विद्यार्थी र शिक्षक कोरोनाजस्तै लक्षणले एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

प्रतिकात्मक तस्वीर

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ ।

करीब १ हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।


Advertisement

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए । विद्यालयमा ६ देखि ९ कक्षासम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् ।

१ हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधवार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । २४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताए । 


Advertisement

केही दिनअघि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई लक्षण सरेकाले ४ दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताए ।

कमेन्ट गर्नुहोस्