मृत्यु जितेर फर्केकी एक सांसदको अनुभव– ‘कोरोनालाई सामान्य ठान्ने मुर्खता नगरौं’

निरुदेवी पाल
निरुदेवी पाल

नेकपा नेतृ पाल प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सभापति हुन् ।

मृत्युलाई नजिकबाट पटक–पटक अनुभव गर्दै कोरोना रूपी बलवान शत्रुसँग पौंठेजोरी खेलेर जितेपछि मैले महसूस गरेका तीता अनुभव पाठकका लागि पनि उपयोगी होला भनेर शेयर गर्दैछु । यस्तो अनुभव अरू कसैले गर्नु नपरोस्, कोरोना कसैलाई पनि नलागोस्, मेरो कामना र प्रार्थना छ । 

असोज २७ गते बिहान ३ः ३० बजे हतारहतार उठेर ४ बजे कञ्चनपुर मेरो जन्मथलो जान हामी दुई, छोरा र मेरो गुरु भाइ (चालक) गरी ४ जना बिहान सबेरै निस्कियौँ । खुशी हुँदै आज बेलुका घर पुगिन्छ, भोलि सबैजना जम्मा भएर २८ गते ठूलो छोराको जन्मदिन मनाउने भनेर खुशी हुँदै कञ्चनपुरको यात्रामा लागियो, तर मन जति खुशी थियो, ज्यान त्यति स्वस्थ र बलियो थिएन । 


Advertisement

जिउ दुखेर आँखाबाट तपतप आँसु खसिराथ्यो । मलाई लाग्यो, काठमाडौंमा हुँदा कामको धपेडीले गर्दा यस्तो भएको होला । हुन पनि अघिल्लो दिनसम्म मलाई केही पनि भएको थिएन । छोराले के भयो भनेर सोध्दा ‘हैन, ठीक छ बेटा’ भनेर ढाडस दिँदै यात्रा गरिरह्यौं । 

त्यो दिनको यात्रा मेरा लागि निकै कष्टकर बन्दै गयो । दिन बित्दै गयो, यात्रा झन् कठीन हुँदै गयो बाटोमा चार/पाँचपटक त गाडी रोकेर लम्पसार परेर सुत्न पाए हुन्थ्यो झैँ लागेको थियो, तर यात्रा टाढाको थियो र हामी निरन्तर अगाडि बढि रह्यौं । करीव ४ बजेको थियो होला, छोरीले कैलालीको लम्कीमा नास्ता पुर्‍याएर गइन् ।


Advertisement

घोडाघोडी ताल छेउको जंगलमा गाडी रोकेर नास्ता खान झरेको हनहनी ज्वरो बढ्यो । ढाड र जिउ दुखेर सास फेर्न पनि गाह्रो भइरहेको महसूस भयो । जेनतेन हामी बासस्थान पुग्ने सुरमा हिँडिहाल्यौं ।

करीब ७ बजेको थियो, बुवालाई भेट्न गएको एक कप चिया खाएर खोक्दै बस्दा पनि नबसी घर पुग्यौं । घरमा सानो बच्चा थियो, मनमा डर लागिरहेको थियो कि कोरोना भइहाल्यो भने ! त्यसैले बच्चाको नजिक गइनँ । राति नै मान्छेहरू भेट्न आउन थाल्नुभयो, आफूलाई एकोहोरो खोकी, ज्वरो र जिउ दुखाइले खपिनसक्नु भएको थियो । तर पनि आएका मान्छेलाई भेटेर पठाएँ । 

राति सुत्न गएँ, त्यो बेला ज्वरो १०१ दशमलव ९ आइसकेको थियो । खोकी एकोहोरो लागिरहेको थियो । राति निम्स र दुखाई कम गर्न अरू औषधिको सहारा लिएर पल्टें, सुत्न सकिनँ । भोलिपल्ट बिहानैदेखि मान्छे आवतजावत हुन लाग्यो । फोन ननस्टप आउन थाले, तर मैले रेस्पोन्स गर्नै सकिनँ ।

बिहान ८ बजेतिर डा. दीपेन्द्र बुडाललाई फोन गरें र समस्या बताएँ । उहाँले एकपटक पीसीआर चेक गर्ने सल्लाह दिनुभयो । मेयरलाई पीसीआर लिन मान्छे पठाइदिनुस् भनें । यसोउसो गर्दा ढिलो हुनेजस्तो लागेपछि ११ बजेतिर सेती अस्पतालका अध्यक्ष एवं मेरो अनन्य मित्रलाई मेरो समस्या बताएँ । आजै चेक गरेर बेलुकासम्ममा रिपोर्ट दिने व्यवस्था मिलाइदिनुस् भनें ।

उहाँले १ घन्टाभित्र ल्याब सेन्टरमा पुग्नु भन्नुभयो र सोहीअनुसार म गएँ । स्वाब दिएर घर फर्कें । दिनभरि छटपटी भयो । श्वास फुलिरहेको थियो । खोकी बेस्सरी लागेको थियो । त्यसैमाथि रातिदेखि नै पखाला लागिरह्यो म छटपटिएको देखेर छोरी र घरपरिवारका सदस्यहरू आत्तिन थाले । घरी बेसार र गुर्जो पानी बनाएर दिन्छन्, घरी बाफ लिनुस् भनेर दिन्छन्, तर मलाई यति धेरै गारो भयो कि अहिले म शब्दमा बयान गर्नै सक्दिनँ ।

त्यत्तिकैमा साँझ पर्‍यो । त्यही दिन ठूलो छोरा लोकेशको जन्मदिन थियो । बेलुका जन्मदिन मनाउन आफ्ना साथीहरूलाई बोलाएको थियो । बाबु केक लिएर घर पुग्दा मेरो रिपोर्ट पोजेटिभ आयो भनेर खबर आयो । त्यतिखेर लाग्यो कि मेरो पैँतालामुनिको जमिन नै भासियो । 

मैले सुनेको थिएँ, निमोनिया भएको मान्छेलाई कोरोना भयो भने बचाउन गाह्रो हुन्छ । त्यसैले मलाई ठूलो चोट पर्‍यो, र लाग्यो अब म बाँच्दिन, तर पनि बडा मुस्किलले हिम्मत जुटाएर घरपरिवारलाई आफूलाई कोरोना भएको खबर सुनाएँ । दुईचार शब्द जुटाएर सामाजिक सञ्जालमा पोस्ट गरें । मेरो सम्पर्कमा आउनुभएका सबै सचेत हुनुस् भनेर पोष्ट गर्नेबित्तिकै शुभचिन्तकहरूको फोन, एसएमएसमा सान्त्वना र ढाडसका सन्देशहरू आउन थाले । यसले हिम्मत बढायो, तर शरीरले धानिरहेको थिएन ।

राति ९ बजेतिर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको फोन आयो । उहाँले भन्नुभयो– ‘नआत्तिनू, ठीक हुन्छ । केही पनि हुँदैन केयर गर्नू । तिमी निमोनियाको बिरामी, ज्वरो र अक्सिजन टाइमटाइमा हेर्नू र गाह्रो भए अस्पताल जानू,’ भन्नुभो । धेरै राहत भएको महसूस भयो । 

बुडाल डाक्टरले तुरुन्तै केही औषधि र अक्सिजन नाप्ने यन्त्र पठाइदिनुभयो । त्यतिखेर अक्सिजन ९३ र ज्वरो १ सय १ दशमलव ९ थियो । अक्सिजन त्यो रातभरि नै ९३ देखि माथि गएन । ज्वरो औषधि खाँदा केही कम हुने, तर १०० भन्दा तल झरेन । राति ९ बजेतिर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको फोन आयो । उहाँले भन्नुभयो– ‘नआत्तिनू, ठीक हुन्छ । केही पनि हुँदैन केयर गर्नू । तिमी निमोनियाको बिरामी, ज्वरो र अक्सिजन टाइमटाइमा हेर्नू र गाह्रो भए अस्पताल जानू,’ भन्नुभो । धेरै राहत भएको महसूस भयो । 

मेरो दुःखसुखको साथी भगवतीले पनि पटकपटक फोन गरेर केही पनि हुँदैन, ठीक हुन्छ भन्दै हौसला दिइरहिन् । त्यो रात त्यत्तिकै बित्यो । रातभरि ज्वरो, खोकी, पखाला र जिउ दुखाइले निन्द्रा फिटिक्कै लागेन । ओछ्यानमा पल्टन नसक्ने, सास फुलेर रातभरि दिवालमा अडेस लागेर बिताएँ । भोलिपल्ट बिहानैदेखि फेरि फोन आउन थाले । बोल्न निकै गाह्रो भैराखेको थियो । फोन आउनु पनि स्वाभाविक नै थियो । शुभचिन्तकहरूले चासो र चिन्ता व्यक्त गरिरहनुभएको थियो । 

भोलिपल्ट झन् धेरै गाह्रो हुन थाल्यो अक्सिजन लेबल घटेर ८७ पुग्यो । ज्वरो १०१ दशमलव ९ बाट घट्दैन । पखाला रोकिँदैन । घरका परिवार सबै आत्तिसके । त्यतिखेरै स्वास्थ्यमन्त्री भानुभक्त दाइले फोन गर्नुभयो, घरमा किन बसेको हस्पिटल गइहाल्नुस् भन्नुभयो । मेरो दाइ राजेन्द्रबहादुर सिंह आफू पनि केही दिन पहिले मात्रै कोरोना जितेर फर्किनु भएको थियो र आफ्नो अनुभवका आधारमा पनि पटक–पटक सल्लाह दिइरहनुभएको थियो । ललितपुर स्टार अस्पतालको डाक्टरलाई फोन गर्न लगाउनुभयो ।

केहीबेरमा जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले एसएमएस गर्नुभयो, ‘म तपाईंसँग कुरा गर्न चाहन्छु भनेर फोन नम्बर सहित पठाउनुभयो । कोरोनाको बेला डाक्टर रवीन्द्रको नाम नसुन्ने त शायदै कोही होला । संयोगले बिहान मात्रै, घर जाँदा उहाँको कोरोनासम्बन्धी नै इन्टरभ्यु सुन्दै गएको याद आयो । 

मैले हत्त न पत्त फोन गरें, उहाँको फोन उठेन । एसएमएस पठाएँ, म निरु भनेर । अनि कल गर्नुभयो । उहाँले मेरो आवाज सुन्नेबित्तिकै तपाईं अस्पताल गएर एक्सरे गराइहाल्नुस्, तपाईंलाई चेस्ट इन्फेक्सन भएजस्तो छ, भन्नुभयो । 
तुरुन्तै एम्बुलेन्स बोलाएर महाकाली प्रादेशिक अस्पतालमा गएँ ।  त्यहाँ पुग्दा अक्सिजन लेभल ८३ थियो ज्वरो पनि थियो र तुरुन्तै आईसीयूमा भर्ना गरियो । मेडिसिन, स्लाइन र अक्सिजन शुरू गरियो । छातिको एक्सरे गर्दा छातिमा निमोनियाले च्यापिसकेको रहेछ, सबै डाक्टर तथा नर्सहरू मेरो अवस्था देखेर आत्तिनुभयो । तर मलाई हौसला दिँदै केही पनि चिन्ता नगर्नुस्, ठीक हुन्छ भन्दै ढाडस दिन थाल्नुभयो । 

प्रधानमन्त्रीज्यूको फोन मैले उठाउन नसकेपछि डाक्टरले मेरो अवस्थाबारे जानकारी गराइरहँदा म आत्तिएँ । तर सहनुको विकल्प थिएन । फेरि हिम्मत जुटाएर मन बलियो बनाएँ । रातभरि डाक्टर र नर्स नानीहरूले गरेको सेवाले मलाई ऊर्जा मिलिरहेको थियो । म मेरो जीवनभर भुल्ने छैन, डाक्टर सुभेन्दुराज कायस्थ जो आफू काठमाडौं हुनुहुन्थ्यो तर मिनेट–मिनेटमा मेरो स्वास्थ्यबारे जानकारी लिइरहनुभएको थियो । मेरो एक्सरे रिपोर्ट काठमाडौंमा मेरो डाक्टर र अरू डाक्टरहरूलाई पठाएपछि तुरुन्तै काठमाडौं ल्याउनुपर्‍यो, छातिमा इन्फेक्सन भैसकेको छ भनेर ताकेता गर्न लागे ।

मलाई सोही अस्पतालमा बसेर त्यहीँबाट निको भएर सन्देश दिन मन थियो, तर त्यो मेरो भावनाले काम गरेन र रातभरि म सास फेर्न गाह्रो हुँदा र एकोहोरो खोकी लाग्दा छट्पटाइ रहें ।

भोलिपल्ट त्यहाँका डाक्टरहरूले सल्लाह गरेर काठमाडौं पठाउनुपर्छ, यहाँ औषधि पनि छैन र चाहिने उपकरण पनि छैन भनेर भन्नुभयो । काठमाडौं पठाउने निधो गरिसकेपछि हाम्रो पार्टीका प्रदेश अध्यक्ष दाइ कर्ण थापाले फोन गर्नुभयो, मैले रिसिभ गर्न सकिनँ । पार्टी अध्यक्ष वीरबहादुर थापालाई पठाउनुभयो र काठमाडौं जानुपर्‍यो, साधन आइपुग्दैछ, भन्नुभयो । मैले म यही अस्पतालमा ठीक हुन्छु, जान्नँ भनें । तर अवस्था गम्भीर छ, तपाईं जानुपर्छ भनेर मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरि श्रेष्ठले भनेपछि मलाई काठमाडौं ल्याइयो र टिचिङको आईसीयूमा भर्ना गरियो । रेमडिसिभिर र अरू कडा खालका औषधिहरू चलाइयो । 

आईसीयूमा अरू ६ जनाको पनि म सँगसँगै राखेर उपचार गरिँदैथियो । त्यहाँभित्र आफ्नो ज्यानको परवाह नगरी रातदिन खटिरहेका डाक्टर, नर्स, सरसफाइकर्मीहरू देखेर लाग्थ्यो, उहाँहरू भगवानको रूपमा आएर हामीलाई बचाइरहनुभएको छ । आईसीयूमा राखिएका बिरामीको छटपटाहट देखेर आँखाबाट आँसु झथ्र्यो । कोरोनाले यतिसम्म दुःख दिन्छ भन्ने कुरा मैले कल्पना पनि गरेको थिइनँ । मलाई आफ्नो ज्यानको चिन्ता त छँदै थियो त्यो भन्दा कयौं गुणा बढी चिन्ता थियो मेरा शुभचिन्तक र शुभेच्छुकहरूको जो रातदिन मेरा लागि जीवनको भिख मागिरहनुभएको थियो । मलाई जति दुःख भएपनि म बाहिर सितिमिति देखाउँदिन थिएँ ।

म टिचिङमा भर्ना भैसकेपछि हात काँप्दाकाँप्दै झन्डै एकघण्टा लगाएर लेखेँ, ‘मेरा  शुभचिन्तकहरूले चिन्ता नगर्नुहोला, म छिट्टै काममा फर्किनेछु ।' त्यति लेख्दा पनि ठूलो काम गरेको जस्तो भयो । त्यतिञ्जेलसम्म पनि म बाँच्नेछु, फेरि काम गर्न सक्नेछु भन्ने मलाई आशा थिएन । तर जसरी पनि कोरोनालाई जितेरै छाड्छु भन्नेचाहिँ मनमा अठोट लिएँ । त्यसपछि रेमडिसिभिर र अरू औषधिहरू चलाएँ । प्लाज्मा थेरापी गर्न ब्लड खोज्नुस् भन्नुभो र खोजियो पनि । तर २ दिन लगातारको रेमडिसिभिर र औषधिहरूले गर्दा प्लाज्मा गर्नुनपर्ने भयो भनेर डाक्टरले भन्दा ठूलो युद्ध जितेको जस्तो लाग्यो ।

अब चाहिँ बाँचिने भयो भनेर आत्मबल निकै बढ्यो र ४ दिनको आईसीयू र भेन्टिलेटरको बसाइपछि बिस्तारै रोगले छाड्दै गएको आभास हुन थाल्यो । अब त बाँचियो भन्ने लाग्न थाल्यो । पाँचौं दिन आईसीयूबाट नर्मल आइसोलेसन वार्डमा सारियो र ३ दिन त्यहाँ निकै गाह्रो भयो । खोकी रोकिँदै नरोकिने, श्वास फुलेकोफुल्यै हुने, रातभरि सुत्न नसकिने, भमिटिङ हुने भयो । आईसीयूबाट निस्केको ४ दिनसम्म गाह्रो भयो र बिस्तारै ठीक हुन थाल्यो । १३ दिनको दिन बेलुकापख रिपोर्ट पनि नेगेटिभ आयो । डिस्चार्ज भएर घर आएँ । घरको मेरो रूममा जान एकतला चड्नुपर्ने भर्‍याङ उक्लिनै सकिनँ । बाँच्न त बाँचियो तर शरीर तोडेर छोडिदियो कोरोना बैरीले । कोरोना मेरो दुस्मनलाई पनि नलागोस् । 

टिचिङमा भर्ना भैसकेपछि हात काँप्दाकाँप्दै झन्डै एकघण्टा लगाएर लेखेँ, ‘मेरा  शुभचिन्तकहरूले चिन्ता नगर्नुहोला, म छिट्टै काममा फर्किनेछु ।' त्यति लेख्दा पनि ठूलो काम गरेको जस्तो भयो । त्यतिञ्जेलसम्म पनि म बाँच्नेछु, फेरि काम गर्न सक्नेछु भन्ने मलाई आशा थिएन । तर जसरी पनि कोरोनालाई जितेरै छाड्छु भन्नेचाहिँ मनमा अठोट लिएँ ।

कोरोनासँग लडेर मैले त अर्को जुनी पाएँ, मेरा शुभचिन्तकहरूलाई कोटीकोटी नमन छ । आफ्नो स्वास्थ्यप्रति सजग भएर हिँडौं, एकपटक पाएको जुनीलाई सही सदुपयोग गरौं र कोरोना केही पनि होइन, सामान्य हो भन्ने कुरा सोच्दै नसोचौं । त्यसमा अझ मजस्ता निमोनिया र फोक्सोका बिरामीलाई कोरोना भयो भने बचाउन निकै मुस्किल हुँदोरहेछ । यो समयमा मैले दैनिक धेरैपटक डा. रवीन्द्र पाण्डेलाई आफ्नो अवस्था बताउँथें । उहाँले सधै सकारात्मक सोच र आत्मबल बढाउने खालको सल्लाह दिइरहनुभयो । मेरो अनुभवमा कोरोनाको बिरामीलाई जति सक्यो त्यति धेरै माया सद्भाव नै ठूलो औषधि रहेछ । 

शायद मेरा लाखौं शुभचिन्तकहरूको माया, सद्भाव, प्रार्थना र आईसीयू, भेन्टिलेटर तथा रेमडिसिभिर नपाएको भए शायद मलाई पनि बचाउन सक्नुहुन्थ्यो वा हुँदैनथ्यो । आज १९ दिन भयो अहिले पनि उठ्न जिउ काँप्छ । लेख्न खोज्यो हात काँप्छ । सास फुल्छ । शरीर शिथिल र गलेको छ । मनले त अब काममा निस्किनुपर्छ भन्ने लाग्छ, तर ज्यानले थेगिराको छैन । धेरै गलाउँदो रहेछ, थला नै पार्दाेरहेछ । शायद म निमोनियाको रोगी भएर पनि होला । 

जे होस् जति दुःख भएपनि बाँचियो त्यसैले कोरोनारूपी राक्षसलाई कसैले पनि सामान्य न ठान्नुहोला । आफ्नो स्वास्थप्रति सजग हुनुहोला । सामाजिक दूरी कायम गर्दै सरकारले भनेका नियमहरू पालना गरौं । सावधानी अपनाउँदा आपनाउँदै पनि कोरोना लागिहाल्यो भने नआत्तिएर मन बलियो बनाएर डाक्टरको सल्लाहअनुसार उपचार गरौं । म जस्ता निमोनियाका दीर्घरोगीले त कोरोना जिते भने अरूले पनि सहजै जित्नुहुनेछ । तर हौसला चाहिँ राख्नुपर्दोरहेछ भन्ने मेरो अनुभव रह्यो । 

अन्त्यमा मैले जति धन्यवादका शब्दहरू दिए पनि कम हुनेछ, शायद सम्माननीय प्रधानमन्त्रीज्यू नभएको भए म बाँच्दिनँ थिएँ होला । मेरो जन्मदाताले त जन्म दिनुभयो तर मेरो कर्मदाताले मलाई पटक–पटक जीवनदान दिनुभएको छ, मलाई बचाउनुभएको छ । म  मेरो जीवनभर ‘केपी बा’प्रति ऋणी रहनेछु ।

मैले जीवनभर उहाँको यो ऋण तिर्न सक्ने छैन । आदरणीय नेता कमरेड माधव नेपाल, सिंगो पार्टी पंक्ति, नेपाल सरकार, संघीय संसद सचिवालय, मेरो समिति परिवार, स्वास्थ मन्त्री भानुभक्त ढकाल दाइ, भूमि मन्त्री पद्मा अर्याल दिदी, बिन्दा पाण्डे दिदी, कर्ण थापा दाइ, त्यसैगरी मेरो हरेक सुख-दुःखको साथी भगवती, मेरो दाइ, हस्पिटलको केसी भाइ, डाक्टरहरू सन्त दास, निरज बम, शुभेन्दुराज कायस्थ, डाक्टर रविन्द्र पाण्डे, डा. हरि श्रेष्ठ, डा. बुडाल, डा. शक्ति बस्नेत भाइ, डा. विकास भाइ र नर्स बहिनीहरू, सरसफाइकर्मी मित्रहरू र मैले लिनैपर्ने लाखौं नामहरू मेरो आफन्त, घरपरिवार, इष्टमित्र, शुभचिन्तक, शुभेच्छुकहरूप्रति हार्दिक आभार र नमन गर्न चाहन्छु ।

निरुदेवी पाल
निरुदेवी पाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्