नेकपा विवाद सहमतितर्फ, पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

सत्तरुढ दल नेकपाभित्र लामो समयदेखि जारी विवाद सहमतिमा टुंगिने दिशामा अघि बढेको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार बालुवाटारमा भएको वार्तामा जारी विवाद सहमतिमा टुंग्याउने निर्णय गरेको हो ।


Advertisement

दुवै अध्यक्ष एक कार्यदल गठन गरेर त्यसबाट सुझाव लिने र त्यही सुझावका आधारमा विवाद अन्त्य गर्न सहमत भएका छन् ।

बैठकले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।


Advertisement

कार्यदलका सदस्यहरूमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् ।

उक्त कार्यदललाई यथाशीघ्र सुझाव पेश गर्न म्याण्डेट दिइएको छ ।

'आजको विकसित घटनाले नेकपाको विवाद समाधानतर्फ फर्केको स्पष्ट संकेत गरेको छ,' उच्च स्रोतले लोकान्तरसँग भन्यो, 'दुई अध्यक्ष सहमतिका साथ अघि बढ्न राजी हुनु र कार्यदल समेत गठन हुनुले अब नेकपाको विवाद हल हुने दिशातिर अघि बढ्यो भन्ने बुझ्न सकिन्छ ।'

स्रोतका अनुसार आजको बैठकमा दुवै अध्यक्ष पार्टी एकतालाई थप मजबुत बनाएर अघि लैजान सहमत भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेकपा विवाद ५ दिनभित्र समाधान हुने संकेत गरेका थिए ।

​असार १० गते शुरू भएको स्थायी कमिटी बैठक विवादका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्