक्ष प्रभाव परेको भनेको क्वारेन्टाइनमा बोरिङ भएर बस्नुपरेको अवस्था जसले गर्दा समाजले के भन्ला ? परिवारले के भन्ला ? जस्ता सोच्नाले हो ।

कतिपयले कोरोनाकै कारण अविभावक गुमाएको अवस्था, कोरोनाका कारणले आर्थिक अवस्था खस्किएको अवस्था यी सबै किसिमले गर्दा मानिसमा ‘डिएक्टिभ डिप्रेसन’ अर्थात् कोरोनाको भय एकातिर, अर्कोतिर व्यापार तथा खस्कँदो आम्दानीले गर्दा जिउनुनै के छ र ? भन्ने खालको सोच आई मनोविज्ञान कमजोर भएर आत्महत्या गरेका छन् ।

विषेश गरेर समाजिक, आर्थिक, पारिवारिक, कोरोनाको भय र त्रास भविष्यमा के गर्ने ? आर्थिक अवस्था कसरी उकास्ने ? कोरोना लागेको खण्डमा समाजले के भन्ला ? जस्ता कुरा मनमा खेलाएर मानसिक अवस्था कमजोर भइसकेपछि आत्महत्याको बाटो रोजेको देखिन्छ ।

आत्महत्या हिजो पनि थियो, आज पनि छ । कोरोनाका कारणले यसलाई बढाएको पनि छ, तर सरकार वा कुनै राज्य संयन्त्रको प्राथामिकतामा थिएन, त्यसकारण आत्महत्यालाई पनि सरकारले अन्य रोगजस्तै प्राथामिकतामा राखेर त्यसलाई निरुत्साहित अथवा रोकथामका लागि कार्यक्रमहरू ल्याउनुपर्छ ।

यसलाई रोकथाम गर्ने टुल्सहरू अवलम्बन गरेर कार्यक्रमहरू ल्याउनुपर्छ । विश्वलाई हेर्ने हो भने आत्महत्या रोकथामका लागि विभिन्न रणनीतिक योजनाहरू ल्याएको देखिन्छ । नेपालमा सरकारले यसलाई प्राथामिकतामा राखेको पाइँदैन, त्यसकारण रणनीतिक योजनामा राखेर कार्यक्रमहरू ल्याउन जरुरी देखियो ।

यसमा मानिसहरूलाई जनचेता जगाउनेदेखि अप्ठ्यारोमा परेको बेलामा कहाँ खबर गर्ने ? कहाँ फोन गर्ने ? भन्ने कुरा निर्दिष्ट गरेर एउटा फोन नम्बर राख्नुपर्छ, अर्थात् हटलाइनको व्यवस्था गरेर जसमा फोन गर्दा समस्याको समाधान गर्ने र यदि कसैले आत्महत्या गर्ने कोशिश गर्न थालेको हो भने बचाउने प्रयास गर्न मद्दत पुग्छ । 

एकातिर जनचेता अभिवृद्धि गर्नुपर्‍यो, जसले जनाचेतानामार्फत जोखिम कम गर्न सकिन्छ । अर्कातर्फ हटलाइनको व्यवस्था गरेर तालिमप्राप्त दक्ष जनशक्तिहरूलाई राखेर हटलाइनमा आउने समस्यालाई विश्लेषण गरेर समाधान गर्न सक्ने व्यवस्था गर्नुपर्ने हुन्छ ।

अझ आगामी दिनमा आत्महत्या भयावह हुने अवस्था देखिन्छ, किनकी लकडाउनले गर्दा मानिसहरूको आर्थिक अवस्था कमजोर हुने, घरमा बस्दा मानिसहरूले विभिन्न कुराहरू सोचेर मानसिक रोगी हुने देखिन्छ ।

घरपरिवारले पनि आत्महत्या न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । यदि घरको कुनै सदस्यले आत्महत्या गर्दा योजनाहरू बनाउँछ । घरमा डिप्रेसनको रोगी छ भने यसलाई परिवारले समय दिने, कतै डोरीहरू किनेर ल्याएको छ कि विचार पुर्‍याउने, यदि ल्याइहालेमा के कस्ता कारणले ल्याएको हो सोध्ने जस्ता कामहरू पनि गर्न सकिन्छ ।

एकान्तपन, एक्लोपनबाट टाढा राख्ने जस्ता कुराहरूमा पनि ध्यान दिनुपर्छ । लकडाउनको अवस्थामा पनि फोन वा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट मनोविद् वा मनोपरार्मशहरूसँग सल्लाह दिने खालका काम गर्दा पनि यसलाई न्यूनीकरण गर्न सहयोग पुग्छ ।

डिप्रेसनका बिरामीको मनका कुराहरू पनि सुनिदिनु पर्ने हुन्छ वा कोही आफन्त अथवा साथीभाइलाई कुरा शेयर गर्न दिएर पनि अलिकति कम गर्न सकिन्छ । यसलाई मेडिकल ट्रममा ‘मिनिमाइज अफ हर्ट भेन्टिलेसन’ (मनको पीडा)हरू बाहिर निकाल्न लगाउने । परिवारले ढाडस दिलाउने । परिवार छ भन्ने विश्वास दिलाउने जस्ता कामहरू गराउन सकिन्छ ।

व्यक्ति स्वयं अलिकति सचेत हुँदा पनि आत्महत्या रोकथाम गर्न सकिन्छ । आत्महत्या गर्ने सोच जो–कोहीलाई पनि आउन सक्छ । यस्तो बेलामा अलिकति मन नियन्त्रणमा राख्न सक्छ । आफन्त वा साथीभाइहरूसँग कुराकानी शेयर गरेर पनि कम गर्न सकिन्छ ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्