बालुवाटारमा ओली र वामदेवबीच ‘डिनर मिटिङ’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र नेता वामदेव गौतमबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र गौतमबीच डिनरसहितको भेटवार्ता भएको हो । भेटमा पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ ।

आजै ओलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग वार्ता गरेपनि कुनै सहमति भएको थिएन । यही बीचमा ओलीले गौतमसँग पनि छलफल गरेका हुन् ।
तत्काल नेकपा विभाजनअघि देखि नै पार्टी एकताका लागि पहल गरिरहेका गौतम पछिल्लो समय फागुन २८ मा ओलीले १३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गरिदिनुका साथै केही नेताहरुको जिम्मेवारी समेत हेरफेर गरिदिएपछि ओलीसँग चिढिँदै आएका छन् । यही बीचमा ओली र गौतमबीच छलफल भएको हो ।


Advertisement

सो भेटमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराईले वार्ता छलफल सकारात्मक भएको बताए । भट्टराईका अनुसार  सो क्रममा गौतमले केपी ओली देशको प्रधानमन्त्री हुनुका साथै एमालेको अध्यक्षसमेत भएको तर उनीसँगको आफ्नो सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको भएको बताएका थिए । यस्तै आफ्नो र ओलीबीचको सम्बन्ध अटुट रहिरहने पनि गौतमले बताएको भट्टराईको भनाइ छ । उनले पार्टीभित्रको विवाद मिलाउन गौतमले भूमिका खेल्नुका साथै ओलीलाई साथ दिने समेत विश्वास व्यक्त गरेका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्