कजाकास्तानमा कोरोनाभाइरसभन्दा खतरनाक रोग देखिएको छ : चिनियाँ अधिकारी

कजाकास्तानमा कोरोनाभाइरसभन्दा खतरनाक निमोनिया रोगले यस वर्ष मात्रै १७ सयजनाको ज्यान लिइसकेको चिनियाँ अधिकारीहरूले बताएका छन् । 

‘कजाक स्वास्थ्य विभाग तथा अन्य निकायले तुलनात्मक अध्ययन गरिरहेका छन् र निमोनिया भाइरसको प्रकृतिलाई परिभाषित गरेका छैनन्,’ कजाकास्तानस्थित चिनियाँ दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई जानकारी दिँदै भन्यो । 


Advertisement

जुन महिनाको आरम्भदेखि अज्ञात निमोनियाका केसहरू उल्लेख्य मात्रामा बढिरहेको दूतावासको कथन छ । कतै कतै त दिनको १०० वटा नयाँ केस देखिएको पनि उनीहरूले बताए । 

निमोनियाका केसहरू अटीराउ, अक्तोबे र शीमकेन्टमा बढी देखिएको चिनियाँ दूतावासले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दियो । ३० जना बिरामीको अवस्था गम्भीर रहेको बताइएको छ । 


Advertisement

रोगले यस वर्ष मात्रै १७ सय ७२ जनाको ज्यान लिएको छ र तीमध्ये केही चिनियाँ नागरिक हुन्, दूतावासको भनाइ छ । जुन महिनामा मात्रै ६२८ जनाको मृत्यु भएको छ । ‘यो रोय कोभिड–१९ भन्दा कडा छ,’ बयानमा लेखिएको छ । 

चिनियाँ दूतावासले मानिसहरूलाई सकेसम्म बाहिर नजान अनि भीडभाड भएका ठाउँतिर नपुग्न चेतावनी दिएको छ । मास्क लगाउन, विभिन्न स्थानलाई संक्रमणमुक्त बनाउन, समयसमयमा हात धुन र घरभित्र हावाको प्रवाह सहज बनाउन उसले उत्प्रेरित गरेको छ ।
 

सीएनएनबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्