चप्पल र म (कविता)

निर्दोष एन पि

 


Advertisement

भन ! चप्पल तिमी र म मा के फरक छ ? 

 


Advertisement

तिमीले पनि तिम्रा मालिकहरूलाई बोक्छौ ,

म पनि त मेरा मालिकहरूका आदेशहरूलाई बोक्छु ,

 

तिम्रा मालिकहरूले हमेशा तिमीलाई कुल्चिरहन्छन ,

देखेका छौ कहिल्यै मेरा मालिकहरूले मलाई शिरमा राखेको ?

 

तिमी आफुले चाहेको बाटोतिर हिड्नै सक्दैनौं ,

मलाई पनि त रोकिन्छ बाटो बदल्न खोज्दा ,

 

तिमी दैलो बाहिर बसेर मालिक चिहार्छौ ,

म पनि त भित्र छिरेको कुनै इतिहास छैन ,

 

तिमीलाई काँडाहरूले घोचिरहन्छन बेलाबेलामा ,

साथी मलाई पनि त तिरस्कारहरूले घोचिरहन्छन ,

 

तिम्रा छापहरू पनि मेटिदै जान्छन ,

मेरो इतिहास पनि त मेटिएको छ इतिहासबाट ,

 

'तिमी' र 'म' संगै सगरमाथाको चुचुरोमा पुगेका होइनौं ?

खै कुन पत्रीकाले लेख्यो ,

'फलानो चप्पल र मान्छेले सगरमाथाको सफल आरोहण गरे ?'

 

तिमीलाई फरक फरक कम्पनीहरूले बनाउछन ,

मेरो पनि त फरक फरक जात बनाईएको छ ,

 

तिमीलाई करोडौंमा किनेपनी तिमी मन्दिर छिर्न सक्दैनौं ,

कहिल्यै देखेका छौ मलाई मन्दिर छिर्न दिएको ?

 

तिमीले नचाहेर पनि झरेको फूललाई कुल्चिनुपर्छ ,

मैले पनि त मेरा पैताला मुनि रहरको बजार कुल्चिएको छु ,

 

कम्पनी बदलिरहन्छ मालिकका पाउहरूमा

तर तिमी कहिले बदलिएनौ , 

कति निस्वार्थी छौ ,

कति आत्मिय छौ,

बारम्बार कुल्चिन्छौ ,

फेरि पाउहरू मै अङ्गालो हाल्छौ ,

खुब वफादार छौ तिमी ,

 

लाग्छ म पनि वफादार छु ,

तिमी जस्तै सहनसिल छु ,

उत्तरदायी छु ,

तर किन हाम्रो कदर योगदानको गरिदैन ? 

 

ए! चप्पल,

आउ तिमी र म अब संगै सडकमा जाऔं 

र यसरी नारा लगाऔं, 

 

'अतिवाद मुर्दावाद'

'सामन्तवाद मुर्दावाद'

'कुविचारवाद मुर्दावाद'

'आश्वासनवाद मुर्दावाद'

 

मुर्दावाद , मुर्दावाद ...

ध उप म पा १३, राजपुर 

कमेन्ट गर्नुहोस्