काठमाडौंका एक अपवाद वडाध्यक्ष, फेर्दैछन् चोभारको मुहार

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

अहिले बन्द भइसकेको हिमाल सिमेन्ट उद्योगका लागि चुनढुंगा निकालेर बाँकी रहेको गिग्रेटो माटो थुपारिएको चोभारको डाँडो केही समय अगाडिसम्म उराठलाग्दो थियो ।

रातिमा स्याल कराउने र दिउँसोमा गँजेडी र दुर्व्यसनीको अखडा बनेको यो ठाउँमा अहिले पर्यटकको चहलपहल शुरू भएको छ । 


Advertisement

कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेर अहिले फेरि सवारी साधनमा जोरबिजोर लागू गर्दा पनि चोभारमा युवा युवतीको भीड रोकिएको छैन । 

शहरमा निसास्सिएका युवा हावा खान भन्दै खुला ठाउँको खोजीमा आउने गर्छन्, त्यसैमाथि निर्माण सम्पन्न हुन लागेको प्रतिमा सहितको मञ्जुश्री पार्कको आकर्षणले चोभारको आकर्षण बढाएको छ । 


Advertisement

पानीको दहलाई खड्गले काटेर मञ्जुश्रीले काठमाडौं उपत्यकामा बस्ती बसाएको किम्बदन्ती छ ।

मञ्जुश्रीले डाँडो काटेर पोखरीको पानी बाहिर पठाएको ठाउँ (गल्छी)को ठीक माथिपट्टि मञ्जुश्रीको ३३ फिट अग्लो प्रतिमा बनाइएको छ । पूर्व (काठमाडौं शहर)तर्फ फर्काएर बनाइएको प्रतिमासहितको पार्कले चोभारको सौन्दर्य बढाएको छ । 

केही वर्ष अगाडिसम्म उजाड रहेको चोभारलाई काठमाडौं उपत्यकाको एउटा आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्न दिनरात खटिएका हुन्छन्, कीर्तिपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष न्हुछेबहादुर महर्जन । 

‘निर्वाचित भएर आएपछि मैले यहाँको बजेट आधा जति मञ्जुश्री पार्क र आधा टौदहको संरक्षणमा लगाएँ। शुरूमा स्थानीयले मलाई पागल भयो पनि भने’ वडाध्यक्ष महर्जनले भने, ‘अहिले स्थानीयबासीहरू बुझ्दैछन् पर्यटकीय क्षेत्रमा गरेको लगानीले कसरी स्थानीयलाई फाइदा पुगेको छ ।’

जलविनायक छेवैमा रहेको वडा कार्यालयमा दिनभर व्यस्त हुने वडाध्यक्ष कामबाट फुर्सद भयो कि पार्कको कार्यप्रगति हेर्न मञ्जुश्री पार्क पुगिहाल्छन् । 

बाग्मती प्रदेश सरकार र कीर्तिपुर नगरपालिकाको गरी २२ करोडको लागतमा मञ्जुश्री पार्क बन्दैछ । निर्माणको अन्तिम चरणमा पुगेको पार्कको उत्तरपट्टि मञ्जुश्रीको आकृति झल्किने पानीको फोहोरा पनि बन्दैछ । काठमाडौं उपत्यकाको प्राचीन संस्कृति झल्किनेगरी ढुङ्गेधाराबाट पानी झारेर वाटर फाउन्टेन बनाउन लागिएको छ । 

मञ्जुश्री पार्कको पश्चिमपट्टि खाली ठाउँमा म्युजिकल कन्सर्टका लागि मञ्च बनाउने योजना रहेको महर्जन बताउँछन् । ‘गायिका आनी छोइङ डोल्माले काठमाडौंमा दशौं हजार अट्ने कन्सर्ट गर्ने स्टेज छैन, यहाँ बनाउन सके राम्रो हुन्थ्यो भनेर सुझाव दिनुभएको छ, यहाँको भौगोलिक अवस्थितिले कन्सर्ट बनाउन सकिन्छ भनेर योजना बनाउँदैछौँ,’ वडाध्यक्ष महर्जनले भने । ​

प्रतिमानजिकै बल्खु–दक्षिणकाली सडकबाट चोभारको गल्छीमाथि ललितपुरको सैंबु डाँडा र कीर्तिपुरको चोभार जोड्ने झोलुंगे पुल निर्माणका लागि पनि ललितपुर महानगरपालिकासँग प्रस्ताव राखेका छन् । ‘झोलुंगे पुल बन्यो भने यो क्षेत्र पर्यटकीय हिसाबले अझै आकर्षक क्षेत्र बन्छ भन्ने विश्वास छ,’ उनले भने ।

विविधताले भरिएको मिनी कीर्तिपुर

साविकको चोभार–भूतखेल गाविस कीर्तिपुर नगरपालिकामा गाभिएपछि अहिले नगरपालिकाको वडा नम्बर ६ पर्छ । सिंगो नगरपालिकाको ३३ प्रतिशत भू–भाग यही वडामा पर्छ । 

काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको मञ्जुश्रीले काटेको चोभार, उपत्यकाका चार विनायकमध्येको एक जलविनायक र टौदह यही वडामा पर्छन् । यी सम्पदाको संरक्षण र पर्यटकको आकर्षण बनाउनका लागि वडाध्यक्ष रात दिन यही काममा खटिएका छन् । 

‘उहाँ निर्वाचित भएर आएपछि वडाको विकासमा दिनरात लागेको देख्छौँ, उहाँले राम्रो काम गर्नुभएको छ,’ चोभारमा बस्दै आएका वृद्ध भीमबहादुर ढकालले भने ।

टौदह काठमाडौं उपत्यकाभित्र रहेको सबैभन्दा ठूलो पोखरी हो । 

प्राकृतिक रूपमै पानी जमेको यो पोखरीको निर्माणको किम्बदन्ती पनि मञ्जुश्रीसँग जोडिन्छ । स्थानीय वयोवृद्धहरूका अनुसार मञ्जुश्रीले चोभारको डाँडो काटेपछि पानी बाहिर गयो, पानीसँगै वर्षा र सहकालका देवता नागहरू पनि बगेर जाने भयो भन्ने चिन्तापछि मञ्जुश्रीले टौदह बनाएको किम्बदन्ती छ ।

मञ्जुश्रीले टौदह बनाउँदा फालेको माटोको ढिस्कोले टौदहभन्दा पारिपट्टिको डाँडो बनेको किम्बदन्ती छ । 

८४ रोपनी क्षेत्रफलमा फैलिएको टौदह पञ्चायतकालसम्म राणा, दरबारनिकट पहुँचवाला र खान्दानीया परिवारका लागि शोखको स्थान बनेको थियो । टौदहमा साइबेरियादेखि आउने चराको शिकार र माछा मार्न आसपासका जमिन राणा र शाहहरूले हडपेका थिए । 

‘टौदहको माछा मार्नुहुँदैन भन्ने स्थानीयको प्रचलन थियो, तर राणाहरूलाई धार्मिक कानून नलाग्ने, उनीहरू आसपासका जमिन किनेर चराको शिकार खेल्न आउने गर्दथे, २०४६ सालको आन्दोलनपछि हामीले विरोध गरेपछि शिकार खेल्ने काम बन्द भयो,’ वडाध्यक्ष महर्जनले स्मरण गरे । 

काठमाडौं उपत्यकाको पर्यावरण सन्तुलन कायम राख्ने र राजधानी नजिकैको पर्यटकीय स्थल भएकाले यसको संरक्षणका लागि भन्दै वडाले प्रत्येक वर्ष रकम छुट्ट्याएको छ ।

‘यस वर्ष पोखरीको दक्षिणपट्टिको अग्लो भागको सडकमा ढुंगा बिच्छ्याउने योजना छ,’ उनले लोकान्तरसँग भने । 

पोखरीको दक्षिणपूर्वपट्टि कर्कटेश्वर महादेवको मन्दिर निर्माणको काम पनि केही समयमा शुरू हुँदैछ । नागपञ्चमीको अवसरमा टौदहमा विशेष मेला लाग्ने गरेको छ । कोरोना संक्रमणपूर्व टौदहमा दैनिक १२ हजारसम्मले भ्रमण गर्ने गरेका थिए । 

कर्कटेश्वर महादेवको मन्दिर बनाउनका लागि समाजसेवीहरूले सहयोग गर्दैछन् । ‘डा. जगदीश वैद्यले मन्दिरका लागि मूर्ति र पञ्चधातुबाट निर्मित ८४ किलोको घण्ट उपहार दिइसक्नुभएको छ, मन्दिरको गेट निर्माणको खर्चका लागि प्रतिष्ठित व्यवसायी विमल केडियाले वचन दिनुभएको छ,’ वडाध्यक्ष महर्जनले भने । 

टौदहको केही अग्लो भाग भएकाले दिउँसोको समयमा कर्कटेश्वर महादेव (नागराजा) घाम ताप्न आउने ठाउँ भएको किम्बदन्तीका आधारमा सो ठाउँमा मन्दिर निर्माण गर्न लागिएको हो । मन्दिर बनेपछि यस क्षेत्रको धार्मिक महत्त्व अझ बढ्ने उनको विश्वास छ । 

टौदह पोखरीनजिकै तीनवटा स–साना पोखरी छन्, ती पोखरीलाई टौदहको आँखा भन्ने गरिन्छ । ती पोखरीको संरक्षणका लागि काम भइरहेको छ । ‘अहिले जलकुम्भीले भरिएका टौदहका तीनवटा आँखालाई संरक्षण गरेर टौदहका केही माछा त्यहाँ सारेर फिसिङ गराउन सकिन्छ कि भन्ने योजनामा छौं,’ वडाध्यक्ष महर्जनले भने । 

विगतमा फिसिङ हुने टौदह पोखरीमा अहिले माछा मार्न प्रतिबन्ध छ । पोखरीमा हजारौंको संख्यामा माछा छन् । 

टौदहमा पर्यटक आकर्षित गर्न नागको स्वरूप देखिनेगरी ६० फिट अग्लो पानीको फाउन्टेन बनाउने पनि वडाको योजना छ । वडाध्यक्ष महर्जनले जग्गा एकीकरण (ल्याण्ड पुलिङ)को अवधारणा ल्याएर टौदहको छेउमा केही सार्वजनिक जग्गा ल्याउन सकिन्छ कि भनेर पहल गरे, तर स्थानीयले यो कुरा बुझेनन् । 

‘यो क्षेत्रमा २ हजार रोजपी जग्गा रहेछ, ल्याण्ड पुलिङ गरेर ५ प्रतिशत मात्र जग्गा ल्याउन सकियो भने टौदहको बाहिर झण्डै २ सय रोपनी जग्गा हुन्थ्यो भनेर योजना बनाएका छौं,’ उनले भने । 

वृद्धवृद्धालाई विशेष स्याहार

समाजमा वृद्धवृद्धाहरू अपहेलित भएको, घर परिवारबाट एक्लिँदै गइरहेको गुनासो सुन्ने गरिन्छ । वृद्धवृद्धाका लागि चोभारमा दुईवटा जेष्ठ नागरिक भवन निर्माण गरिएको छ, जहाँ हप्तामा तीन दिन वृद्धवृद्धा भेला हुन्छन्, दुःखसुखका कुरा गर्छन् ।

‘कतिजना बुवाआमाले आफ्नो जन्मदिन पनि जेष्ठ नागरिक भवनमा मनाउने गर्नुभएको छ,’ महर्जनले भने ।

वडाको खर्चमा वर्षमा एकपटक वृद्धवृद्धालाई भ्रमणमा लैजाने गरिएको छ । गएको वर्ष वडा नम्बर ६ का ४ सय १७ जना वृद्धवृद्धालाई केबलकार चढाएर चन्द्रागिरी घुमाइएको थियो । 

‘तपाईं नभएको भए हामीहरू यसरी चन्द्रागिरी आउन कहाँ पाउनु भनेर वृद्ध बुवाआमाले आँसु नै झार्नुभयो,’ वडाध्यक्ष महर्जनले भने, ‘हामीले थोरै गर्दा पनि वृद्धवृद्धा खुसी हुनुहुँदोरहेछ ।’​

वडाकै पहलमा ५० शय्याको अस्पताल बन्ने 

हिमाल सिमेन्ट उद्योग बन्द भएपछि सो स्थानमा सरकारले अहिले ड्राइपोर्ट निर्माणको काम गरिरहेको छ । काठमाडौं–तराई फास्टट्र्याक खुलेपछि सञ्चालनमा ल्याउने गरी पोर्ट निर्माणको काम धमाधम भइरहेको छ । 

यो क्षेत्रमा अस्पताल बनाउन भन्दै वडाध्यक्षले सरकारसँग २५ रोपनी जमिन लिएका छन् । ‘सामुदायिक व्यवस्थापनबाट चलाउनेगरी अस्पताल निर्माणको योजना बनाइरहेका छौं,’ उनले भने ।

वडामा रहेको स्वास्थ्य चौकीको नयाँ भवन बनाएर ल्याबसहितको स्वास्थ्य चौकी निर्माणको काम भइरहेको छ । 

वडामा बाटो निर्माण, सार्वजनिक सम्पत्तिको संरक्षण, टोलमा वृद्धवृद्धाका लागि फिजिओ थेरापी पार्क लगायतका काम भइरहेका छन् । टिनको टहरामा रहेको वडा कार्यालयका लागि साढे ३ तलाको आकर्षक भवन बन्दैछ । 

‘जनताको काम गर्छु भनेर निर्वाचित भएर आएपछि निजी जीवन भन्ने हुँदो रहेनछ, जनताको काम गर्दा नै खुसी छु,’ महर्जनले भने, ‘निर्वाचित भएको तीन वर्ष पूरा भयो, समय घर्किँदै छ, जनतासँग गरेको वाचा अनुसारको गर्नुपर्ने काम धेरै छ, यसमा चिन्तित छु ।’ 

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्