जुनारमा संकट : औंसा कीराको व्यवस्थापनसँगै पुनःस्थापित बगैँचा

  • सन्तोष खड्का र सुस्मिता तिवारी

राणा शासनकालदेखि नै ‘ज्युनार गरी बक्सियोस्’ भन्दाभन्दै ‘जुनार’ नाम रहन गएको यो फल पहाडी क्षेत्रमा निकै नै चर्चित छ । नेपालका ४९ जिल्लामा खेती गरिँदै आए पनि सिन्धुली र रामेछाप जिल्लाका पहाडी क्षेत्रमा यसको बढी उत्पादन हुँदै आइरहेको छ ।


Advertisement

जुनार फलफूल यी जिल्लामा प्रत्येक घरको साथी बन्दै विगत लामो समयदेखि किसानको मुख्य आम्दानीको स्रोतको रुपमा पनि रहँदै आएको छ । तर पनि किसानले जुनारको उन्नत खेती प्रविधि सम्बन्धी उचित तालिम, बगैँचा विस्तार सम्बन्धित प्राविधिक सेवा तथा सल्लाह, उन्नत जातका कलमी विरुवा र उत्पादन भइसकेका जुनारको व्यवस्थित बजार नपाउँदा खासै राम्रो आम्दानी भने गर्न सकेका छैनन् । 

सरकारी र गैरसरकारी निकायबाट आउने अनुदान तथा सेवासुविधा केही सीमित अगुवा कृषकमा मात्र थुप्रिई साना किसानसम्म नपुग्नु पनि अर्को समस्या हो । त्यसैमाथि विगत केही वर्षदेखि औंसा कीराको प्रकोपले गर्दा धेरै किसानको आम्दानी शून्यमा समेत झरेको छ ।


Advertisement

किसानको शत्रु औंसा किरा 

मान्छेको शत्रु को–को हुन सक्छन् ? एक पटक सोचौं त, मान्छेको शत्रु मान्छे नै वा अरु कोही । जुनार उत्पादक किसानको लागि भने औंसा कीरा शत्रु बनेर आएको छ ।

किसानहरू भन्छन्, ‘शत्रुले त एकदिन छोड्ला तर यो कीराले छोड्दै छोडेन ।’ विक्रम संवत् २०७१ कात्तिक–पुसमा सिन्धुलीको जुनार बगैँचामा पहिलो पटक देखिएको यो कीरा अहिले भने देशैभर दह्रो बोक्रा भएका सुन्तला जातका फलफूल (जुनार, निम्बुवा) उत्पादन हुने ठाउँमा बढीभन्दा बढी क्षति गर्दै आइरहेको छ । टाढा–टाढासम्म उड्ने क्षमता भएको यो झिंगाको उत्पत्ति चीनमा भइ भुटान, भारतको सिक्किम हुँदै नेपालको पूर्वी पहाडी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा प्रवेश गरेसँगै जुनार बगैँचामा यसले सय प्रतिशतसम्म हानी–नोक्सानी पुर्‍याइ किसानलाई बगैँचा नै खाली गर्न बाध्य बनाएको थियो ।

जुनारमा अरु रोग तथा कीरा नलाग्ने होइनन् तर यो कीरा पहिला कहिल्यै नदेखिएको, अरुभन्दा फरक आनीबानी र क्षतिको किसिम भएका कारणले गर्दा किसानलाई नियन्त्रणमा गह्रो बनाएको हो ।

कीरा देखिएको पहिलो वर्षमा थोरै मात्र नोक्सानी गरे पनि यसको आनीबानी र जीवन चक्रको सही पहिचान गरी नियन्त्रणतर्फ कसैले ध्यान नपुर्‍याउँदा दोस्रो वर्षदेखि धेरै नै नोक्सानी पुर्‍याउन थालेको छ ।

रामेछापका किसान निराश हुँदै भन्छन्, ‘बगैँचाभरी जुनारका बोट छन्, फल पनि राम्रै लागेका छन् तर खाने बेलामा प्रत्येक दानामा औंसा कीरा भेटिन्छन् र खानै नमिल्ने भएपछि त्यतिकै फालिन्छ । अन्नबाली नलगाएर वर्षभरि त्यहीँ बगैंचामा मेहनत गरियो तर जुनारको दाना चाख्न समेत पाइएन ।’ पहिले रामेछाप र सिन्धुलीका किसानको लागि जुनार प्रत्येक घरको साथी बनेको थियो तर पछि औंसा कीराको आक्रमणले गर्दा एउटा दाना पनि चाख्न नपाएपछि किसानले यसलाई शत्रुको संज्ञा दिएको बताउँछन् ।

व्यवस्थापनमा चुनौती 

शुरू–शुरूमा झिंगाको जीवनचक्र र आनीबानी थाहा नहुँदा यसको व्यवस्थापन निकै चुनौतीको रुपमा खडा भएको थियो । केही वर्षदेखि नेपाल सरकार अन्तर्गतका विभिन्न कृषि कार्यालय र विश्वविद्यालयले गरेका अनुसन्धानले झिंगाको जीवनचक्र र आनीबानी थाहा पाई व्यवस्थापनमा केही सजिलो बनाए पनि पूर्ण नियन्त्रण भने हुन सकेको छैन । चिनियाँ झिंगा भनेर पनि चिनिने यो औंसा कीराले आफ्नो जीवनचक्र पूरा गर्न १ वर्ष लगाउँछ, जुन सुन्तला जातका फलफूलमा लाग्ने अरु कीराहरूभन्दा फरक र लामो हुने गर्दछ । वयस्क पोथी झिंगाले आफ्नो पेट पछाडि रहेको सियो जस्तो सानो उपाङ्गको मद्दतले जेठदेखि साउन महिनासम्म गुच्चा जस्ता स–साना फलमा प्वाल बनाई अण्डा पार्ने गर्दछन् र करीब १ महिनाको अवधिपछि अण्डाहरू लार्भामा परिणत भई जुनार फलको गुदी खाने गर्दछन् ।

यस कीराको विभिन्न अवस्थाहरूमध्ये जुनारमा क्षति पुर्‍याउने पनि लार्भा अवस्था हो । लार्भाको नेपाली नाम औंसा हो । फलको वृद्धिविकास भएसँगै लार्भाले फल भित्रको गुदी खाँदै जान्छ । पाक्ने बेलासम्म जुनार फलको बाहिरी भाग जस्ताको त्यस्तै हुन्छ भने कीराले भित्र गुदी पूरै खाइसकेको हुन्छ । यसरी झिंगाले फलको बाहिरी बोक्रामा केही असर नगरी भित्रको गुदी मात्र खाने र झट्ट आँखाले दानामा हेर्दा यसको असर नदेखिने भएकाले पनि यसको व्यवस्थापन तथा नियन्त्रणमा चुनौती थपिएको हो ।

संक्रमित फलहरू पाकेपछि झर्छन् र लार्भाहरू जमिनमा गई प्यूपा अवस्थामा परिणत हुन्छन् । यो कीराको अचल अवस्था हो । कात्तिकदेखि चैत्रसम्म हिउँदको चिसोभर माटोमुनि सुसुप्त अवस्थामा बसिसकेपछि फेरि वसन्त ऋतुसँगै नया पालुवा पलाउन र फूल फुल्न शुरू गरे पछि अचल अवस्थाबाट वयस्क कीरा भइ जमिन बाहिर निस्कन्छन् । प्यूपा अवस्था जमिनमुनि हुने भएकाले प्रायः किसानले यो अवस्थालाई त्यति ख्याल नगरेको र नचिनेको पाइन्छ ।

पछि एक्कासी बैशाख महिनामा वयस्क झिंगा जमिनबाट निस्की फूल पार्न थालेपछि किसानहरू यसको नियन्त्रण गर्न असमर्थ हुन्छन् ।

कीरा नियन्त्रण गर्न नसकेर प्रायः किसानले जुनारका बुटा काटेर बगैँचा नै खाली बनाउन बाध्य भएका छन् । अध्ययन र अनुसन्धानको सीमितताका कारण कीरा नियन्त्रणमा ढिलाइ भएको छ तर पनि खुशीको कुरा अहिले नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिन्धुली र रामेछापमा लागू भएका जुनार सुपरजोन र जोन कार्यक्रमको पहलमा केही हदसम्म कीरा पहिचान र नियन्त्रण सम्भव भएको छ ।

व्यवस्थापनका विधि

बगैँचाको सरसफाई र राम्रो हेरविचार नै औंसा कीरा व्यवस्थापनको पहिलो सूत्र हो । अनुसन्धानअनुसार बगैँचाको सरसफाईबाट मात्र पनि १–१०० प्रतिशतसम्म कीराको नियन्त्रण हुने बताइएको छ । यसरी सरसफाई र हेरविचार गर्दा बगैँचामा भेटिएका कीराका जुनसुकै अवस्था भए पनि नष्ट गर्नुपर्छ । टाढा–टाढासम्म उड्ने क्षमता भएको हुदाँ यसलाई एउटा कृषकले मात्र आफ्नो बारीमा नियन्त्रण गरी फाइदा छैन, यसको लागि व्यापक क्षेत्रगत नियन्त्रण गर्न जरुरी हुन्छ । एकल तरिकाबाट पनि यस किराको नियन्त्रण सम्भव छैन । तसर्थ, यसको उचित नियन्त्रणका निम्ति पूरा समूह र समुदाय लाग्न जरुरी छ ।

संक्रमित फलहरू भूइँमा झर्न नदिने वा झरेको २४ घण्टा भित्रमा नियमित संकलन गरी १ देखि १.५ मिटर गहिरो खाडलमा जमिन सतहदेखि ३० सेन्टिमिटरभित्र पर्ने गरी माटोमा पुर्ने वा कालो प्लास्टिकमा हावा नछिर्ने गरी बाँधेर राख्ने । यसो गरेमा लार्भाहरू नस्ट भइ वयस्क बन्न पाउँदैनन् ।

अहिले चाइनिज उत्पादन ग्रेट फ्रुट फ्लाई बेटको प्रयोगले औंसा कीराको प्रभावकारी नियन्त्रण भइरहेको छ । बसन्त ऋतुमा वयस्क झिंगा जमिन बाहिर निस्केपछि अण्डा पार्न यसलाई प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । खानाको खोजीमा सल्लाको चोप, चराको बिष्टा आदिको खोजीमा हिँड्दछ । यसै बेला यसलाई नक्कली प्रोटिनयुक्त खानामा बिषादी मिसाएर जुनारको बुटामा छर्केपछि प्रोटिनसँगै बिषादी पनि खाई झिंगा मर्ने गर्दछ । ग्रेट फ्रुटफ्लाई बेट प्रोटिन हाइड्रालाई सेट २५% र किटनाशक विषादी एबामेकटिन ०.१५ मिसाइएको हुन्छ । एक भाग ग्रेट फ्रुटफ्लाई बेटमा २ भाग पानी मिसाइ जुनार बोटको एक वर्ग क्षेत्रफलमा पातको तल्लोपट्टि पर्ने गरी प्रतिरोपनी ७–८ बोटमा ७–७ दिनको अन्तरालमा १० पटक छर्नाले यस कीराको नियन्त्रण हुने अनुसन्धानले देखाएको छ ।

यिनै व्यवस्थापनका विधिहरू अपनाई कीरा केही हदसम्म नियन्त्रण भएसँगै फेरि उही किसानहरू नयाँ बोट लगाई नयाँ बगैँचा स्थापना गर्न थालेपछि हामी कीरा नियन्त्रण गर्नमा सफल भएको देखाउँछ तर पनि नयाँ स्थापित बगैँचामा औंसा किराले फेरि पनि आक्रमण नगर्ला भन्न सकिन्न त्यसैले यस सम्बन्धी पनि ध्यान पुर्‍याउन जरुरी छ ।

समस्या कहाँ छैन ? अहिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस र यससँगै आएको बन्दाबन्दीको असर यहाँ पनि देखिएको छ । असारको महिना किसानहरू खाल्डा खनेर नयाँ बोट लगाउन तयार छन् तर खोजे जस्तो र पर्याप्त बोट नपाउँदा किसानहरू निराश बनेका छन् । त्यसैले यदि साँच्चिकै जुनार उत्पादन बढाउने हो भने औंसा कीराको नियन्त्रणसँगै बगैँचा विस्तारको लागि नर्सरी स्थापनामा जोड दिने, उन्नत जातका बढी उत्पादन दिने र भाइरसले आक्रमण नगर्ने बोटबोरुवा लगाउनु जरुरी हुन्छ । यति गरेपछि पक्कै पनि फेरि पूर्वी मध्यपहाडी जिल्लाहरूका डाडाहरू जुनार बगैँचाले ढाक्ने छन् ।

अबको बाटो

यसरी औंसा कीराको नियन्त्रण हुँदै गयो, किसानहरूले उत्पादन बढाउँदै गए भने बजार अर्को समस्या भएर निस्कन सक्छ । यसै कुरालाई मध्यनजर राख्दै अहिलेबाट नै यस सम्बन्धी मार्गचित्र बनाएर अघि बढ्नु जरुरी छ । जुनार उत्पादन हुने पकेट क्षेत्रमा किसान प्रोत्साहनको लागि एक वडा एक नर्सरी, जुनार भण्डारणको लागि सेलार स्टोरेज, प्रशोधन गरी जुस निकाल्न यन्त्र उपकरणको व्यवस्था गर्न जरुरी देखिन्छ ।

विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद्का तर्फबाट अझै अध्ययन अनुसन्धान बढाउँदै लैजानुपर्छ । प्रायः यसको खेती पूर्वी पहाडी जिल्लामा मात्र सीमित भएकाले पश्चिम पहाडी जिल्लामा पनि बगैँचा विस्तार सम्बन्धी अध्ययन हुन जरुरी छ ।

अन्त्यमा नियन्त्रणतर्फ अघि बढेको औंसा कीराको पूर्ण नियन्त्रण हुँदै पुराना तथा नयाँ स्थापित बगैँचाबाट बढीभन्दा बढी जुनार उत्पादन भई राम्रो आम्दानी हुनेमा हामी आशा राख्दछौं ।

(कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा अध्ययनरत खड्का र तिवारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई रामेछापमा ‘इन्टर्न’ गर्दै छन् ।)
 

कमेन्ट गर्नुहोस्