मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
मंसिर ६, २०७७
भुवन केसीलाई देख्नेबित्तिकै धेरैको नजर पुग्ने भनेको अग्लो कद, हँसिलो मुहार र आकर्षक ज्यानमा हो । खाइलाग्दो आकर्षक ज्यानसँगै भुवनको अभिनयको लोभ गर्नेको जमात राम्रै छ चलचित्र बजारमा ।
उनका पनि अनेक चिन्ता छन् तर चिन्तालाई खासै सोचेर बस्दैनन् । बेला मौकामा दारु खान्छन् । देश–विदेश घुम्न निस्कन्छन् । नियमितजसो चुरोट तान्छन् । तर अचम्मै छ, जतिसुकै तनावका वाबजुद पनि उनको मुहार सधै चम्किलो देखिन्छ । यसको राज के हो ?
भुवनका लागि धेरैको प्रश्न हुन सक्छ यो । यो प्रश्न बोकेर भुवनसँग पुग्दा उनी एकछिन मौन बसे । कफीको एक चुस्की लगाए । एक सर्को चुरोट ताने । त्यसपछि लामो हाँसो फुत्काए । अनि बोले भुवन – यति मात्रै होइन, मैले ज्यान बनाउन कहिल्यै जिम गरेको छैन । खानपानमा कुनै कुराको रोकतोक गरेको छैन । जे मन लाग्छ खाइदिन्छु । चिन्ता बोकेर दिनरात हिँड्ने मेरो स्वभाव छैन ।
आफू असाध्यै स्वस्थ शरीरका साथ काम गरिरहेकोमा भुवन खुशी छन् । थप्छन्, ‘कहिलेकाहीँ रुघाखोकी लाग्नु स्वाभाविकै हो तर एकदमै अस्वस्थ भएको खासै याद गरेको छैन ।’ भुवनले आफू सधै सकारात्मक सोच लिएर हिँड्ने गरेका कारण सफल रहेको प्रतिक्रिया दिए । सकारात्मक सोचका कारण जीवनमा छुट्टै किसिमको ऊर्जा प्राप्त हुने उनको भनाई छ ।
... ...
सन् १९८० को दशकदेखि २००० सम्म भुवनले चलचित्र उद्योगमा राज गरे । धेरैलाई थाहा नहुन सक्छ, भुवन चलचित्र क्षेत्रमा काम गरिरहेका बेला अहिले महानायकको उपाधि पाएका राजेश हमाल झुल्किएका हुन् । भुवनले दर्जनौं ‘हिट’ चलचित्र दिएका छन् । उनका चलचित्रबाट धेरै निर्माताले ‘करिअर’ बनाएका छन् । उनीसँग ‘साइड रोल’मा काम गर्ने धेरैले राम्रै कलाकार बनेर चलचित्र क्षेत्रमा राज गरे । उनका चलचित्रबाट धेरै प्राविधिक, टेक्निसियन जन्मिए । उनी भन्छन्, ‘मैले जतिधेरै चलचित्रमा काम गर्छु, त्यतिका धेरैका लागि राम्रै हुन्थ्यो भने किन नगर्नु ?’
कुनै बेला भुवन विनाको चलचित्रको पर्दा निकै खल्लो लाग्थ्यो दर्शकका लागि । अहिले उनी अभिनयभन्दा पनि चलचित्र निर्माणमा सक्रिय छन् । आजभोलि ख्यातीप्राप्त भुवनको बिडो छोरा अनमोलले थामेका छन् । अनमोल अभिनित चलचित्र ड्रिम्स, कृ, ए मेरो हजुर ३, क्याप्टेन, गाजलु, जेरी, होस्टेल लगायतका चलचित्र निकै हिट भए । अहिले उनी ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त छन् । छोटो समयमै भुवनले छोरा स्टार भएको देख्न पाए, गदगद् छन् ।
अनमोलका लागि ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझाउन तयार छन् नेपालका निर्माता । भुवनलाई यो देख्दा कस्तो लाग्छ ? चुरोटको सर्कोसँगै थपे, ‘एउटा बुवाको लागि आफ्ना छोराको सफलताभन्दा ठूलो के लाग्न सक्छ र ? म पनि असाध्यै खुशी छु । छोरो स्टार भयो, मलाई अरु के चाहियो योभन्दा ?’
भुवनको निर्देशनमा छिट्टै ‘एन्टी भाइरस’ निर्माण हुँदैछ । भुवन र माधव वाग्ले मिलेर चलचित्र ‘पारस’ निर्माण गर्दैछन् । यसअघि भुवनले केही चलचित्र निर्माण गरिसकेका छन् । यत्तिका धेरै चलचित्रमा काम गरे, अभिनयमा दमदार क्षमता छ, चर्चा अहिले पनि राम्रै छ । उनले एकाएक अभिनय छाडेर किन चलचित्र निर्माणमा हात हाले ? कालो चस्मा टाउकोबाट झारेर भुवनले भने, ‘समय अनुसार चल्न सक्नुपर्छ । मैले अभिनय छाडेको होइन, केही समय रोकेको मात्रै हो । चलचित्र क्षेत्रकै अर्को आयाममा रमाएको छु । कुनै राम्रो स्क्रिप्ट भेटे त अभिनय पनि गर्ने हो ।’ भुवनले चलचित्र अभिनयमा यत्तिका वर्ष काम गरेको अनुभवलाई निर्देशनबाट फेरि दर्शकलाई सुम्पन खोजेको सुनाए ।
... ...
एक जमाना थियो, नेपालमा चलचित्र बनाउनु छ भने प्राविधिक टीम मुम्बईबाट ल्याउनुपर्थ्यो । गीत रेकर्डिङ पनि उतै गर्नुपर्थ्यो । चलचित्रको सम्पूर्ण ‘पोस्ट प्रोडक्सन’को लागि मुम्बई दौडिनुपर्थ्यो । कलर, मिक्सिङका लागि पनि मुम्बई पुग्नुपर्थ्यो । स–साना कामका लागि मुम्बई र नेपाल गरेर चलचित्र बनाउँथे नेपालमा फिल्म बनाउनेहरू । भुवनले नेपाली चलचित्रले अभाव महसूस गरिरहेका बेला चलचित्र क्षेत्रमा पाइला चाले ।
समय सन् १९८४ ताकाको थियो । उनको चलचित्र ‘जुनी’बाट चलचित्र उद्योगमा डेब्यु गरे । त्यो चलचित्रको डबिङका लागि मुम्बई पुगेका बेला भुवनले संगीतकार रञ्जित गजमेरलाई भेटे । संयोगको त्यो भेटघाट भुवनको जीवन परिवर्तन गर्ने ‘टर्निङ प्वाइन्ट’ मिल्यो ।
संगीतकार गजमेरसँग भुवनको एउटा पुरानो साइनो जोडिरहेको रहेछ । संगीतकार गजमेरले न्यू युनिभर्स बोर्डिङ स्कूलमा भुवनलाई संगीत पढाएका थिए । यो प्रसंगले मुम्बईमा उनीहरूको गफ गर्न राम्रो बहाना मिल्यो । पहिलो भेटमै भुवनलाई गजमेरले आफ्ना केही साथीभाइले चलचित्र बनाउन लागेको कुरा सुनाए । उनले काम गर्ने हो भने गर भनेर सहयोग गरिदिने वचन दिए । भुवन मख्ख भए । त्यसपछि उनलाई शम्भु प्रधान र तुलसी घिमिरेसँग भेटाइदिए गजमेरले ।
त्यतिबेला शम्भु र तुलसी चलचित्रको कामले नै मुम्बई पुगेका थिए । भुवनलाई देखेपछि उनीहरू खुशी भए । जिउडाल र तुरुन्तै प्रभावित पार्न सक्ने अभिनेता केसीको खुबी देखेर तुरुन्तै चलचित्रमा लिने निर्णय भयो ।
केही दिनमा शम्भु र तुलसीसँगै भुवन पनि नेपाल फर्किए । आउनेवित्तिकै तुलसी घिमिरेले ‘कुसुमे रुमाल’ बनाउने घोषणा गरे । भुवन मुख्य हिरो हुने निर्णय मुम्बईमा भइसकेको थियो । त्यसपछि नेपालबाट भुवनसहित केही कलाकार बोकेर तुलसी दार्जिलिङ पुगे । मुुम्बईबाट २ दर्जन कलाकारको जम्बो टोली त्यहाँ आइपुग्यो । त्यसपछि चलचित्रको छायांकन धमाधम थालियो । विनोद प्रधान थिए क्यामेरा म्यान, जसले त्यसपछि भारतीय चलचित्रमा उधुम मच्चाए । दार्जिलिङ, कालिम्पोङ लगायतका स्थानमा खिचिएर यो चलचित्र डेढ महिनामा सकियो । चलचत्रिको सम्पादनको काम मुम्बईमा भयो । चलचित्र प्रदर्शन भयो । तर अचम्मै भो । यो चलचित्रले त्यसबेलासम्मका सम्पूर्ण रेकर्ड तोडेर सर्वाधिक हिट चलचित्र बन्न पुग्यो ।
भुवन भन्छन्, ‘धेरैलाई थाहा नहुन सक्छ, त्यो चलचित्रमा मैले पारिश्रमिक पाएको थिइनँ । तर त्यसले मलाई कुनै गुनासो छैन । हिट चलचित्रको रूपमा चिनिएँ त्यो प्रोजेक्टबाट ।’
चलचित्रले जय नेपाल हलमा सिल्भर जुब्ली मनायो । यति मात्रै होइन, जय नेपालमा लगातार ६ महिना प्रदर्शन भयो । भुवन भन्छन्, ‘सायद त्यो चलचित्रको सफलतापछि नै हो नेपालमा निर्माताको भीड लागेको । भुवन त्यो चलचित्रको प्रदर्शनपछि रातारात चम्किए । ‘नम्बर वान हिरो’ बने । ‘फ्यान फलोइङ’ लोभलाग्दो भयो । पोस्टर बिक्री हुने जमानामा भुवनको खाइलाग्दो पोस्टर शुभकामना स्वरूप युवायुवतीले पोस्टर पठाउन थाले ।
त्यतिबेलासम्म शाही नेपाली चलचित्र संस्थानले ५ वर्षको अन्तरमा चलचित्र निर्माण गर्थ्यो । त्यसपछि यो चलचित्र बनेको थियो, हिट भयो । राम्रो पैसा कमायो । त्यो बेलाको कुरा सुनाउँदै भुवन थप्छन्, ‘नेपाली चलचित्र उद्योगको इतिहासमा पहिलोपटक मेरो त्यो चलचत्रिले रजत जयन्ती मनायो । त्यसकै जगमा हामी आज यो स्थानमा आउने सौभाग्य पाएका हौं ।’
... ...
भुवन आफूलाई अभिनेता भन्न रुचाउँछन् । महानायक र सुपरस्टारको कुरामा उनलाई चित्तै बुझेको छैन । भुवनको गुनासो छ – महानायक को हो ? म कि राजेश हमाल ?
प्रश्न थप्दै फेरि भुवनले भने, ‘तपाईं आफैं खोजेर प्रश्न गर्नुस् मेरो चलचित्र हिट छ वा राजेशजीको ? त्यसपछि तपाईं आफैं को हो महानायक भन्न सक्नुहुन्छ । यस विषयमा मेरो केही भन्नु छैन ।’ राजेशभन्दा आफू नै पहिला चलचित्र उद्योगमा लागेका कारण आफूलाई महानायक भनिनुपर्ने भुवनको संकेत थियो, जुन कुरा भुवनले प्रस्ट भन्न सकेनन् । तर आफूलाई सुपर स्टार र राजेशलाई महानायक भनिरहेका बेला यी दुवैको अर्थ एउटै भएकाले को महानायक र को सुपर स्टार भनी उनले फेरि अर्को प्रश्न गरे ।
... ...
अभिनेता भुवन केसी र स्क्यान्डल एकअर्काका पर्यायी हुन् । जहाँँ भुवन त्यहाँ स्क्यान्डल । कहिले लेनदेन, कहिले महिलासँग जोडिएका विभिन्न विषयले भुवन बेला मौकामा विवादमा घेरिन्छन् । आफूले नचाहँदा–नचाहँदै स्क्यान्डल हुने गरेको भुुवन बताउँछन् ।
‘कसैलाई नराम्रो त गरेको छैन तर कहिलेकाहिँ यस्ता कुरा उठ्छन् पछि सेलाएर हराउँछन्,’ भुवन भन्छन्, ‘कहिलेकाहीँ कसैसँग डिस्कस हुनु स्वाभाविकै हो । यसलाई लिएर गम्भीर हुनुपर्ने खासै ठूलो कारण मैले देख्दिनँ ।’ पछिल्लो समय साम्राज्ञीको विषयमा भुवनले आफ्नो कुनै पनि गल्ती नभएको र साम्राज्ञीले फसाउन खोजेकाले प्रहरीको सहारा लिन खोजेको बताए । साम्राज्ञीकै विषयमा भुवनले भने, ‘हामी धेरैजसो झनक्क रिसाइहाल्ने स्वभावका छौं । कहिल्यै बुझेर र सत्यतथ्य पत्ता नलगाइकन आरोप–प्रत्यारोपमा उत्रने हाम्रो जुन स्वभाव छ, अलिकति कमजोरी यहाँनेर छ ।’ तर साम्राज्ञीसँग मिल्ने कुनै चलचित्र मिल्यो भने उनलाई काम गराउन भने आफू पछि नहट्ने भुवनको भनाई छ ।
... ...
भुवन आफ्नो आत्मकथा बजारमा ल्याउने तयारीमा छन् । त्यो आत्मकथामा आफूले धेरै कुरा बोल्ने उनको योजना छ । ‘तपाईंलाई थाहा छ सायद, मैले कहिल्यै चाहेर स्क्यान्डल गरेको छैन । तर कसैले गरेको गाली र आरोपलाई भने सहेर बस्ने मेरो स्वभाव हैन,’ भुवनले एक गिलास चिसो पानी एकैचोटीमा पिएपछि भने, ‘यस्तो किन र कसरी हुन्छ भन्ने कुरा मेरो आत्मकथाभित्र पढ्न पाउनुहुनेछ ।’
भुवनको आत्मकथा कहिले बजारमा आउँछ भन्ने अहिलेसम्म यकिन भएको छैन । तर आत्मकथा भने तयार भइसकेको भुवनको भनाई छ । ‘घोस्ट राइटिङ नेपाल’ले तयार पारेको आत्मकथामा भुवनले धेरै कुरा बोलेको सुनाए । यो आत्मकथा बाल्यकालदेखि यो अवस्थासम्मको चलचित्र यात्रा, व्यक्तिगत जीवन लगायतका विभिन्न विषयमा केन्द्रित रहेको भुवनको भनाई छ । आत्मकथामा आफूले यथार्थ घटना बोलेको र कुनै पनि काल्पनिक नरहेको भुवनले सुनाए । यो पुस्तक चलचित्र क्षेत्रमा आउने नयाँपिढीका लागि मार्गदर्शन पनि हुने उनको भनाई छ । यो आत्मकथा लेख्न ‘घोस्ट राइटिङ’ नेपालका प्रमुख कमल ढकालले साढे २ वर्ष लगाएका थिए । यद्यपि आत्मकथा तयार भएको लामो समय पुगिसक्दा पनि बजारमा आउन सकेको छैन । भुवन भन्छन्, ‘खै किन हो, अब छिट्टै सार्वजनिक होला भन्ने मैले आशा राखेको छु ।’
... ...
झण्डै ६ वर्षदेखि ‘लिभिङ टुगेदर’ पार्टनर बनेकी छन् जिया केसी । भुवनसँग जिया लिभिङ टुगेदरमा रहेको लोकान्तरले त्यसबेला गसिपको रूपमा समाचार सम्प्रेषण गरेको थियो । भुवनले जियालाई पत्नीको स्थान राखिसकेको समाचार लोकान्तरले राखेपछि अन्य मिडियाले सोधखोज गर्न थालेका थिए । आजभोलि भने भुवनले जियासँग बिहे नै गरेको बताइन्छ । भुवनले यसबारेमा खासै बोल्न चाहेनन् । उनले भने, ‘अब यो विषयमा कति बोलिराख्नु ? सबैले जे थाहा पाएका छन्, जे अनुमान गरेका छन् त्यसमा केही सत्यता पक्कै छ होला ।’ भुवनले जियाको कोखबाट सन्तान जन्माउने विषयमा कत्तिको सोचेका छन् ? भुवनले जवाफ दिँदै भने, ‘अब नाति खेलाउने हो ।’
भुवनका छोरा अनमोल केसी अहिले चलचित्र उद्योगमा असाध्यै व्यस्त छन् । बिहेबारे सोच समेत नआएको उनी बताउँछन् । यस विषयमा भुवन भन्छन्, ‘उसले जुन दिन समय आयो भन्छ अनि बिहे गरिदिने हो ।’ अनमोललाई आफ्नो कब्जामा राखेको र आफ्नो स्टायलमा काम गर्न नदिएको आरोप पनि भुवनलाई लाग्ने गर्छ । तर यसमा कुनै सत्यता नरहेको भुवनले बताए । उनले भने, ‘घरमा बुवासँग आफ्नो करिअरलाई लिएर सरसल्लाह गर्ने कुरा जोसुकै घरमा पनि हुन्छ । तर मैले आफ्नै तरिकाले अनमोललाई चलाएको छैन ।’
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...