११ असार २०८३, बिहीबार

आइसोलेसन विस्तार गर्ने पोखरा महानगरको योजना : अधिकांश ठूला होटलले देखाएनन् इच्छा

भदौ १८, २०७७
आइसोलेसन विस्तार गर्ने पोखरा महानगरको योजना : अधिकांश ठूला होटलले देखाएनन् इच्छा

पोखरा महानगरपालिकाले कोरोना संक्रमितलाई राख्न आइसोलेसन सेन्टर आवश्यक भएको भन्दै गत भदौ ८ मा सूचना प्रकाशित गर्‍यो । निःशुल्क वा सःशुल्क उपलब्ध गराउने सम्बन्धमा ३ दिन म्याद राखेर अस्पताल, होटल, पार्टी प्यालेस, अन्य भवनसँग प्रस्ताव आह्वान गरिएकोमा २ होटलले मात्र इच्छा देखाए । तर, १ सय जनालाई राख्न सक्ने गरी कम्तिमा सोही संख्या क्षमताको बेड हुनुपर्ने भनी प्रस्ताव आह्वान गरिएकोमा पर्याप्त प्रस्ताव नआएपछि पुनः भदौ १२ मा सोही प्रकृतिको अर्को सूचना जारी गर्‍यो ।

३ दिन अवधि राखेर भएको सूचनाको म्याद पनि १५ गते सकियो । मात्र १ होटलले इच्छा देखायो । पोखरामा सानाठूला गरी ८ सय वटा होटल भएपनि संक्रमित राख्नका लागि मात्र ३ होटल अघि सरेका हुन् । त्यसमा पनि ३ मध्ये २ होटलको सम्बन्धित वडा कार्यालय र टोल विकास संस्थाको सिफारिश आउन बाँकी छ । 

पोखरा महानगर कोरोना संक्रमण मुल समितिका सदस्य सचिव किरण कोइराला भन्छन्, ‘प्रस्ताव आह्वानको म्याद सकिए पनि हामीहरू आपसी समझदारीमा अरू पनि प्रस्ताव लिँदै जानेछौं, ताकि आगामी दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गए आइसोलेसनमा जान सहज होस् ।’ 

उनका अनुसार पोखरा– १४ चाउथेस्थित रोयल पाम होटलले इच्छा देखाएको छ । होटलमा हाल करीब ८० बेड छन् । तर, महानगरसँग के–कति दररेटमा भाडा सम्झौता हुन्छ भन्ने बारेमा छलफल हुन बाँकी रहेको कोइरालाले बताए । उनले भने, ‘प्रस्ताव दर्ता भएकामध्ये एकान्त ठाउँमा रहेका र सुविधासम्पन्न भएको हुँदा रोयल पामलाई आइसोलेसन सेन्टरको रूपमा विकास गर्न सकिने सम्भावना छ, तर भाडा सम्झौता लगायतबारे छलफल हुन बाँकी छ ।’ 
उनका अनुसार अस्पताल, होटल, पार्टी प्यालेस, अन्य भवनमा आइसोलेसन सेन्टर राख्दा सम्बन्धित वडा तथा टोल विकास संस्थाको मञ्जुरी आवश्यक छ । प्रस्ताव दर्ता गराएका बाँकी २ होटलको भने सिफारिस आइसकेको छैन । उनका अनुसार ती होटल घनाबस्तीमा रहेको हुँदा पनि सम्भावना कम रहेको उनले बताए । 

कोरोना संक्रमितलाई राख्न आइसोलेसन सेन्टर बनाउँदा पर्याप्त बेड क्षमता भएका ठूला होटल भने किन इच्छुक भएनन् त ? सबैको प्रश्न छ । त्यतिमात्र हैन, एक सय बेड क्षमता भएका होटल धेरै नै छन् । ३० कोठे होटलले पनि एउटै कोठामा ३/४ बेड राखेर महानगरको मापदण्डअनुसार एक सय बेड पुर्‍याउन सक्छन्, तैपनि होटलले आफ्ना भवनलाई आइसोलेसन सेन्टर बनाउन रुचि देखाएनन् । 

पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन भन्छन्, ‘संक्रमित पाहुना राख्दा अनेक झन्झट बेहोर्नुपर्ने भएकाले होटलले इच्छा नदेखाएका होलान् । पहिले पनि क्वारेन्टीन बनाएका केही होटलले निकै झन्झट बेहोरेको गुनासो गरेका थिए । त्यसबाहेक महानगरले भनेजस्ता सबै मापदण्ड पूरा गर्न होटललाई सहज छैन । छिमेकीको पनि विरोध आउने उत्तिकै सम्भावना छ ।’

महानगरले सूचनामा कम्तीमा एक सय बेड क्षमता हुनुपर्ने, पर्याप्त मात्रामा शौचालय र स्नानगृह हुनुपर्ने, स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीका लागि भिन्दै भवन वा कक्ष हुनुपर्ने, पर्याप्त खुला ठाउँ र कम्पाउन्ड हुनुपर्ने, छरछिमेकबाट बाधा विरोध नहुने सुनिश्चितता हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै सम्झौताको चरणमा प्रस्ताव अस्वीकार गरेमा त्यस्तो संस्थासँग महानगरपालिकाले दुई आर्थिक वर्षसम्म कुनै कारोवार नगर्ने गरी कालोसूचीमा राख्नेगरी महानगरपालिकाले शर्त तोकेको छ । तुलाचनका अनुसार होटलहरू अहिले तयार भए पनि कुनै कारणवश पछि महानगरले भनेजस्तो मापदण्ड पूरा गर्न नसके कालोसूचीमा राख्ने भनिएपछि डराएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक होटल व्यवसायी भन्छन्, ‘बरु अझै ६ महिना घाटा बेहोर्न तयार छौं, होटललाई आइसोलेसन बनाउन सक्दैनौं । कोरोना संक्रमित राख्दा भोलिका दिनमा कर्मचारीलाई कोरोना सर्‍यो भने अर्को झन्झट बेहोर्नुपर्छ । त्यसको जिम्मा आफैंले लिनुपर्ने भएकाले महानगरले भनेजस्तो मापदण्डमा प्रस्ताव दर्ता नगरेका हौं ।’

संक्रमित पुष्टि भएपनि लक्षण नभएका व्यक्तिलाई मात्र होटलको आइसोलेसनमा राख्ने योजना रहेको पोखरा महानगर कोरोना संक्रमण मूल समितिका सदस्य सचिव किरण कोइरालाले बताए ।

उनका अनुसार पोखरा महानगरले पैसा तिर्न सक्ने र आइसोलेसनमै बस्न चाहनेहरूलाई शुल्क लिने योजना बनाए पनि आर्थिक स्थिति कमजोर रहेकाहरूलाई नगरले सहयोग गर्नेछ ।

‘लक्षण नभएका संक्रमितलाई होटलमा राख्दा पनि उचित हुन्छ,’ उनले भने, ‘लक्षण नदेखिएका तर, संक्रमण पुष्टि भएका व्यक्तिलाई १४ दिनसम्म होटलमा राखेर घर पठाउन सकिने सरकारी प्रोटोकल छ, त्यहीअनुसार होटलको व्यवस्थापन गर्न खोजेका हौं ।’ 

यस विषयमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सामाजिक त्रासका कारण सबै होटलले आइसोलेसन सेन्टर बनाउन इच्छा नजनाएको हुनसक्ने बताउँछन् ।

‘पोखरामा थाम्नै सकस हुने गरी महामारी भएमा त महानगरले होटल नै भाडामा लिएर भएपनि आइसोलेसन सेन्टर चलाउँछ, तर अहिले त्यो अवस्था छैन । व्यवसायी नै तयार हुन् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

जिसीका अनुसार पोखरा– ५, मालेपाटनको कृषिकेन्द्रमा ४५ बेडको आइसोलेसन निर्माण गरिएको छ ।

पोखरा– ३३ को महिला सुरक्षित घरमा ५० बेडको आइसोलेसन बनाउनेबारे सरोकारवालासँग छलफल भइरहेको जिसीले बताए । पोखरा– ८, सिर्जचोकस्थित युनिटी अस्पताल, पोखरा– ३ नदीपुरस्थित बुद्ध अस्पताललाई समेत आइसोलेसन सेन्टर बनाउने तयारीमा महानगर छ । 

कास्कीमा हाल २ सय २३ संक्रमित संख्या पुगेका छन्, तीमध्ये १ सय १९ सक्रिय संक्रमित छन् ।

हाल ४० महिला र ७९ जना पुरुष आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य निर्देशक नवराज शर्माले जानकारी दिए, कास्कीमा ५ जनाले ज्यान गुमाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्