२६ असार २०८३, शुक्रबार

पोखरामा निजी क्षेत्रमै पहिलोपल्ट चरक मेमोरियलले गर्‍यो कोरोना संक्रमितको सफल उपचार

भदौ १९, २०७७
पोखरामा निजी क्षेत्रमै पहिलोपल्ट चरक मेमोरियलले गर्‍यो कोरोना संक्रमितको सफल उपचार

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित एक बिरामी निको भइ घर फर्केकी छन् । 

पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ करिब १५ दिनसम्म उपचारपछि निको भइ शुक्रबार घर फर्केकी हुन् । उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले अस्पताल परिसरमा आयोजित एक समारोहमा खादा लगाई बिदाइ गरे । 

पूर्व मन्त्री अधिकारीले निजी क्षेत्रमै कोभिड–१९ को उपचारमा सक्रियता देखाई अस्पतालले निको बनाइ पठाउनु आफैमा सकारात्मक कार्य भएको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले कोरोना संक्रमितको उपचारमा अस्पतालले कुनै पनि कसर बाँकी नराखेको बताए । उनका अनुसार अस्पतालमा १ सय बेड क्षमताको रहेकोमा ३० बेड कोभिड–१९ को बिरामीलाई उपचारका निम्ति छुट्याइएको छ ।  अझै पनि अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको उपचार भइरहेको छ । 

गत भदौ ४ मा उपचारार्थ भर्ना भएकी अञ्जलीले अस्पतालमा उपचाररत् रहँदा भावनात्मक तथा मानसिक रुपमा आफू निको हुन गरेको उपचार विधिको प्रशंसा गरिन् । उनले सुरुवातमा आफू कोरोना लागेर आत्तिए पनि पछि क्रमशः निको हुँदै गएपछि आत्मबल बढ्दै गएको बताइन् । 

२०६९ सालमा पोखरा नयाँबजारमा संचालित चरक अस्पतालले गत वर्षको माघदेखि पोखराको नागढुंगामा सुविधासम्पन्न अस्पताल संचालनमा ल्याएको छ । अस्पतालमा सबै प्रकारका रोगको उपचार सुविधा रहेको अस्पतालका अध्यक्ष बद्री पौडेलले बताए । करिब १ अर्ब रुपैयाँ लागतमा स्थापित सो अस्पताल गण्डकी प्रदेशमै अस्पताल बिल्डिङमै हेलिप्याड भएको पहिलो अस्पताल हो । अस्पतालमा हाल ३५ जना डाक्टर कार्यरत छन् ।

यसबाहेक पूर्ण तथा आंशिक गरी २ सय जना कर्मचारी कार्यरत् रहेको अस्पतालका व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए । कोभिड–१९ को सन्त्रास कायम रहँदा कतिपय अस्पतालले अस्पताल गेटबाटै बिरामी फर्काउने गरेकोमा चरकले भने सुरुवातदेखि नै फिभर क्लीनिक संचालन गर्दै सबै प्रकारका रोगका बिरामीको उपचार दिँदैआएको छ । 

अस्पतालका मेट्रोन मीना थापाका अनुसार कोरोना संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स, क्लीनर लगायत समेत आइसोलेसनमै बसेर उपचारमा क्रियाशील हुने हुँदा अन्य रोगका बिरामी पनि ढुक्कका साथ उपचारका लागि आउन सक्नेछन् । 

अस्पतालमा हाल आईसीयू १७ वटा, भेन्टिलेटर ८ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ । डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानी उपचार सुविधा रहेको अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ । आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा छ । 

पोखरामा सरकारीस्तरमा कोरोना संक्रमितको उपचारका लागि हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्र र लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा मात्र उपचार हुँदैआएको छ । 
गण्डकीमा हालसम्म झण्डै २४ सय जना कोरोना संक्रमित भएका छन् । तीमध्ये १८ जनाको मृत्यु भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्