
चिसिएको छ, उपत्यका । ललितपुर कुपण्डोलनजिकै एक क्याफेमा छन्, अहिलेका चर्चित गायक प्रमोद खरेल । टेबलमा छ मनतातो पानी, र ब्ल्याक टी । डम्म न्याना कपडा लगाएका छन् । पछाडिपट्टि एउटा गीत बजिरहेछ, नाच मेरी रानी रानी, मेरी रानी नाच... ।
यो अहिले चलेको असाध्यै चर्चित हिन्दी गीत हो, जसलाई गुरु रान्धवाले गाएका हुन् । मनतातो पानी एकैचोटीमा पिएपछि प्रमोदले भने, ‘अहो ! जहाँ पनि यै गीत, कस्तो चलेको ?’
नेपालमा हिन्दी गीत, चलचित्र, भेषभुषा र भाषाले कब्जा जमाइरहेछ । नेपाली होटल तथा रेस्टुराँका मेन्युमा भारतीय परिकार धेरै छन् । नेपाली बजारमा भारतीय उत्पादनले ओगटेको छ । नेपालीहरूका चुल्होमा पुग्ने तरकारीदेखि प्याज, टमाटर र मरमसलासमेत भारतीय छन् ।
चियाको एक चुस्की लगाएर अघिल्तिर फर्किएको कर्ली कपाल मिलाउँदै प्रमोदले कुरा शुरू गरे, ‘हामीले पनि चाहेको के हो भने, हाम्रो भाषा, संस्कृति, भेषभुषा, खानपानलाई विश्वसामु पुर्याउने हो भने नेपाली गीतसंगीत, चलचित्र र नेपाली समाज प्रस्ट देखिनेगरी तयार पारिएका भिडियोले यसैगरी बाहिरी मुलुकका दर्शक तथा स्रोतालाई देखाउन सक्ने हो भने त्यो सम्भव छ ।’
प्रमोदलाई भारतीय गीत, चलचित्रले कब्जा जमाएकोमा चिन्ता लागेको छैन । कलाकारिताको कुनै सीमा र परिधि हुँदैन । नेपाली गीत संगीतलाई विश्वसामु पुर्याउन नसकेकोमा पो चिन्ता छ ।
उनी थप्छन्, ‘यसका लागि एउटा गायक, एउटा व्यक्तिले चाहेर मात्रै हुने कुरा होइन, यो सरकारी निकायबाटै लाग्नुपर्छ ।’
*****
बिहानै उठ्छन् । मनतातो पनी पिउँछन् । आफ्नै बलबुताले ठड्याएको तीनतले घरको एक कक्षमा उनको साधनाको थलो छ, मुख पुछ्दै छिर्छन् । एकैछिन रियाज गर्छन् । प्रमोदले परिवारसँग भन्दा धेरै समय बिताउने भनेको संगीतसँग हो । थप्छन्, ‘बिहान उठेपछि साँझसम्म संगीतकै काममा व्यस्त हुन्छु । लकडाउन नभएका बेला त महिनौंसम्म संगीतसँग संसार डुलेर बित्थ्यो, अहिले केही फुर्सदिलो भएको छु ।’
हालसम्म २ हजारभन्दा धेरै गीतमा स्वर दिइसकेका प्रमोदले सयौं स्टेज शोमा आफ्नो प्रस्तुति दिइसकेका छन् । संसारका ५० भन्दा धेरै देश पुगिसकेका छन् । दैनिकजसो गीत रेकर्ड गराएर राम्रै आम्दानी गर्ने प्रमोद आजभोलि अलिकति कम गीत गाउन थालेका छन् । भन्छन्, ‘हप्तामा २ देखि ३ वटासम्म गीत गाउन थालेको छु । यसले मलाई थप सिर्जनशील बनाउँछ भन्ने लागेको छ ।’
छिमेकी मुलुक चाइनादेखि कोरोनाभाइरस फैलियो । नेपालमा पनि यसले नराम्रोसँग असर पार्यो । त्यसपछि सरकारले लकडाउन घोषणा गर्यो । आमनागरिकले जस्तै प्रमोदले पनि चैतपछिका ६ महिनाका देश तथा विदेशमा हुने साङ्गीतिक कार्यक्रम रद्द गरिदिए ।
बहराइन, कुवेत, साइप्रस, अमेरिका, लन्डन, अस्ट्रेलिया लगायत नेपालका १ दर्जन कार्यक्रमका स्थानमा उनको कार्यक्रम आयोजना घोषणा भइसकेको थियो । लण्डनमा एकमहिना र अमेरिकामा २ महिना लगातार कार्यक्रम हुनेवाला थियो, उनी भन्छन्, ‘कोरोनाले त खत्तम गरिदियो । सोच्ने हो भने दिमागले काम गर्दैन ।’
‘अहिले भर्खरै कुनै कार्यक्रम हुनेवाला छैन । वैशाखमा विदेशमा एउटा कार्यक्रम हुने कुरा छ,’ उनी थप्छन्, ‘त्यो पनि फिक्स छैन । हेरौं के हुन्छ ।’
प्रमोदलाई मनोरञ्जन उद्योग पुरानै लयमा फर्किन अझै केही समय पक्का लाग्छ भन्ने लागेको छ । उनले थपे, ‘मनोरञ्जन भन्ने कुरा व्यक्तिको मुख्य प्राथमिकतामा पर्ने कुरा होइन । मान्छेको खानेबस्ने ठेगान अझै बनेको छैन । कोरोनाको औषधि अझै नबनेकाले गर्दा सांगीतिक कार्यक्रमहरू पनि केही समय नहुने पक्का जस्तै छ ।’
कोरोनाको औषधि नआउँदासम्म वैज्ञानिक रूपमा तयार भएर जीवनयापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
लकडाउन खुलेपछि प्रमोद धमाधम गीत रेकर्डिङमा व्यस्त छन् । उनका गीत समेटिएका म्युजिक भिडियो पनि निर्माण भइरहेका छन् । प्रमोद नेपालका सर्वाधिक हिटमध्येका गायक हुन् । सबैभन्दा धेरै स्टेज चढ्ने गायक हुन्, सबैभन्दा धेरै युट्युबमा आउने गीतका गायक पनि हुन्, सबैभन्दा धेरै स्रोता तथा दर्शकले गुनगुनाउने गीतका गायक पनि हुन्, सबैभन्दा धेरै आम्दानी गर्ने नेपालका अग्रपंक्तिका गायक हुन्, भन्दा फरक नपर्ला ।
भविष्यमा प्रमोद गीतसंगीत बजारमा नअटाउने स्थिति आयो भने के होला ? प्रमोद थप्छन्, ‘त्यस्तो स्थितिका लागि म पूर्ण रूपमा तयार छु । जहिलेसम्म गीतसंगीत क्षेत्रमा रहन्छु राम्रो गरौं भन्ने मेरो सोच छ ।’
*****
लकडाउनले उनलाई प्रयाप्त समय दियो । त्यो समय प्रमोदले साथीभाइहरूसँग भेटघाट गरेर समय कटाएनन्, परिवारलाई समय दिए । जिन्दगीमा पहिलोपटक श्रीमती र सन्तानसँग धित मरुन्जेल गफ गरेर उनको लकडाउन कट्यो । बिहेपछि पहिलोपटक श्रीमतीसँग यति लामो समय कटाएँ, उनी भन्छन्, ‘मसँगै मेरो परिवार असाध्यै खुशी भयो । अब कोरोना महामारी सकिएपछि पनि मैले केही क्वालिटी समय परिवारलाई दिने योजना बनाएको छु ।’
परिवारसँग बसेर धेरै लामो समयपछि दुःख–सुखका कुरा गरेको प्रमोदले सम्झिए । प्रमोद लकडाउनका बेलामा श्रीमतीसँग किचनमा धेरै समय कटाए । आफूले बनाउन नसकेका खानेकुरा बनाए । श्रीमतीलाई विभिन्न परिकारका खानेकुरा बनाउनमा सघाए । गफ नभएका धेरै साथीभाइहरूसँग फोन र म्यासेन्जरमा गफ गरे । बिर्सिएकालाई सम्झिए । सम्झिएकासँग थप सम्बन्ध बलियो बनाउने अवसर पाए । उनी थप्छन्, ‘लकडाउन सबै कुरामा खत्तम होइन, केही कुरामा त राम्रो पनि भयो । परिवारमा थप आत्मीयता बढाउने समय पाएँ, त्यसका लागि खुशी छु ।’
*****
अथाह अवार्ड र प्रमाणपत्र छन्, प्रमोदसँग । त्यो भन्दा धेरै शुभचिन्तक छन् । लाखौं फ्यान कमाएका छन् । उनका गीत नसुन्ने शायदै कोही होलान् । यहाँ सबै उनको ठूलो संघर्ष र साधनाको कथा जोडिएको छ । थुप्रै संघर्ष, सफलताका कैयौं कथा छन्, प्रमोदसँग ।
प्रमोद भन्छन्, ‘धेरैलाई थाहा नभएको कुरा के हो भने, मैले असाध्यै ठूलो त्याग र तपस्या तथा मेहनतले मात्रै यो उचाइ पाएको हुँ । जुन कुरा बताउँदा म अरू धेरै भावुक हुन पुग्छु ।’ तर, प्रमोद सकेसम्म मनभित्रका पीडा शेयर गर्ने पक्षमा छैनन् । उनका अनुसार पीडा लुकाएर हल गर्ने तर खुसी शेयर गर्ने हो । सोही कारण आफूलाई सबैले खुशी देख्ने गरेको सुनाउँछन् । भन्छन्, ‘म पनि मान्छे हो, म सँग पनि मन छ । मेरो मन पनि दुख्छ ।’
सानो छँदा घरमा गीत गाउँथे । फिल्महरू रिलिज हुँदा उनी कहिल्यै हल जान छुटाउँदैनथे । चलचित्र हेर्दै गर्दा उनले सधैँ गीत नोटिस गर्थे । गाउँघरमा साथीभाइहरू जम्मा पारेर स्टेज कार्यक्रम गर्थे । पछि अध्ययनको शिलशिलामा उनले आफ्नो गाउँ छाड्नपर्ने भयो ।
उनले थपे, ‘काठमाडौं आएँ । त्रिचन्द्र क्याम्पस भर्ना हुन बुवासँग पैसा मागेको, त्यो मैसा डोरेमी संगीत पाठशालामा बुझाइदिएँ । मेडिकल साइन्स पढ्न आएको छोरो, सारेगम अलाप्न थालें ।’
प्रमोदले औपचारिक रूपमा गीत गाउन थालेकै काठमाडौं आएपछि हो । त्यसअघि कहिल्यै स्कूल र गाउँघरमा हुने कार्यक्रममा गीत गाएनन् ।
जहाँ उनी हुर्किए, त्यो झापाको सबैभन्दा पिछडिएको ठाउँ हो । पुरानो कर्णाली जस्तै । ‘त्यस्तो ठाउँबाट काठमाडौं आएर रेडियो नेपाल कसरी भेटाउनु ? धेरै परको कुरा थियो,’ उनी थप्छन्, ‘त्यस्तो परिवेश र पृष्ठभूमिमा हुर्केको मैले ‘गायक हुन्छु’ भनेर सोच्नु मात्र पनि अचम्मको कुरा हुन्थ्यो ।’
अर्को कुरा प्रमोद सानैदेखि अध्ययनमा धेरै ट्यालेन्ट थिए । पढाइमा लगाव भएका थोरै विद्यार्थीमध्ये उनी थिए । सोही कारण उनीमाथि बुवाआमा र परिवारका अरू सदस्यको अपेक्षा पनि के थियो भने पढेर ठूलो मान्छे होस्, डाक्टर होस्, नत्र पाइलट होस् । प्रमोदलाई पनि के लाग्थ्यो भने पढ्न जान्ने मान्छे डाक्टर, इञ्जिनीयर अथवा पाइलट हुनुपर्छ ।
सोही कारण प्रमोदले प्लस टुसम्म गायन क्षेत्रमा लागेर भविष्य बन्छ भन्ने सोचेनन् ।
*****
प्रमोद खरेल, गायनमा होइन अभिनयमा भविष्य बनाउने सोच राखेका थिए । प्रमोदलाई स्टेज चढ्नभन्दा, गीत गाएर चम्किनुभन्दा अभिनयमा रुचि थियो । उनले अभिनय गरेर सुपरस्टार हुने सोच राखेका थिए, तर कहिल्यै गायक हुन्छु भन्ने सोचेनन् । ‘रहर एकातिर, क्षमता एकातिर हुन्छ कहिलेकाहीँ, शायद मेरो जीवनमा पनि त्यस्तै भयो कि ?’ प्रमोद भन्छन् ।
सानो छँदा उनले महोदय बालकलाकार बन्न पाऊँ भन्दै झापाबाट चलचित्र विकास बोर्डलाई पत्र लेखेको उनी अझै सम्झन्छन् । उनले हुलाकबाट पठाएको त्यो चिट्ठी काठमाडौं आयो या आएन थाहा भएन । तर, उनले तत्कालीन बोर्ड अध्यक्ष यादव खरेलको नाममा सम्बोधन गरेर टिकट टाँस गरी हुलाकको डिब्बामा खसाइदिए ।
उनी महिनौं जवाफ कुरेर बसे । कुनैबेला बालकलाकारको रूपमा प्रस्ताव आउँछ कि भन्दै चिट्ठी कुरेर बसे । तर, उनलाई कहिल्यै पत्रको जवाफ आएन । तर, उनलाई आशा मरेको थिएन । पक्कै रिप्लाई आउँछ भन्ने मनमा झिनो आशा थियो ।
एकदिन एकजना हुलाकी दाइले उनलाई चिट्ठी आएको बताए । उनी अचम्म मान्दै दौडिएर त्यो पत्र समाते । तर, पत्र प्रमोदले लेखेकै पत्र फिर्ता भएको रहेछ ।
हुलाकबाट पठाएको चिट्ठीको ठेगाना नमिलेकाले फर्किएछ । उनी केही समय निकै भावुक बने । तर पनि अभिनयप्रति रुचि थियो । गाउँमा उनले साथीभाइहरू जम्मा पारेर एउटा दमदार नाटक समेत गरे, जसले उनको अभिनयमा पनि क्षमता छ भन्ने देखायो ।
*****
प्रमोदले गीतमा स्वर दिइरहेका थिए । फ्यान फलोइङ बढिरहेको थियो । तर, उनले एक समय एउटा यस्तो गीत पाए, जसले प्रमोदको हाइट थप बढायो । उनले तेस्रो एल्बम रेकर्ड गराउनुअघि पोखरा जाने कुरा भयो । चलचित्रसम्बन्धी एउटा महोत्सवका लागि । केही साथीभाइसँग पोखरा पुगे ।
महेश खड्काले एउटा शब्द कम्पोज गरेका रहेछन् । कसलाई गीत दिने होला भन्दै बसिरहेका रहेछन् । त्यो कुरा फुत्कियो । त्यो गीत रेकर्ड गर्ने योजना रहेपनि थन्किएर बसेको रहेछ । महेशले गाउन दिने संकेत दिए । केही समयपछि प्रमोदले नै त्यो गीतमा स्वर भरे ।
त्यसपछि उक्त गीतले हंगामा मच्चायो । प्रमोद भन्छन्, ‘उक्त गीत मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो । उक्त गीत हिट भएपछि प्रमोदलाई रेकर्डिङ, कन्सर्ट लगायतमा निकै व्यस्त बनायो । कतिसम्म भने उक्त गीत बजारमा आएको १० वर्षपछि अहिले पनि कुनै स्टेज चढ्दा प्रमोदलाई एउटा गीतको अफर आएकै हुन्छ, ‘म विना कसैकसैलाई मुस्किल छ पोखरामा...’
...
प्रमोद खरेलले जीवनमा धेरै किसिमका हण्डर खाएका छन् । धेरैपटक त्रासदीपूर्ण समय गुजारेका छन् । हालै उनले जीवनमा कहिल्यै नबिर्सिने समयबाट पार पाएका छन् । कोरोना महामारीको बेला थियो, प्रमोद दोस्रो सन्तानका बुवा बन्दै थिए । अस्पतालमा लक्ष्मीको रूपमा छोरीको जन्म भयो ।
उनकी श्रीमती दीपाले २९ जेठमा छोरीलाई जन्म दिइन् । तर, के भयो भने छोरी जन्मिएकै दिनदेखि ६ दिनसम्म छोरीलाई भेन्टिलेटरको मद्दतले सास फेराउनुपर्ने भयो । यसले प्रमोद र श्रीमती दीपालाई निकै पीडा भयो । डाक्टरले तपाईंको छोरी पूर्ण रूपमा भेन्टिलेटरको सहायताले बाँचिरहेकी छिन्, आशा गरौं ठीक होस् ।
यसो भन्दा प्रमोदको धड्कन ठक्क फुल्थ्यो । डाक्टरमा निर्भर हुनेभन्दा उनीसँग अर्को कुनै किसिमको विकल्प थिएन । तर, बिस्तारै उनकी छोरीले ‘रिकभर’ गरिन् । एक हप्तापछि उनको फोक्सो र मुटुको प्रेसर सन्तुलनमा आयो । त्यसपछि मात्रै पहिलोपटक आमाले छोरीको अनुहार देखिन् । भक्कानिइन्, छोरीलाई दुध चुसाइन् ।
केही हप्ता अस्पताल बसाइपछि फेरि नवजात शिशुलाई ज्वरोले च्याप्यो । डाक्टरले यस्तो अवस्थामा आएको ज्वरोको संकेत राम्रो होइन भनेपछि प्रमोद र दीपा निकै डराए । बल्लतल्ल भेन्टिलेटरबाट झिकेको फेरि ज्वरो ? फेरि हड्डीबाट पानी झिक्नुपर्ने ? डाक्टरका अनुसार यो बेला आएको ज्वरो म्यानेञ्जाइटिसको शंका हो ।
नभन्दै २४ घण्टापछि रिपोर्ट आयो, म्यानेञ्जाइटिसकै समस्या रहेछ । त्यसपछि नियमित रूपमा अस्पताल बस्नुपर्ने र अब निरन्तर २१ दिनसम्म औषधि चलाउनुपर्ने डाक्टरले बताए । तर, शुल्क तिर्नेगरी अस्पतालको सहमतिमा २ नर्सको व्यवस्था भएपछि बच्चीको घरबाटै उपचार शुरू भयो ।
तर, घर आएको केही दिनपछि आमालाई सास फेर्न गाह्रो भयो । पुनः अस्पताल लगे प्रमोदले । घरमा बच्ची नर्सलाई जिम्मा लगाएर नियमित १९ दिनसम्म प्रमोदकी श्रीमती दीपाको मनमोहन कार्डियो अस्पतालमा उपचार भयो । सास फेर्न गाह्रो हुने र मुटुको चाल घटबढ हुने समस्या निको हुन २ हप्ताभन्दा धेरै लाग्यो ।
१९ औं दिनमा आमा र छोरीको पुनर्मिलन भयो । त्यो त्रासदीपूर्ण जीवन कटाएको ६ महिनापछि प्रमोद गफिए, जिन्दगीमा सबैभन्दा ठूलो त्रास त परिवारमा कसैलाई केही भयो भने पो हुँदोरहेछ । यस्तो घटना त कसैलाई नपरोस् ।
...
अन्त्यमा, प्रमोदले अब आफ्नो स्टेज कार्यक्रमलाई अलिकति व्यवस्थित तरिकाले अगाडि बढाउने योजना गराएका छन् । ‘सधैँ म्युजिकमा उफ्रिएर कसरी हुन्छ ?’ उनी भन्छन्, ‘अब २ वर्षभित्रै मैले पूर्ण रूपमा स्टेज छाड्ने योजना बनाएको छु । अब मेरै जम्बो टीम, जसले लाइभ बाजा बजाओस्, जहाँ मज्जाले गीत गाउन पाइयोस् । यो किसिमको कार्यक्रम २ देखि ३ घण्टाको हुनेछ ।’
वर्षमा थोरै कार्यक्रम तर भव्य कार्यक्रममा मात्रै उपस्थित हुने गरेर प्रमोदले टीम तयार पारिरहेको खुलासा गरे ।
उनले थपे, ‘अहिले तुरुन्तै स्टेज छाड्न मिल्दैन । तर, अब स्टेजमा आधा घण्टा गीत गाएर फर्किने तरिका परिवर्तन गर्न मन छ । यसका लागि मैले केही विशेष तयारी गरिरहेको छु ।’